बाह्रखरी
भर्खरै
sticky  ncell
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बेथितिले जन्माएको पागलका पक्षमा बालकृष्ण बस्नेत
बाह्रखरी - आइतबार, साउन २, २०७३
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement
।।।मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने ।
एक सुनसान औँसीले मलाई निसास भएर,
म प्रलय– वेदनाले उफ्रेँ
मूर्खहरुले त्यसबेला मलाई ठिँगुरा हालेर राखे ।
म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुकहरूले राँची पठाइदिए।।।।।
यस्ता कुरा भए साल साल
पागल छु साथी 
यस्तै छ मेरो हाल ।
–लक्ष्मीप्रसाद देवकोटा 
 
राणा कालमा महाकविले ‘पागल’ कहलिएर उपचार गराउनु परेको थियो ।  आधा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामार्फत गरेको व्यंग्य वर्णन आज गणतन्त्रात्मक नेपालमा पनि शासकको दम्भका कारण दोहोरिन पुगेको छ । दुवै परिवेश उत्तिकै मेल खान्छ । 
देवकोटाले ‘पागल’ कविता लेखेपछिका धेरै दशकमा धेरै शासक र शासन परिवर्तन भए । प्रजातन्त्र, पञ्चायत, फेरि प्रजातन्त्र हुँदै देश गणतन्त्रमा प्रवेश गर्दा ठूला ऐतिहासिक परिवर्तन भए । तर, शासकले नागरिकप्रति गर्ने व्यवहारमा तात्त्विक परिवर्तन भएन । 
शक्ति र सत्ताको दम्भले उन्मत्त शासकका लागि विद्रोहीलाई ‘पागल’ बनाउनु पनि एउटा अस्त्र भएको छ । विधि र न्यायका पक्षमा शान्तिपूर्ण नागरिक आवाजले तिलमिलाएकाहरूले बेथितिविरुद्ध बोल्नेलाई बहुला देख्छन् । तर, समयले यदाकदा त्यस्ता इमानदार पागल जन्माइरहन्छ र त्यस्तै पात्रको निष्ठाको लडाइँले समयको धार बदलिदिन्छ ।
इतिहासको क्रमभंगता कठिन विषय हो । बेथितिको दम्भ डकार्नेका नजरमा तिनका विरुद्ध आवाज उठाउने कि ‘पागल’ हुन् कि अराष्ट्रिय तत्त्व । यो अभ्यास जहाँनिया शासनदेखि जनताको भनिएको शासनसम्म पनि कायमै छ । गरिबमाथि धनीको, अशिक्षितमाथि शिक्षितको, साझोमाथि बाठाको लाठो हिजोदेखि आजसम्म बज्रिएकै छ । 
यसैबीच, फरक समय, सन्दर्भ र विषयमा समयले फेरि एक जना ‘पागल’ जन्माएको छ । चिकित्सा शिक्षामा भएको बेथितिविरुद्ध एक सेता वस्त्रधारी नै सत्याग्रहमा उत्रिएका छन् । डा. गोविन्द केसी यतिबेला आठौँ आमरण अनशनमा छन् । उनको आठौँ अनशन अाइतबार अाठाैं दिनमा प्रवेश गरेकाे छ । 
मेडिकल शिक्षाका नाममा भएको लुटतन्त्रको अन्त्यलगायत स्वास्थ्य क्षेत्रमा विविध सुधारका माग राखी पटकपटक अनशन बस्दै आएका डा. केसीले यो पटक नयाँ माग पनि अघि सारेका छन् ( अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग र उनको बर्खास्ती ) । प्रमुख आयुक्त कार्कीले आफ्नो अख्तियारीभन्दा बाहिर गएर स्वास्थ्य क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न थालेपछि केसी यस्तो माग थप्न बाध्य भएका हुन् । 
केसीको पछिल्लो मागबाट विचलित भएर उनको अनशनपूर्व नै अख्तियारले विज्ञप्तिमार्फत उनलाई मानसिक रोगी (पागल) को आक्षेप लगायो । तर, आफ्नो निष्ठाको लडाइमा सत्तीसाल झैँ उभिँदै आएका केसीको सत्याग्रह कसैको प्रशंसा वा आलोचनाले हल्लिने स्तरको थिएन र हैन रहेछ ।   
गोपालप्रसाद रिमालले जसरी ‘आमा तिनीहरूले जेसुकै भनुन म बहुला हैन ।।।।’ भनेर स्पष्टीकरण दिइरहने समय उनीसँग छैन । यसर्थ अब  सबै विवेकशील नेपालीको अग्निपरीक्षाको घडी आएको छ । एक सत्याग्रहीसँग ऐक्यबद्धता जनाएर बेथितिविरुद्ध ‘पागल’ बन्न तयार हुने कि सज्जन बनेर भ्रष्टहरूको मलामी जाने ? यतिबेला समय सत्य र झुटो, न्याय र अन्याय अनि विधि र बेथितिबीचको कठिन मोडमा आएर अडिएको छ । 
एउटै विषयमा आठ पटकसम्म अनशन बस्ने केसी पागल हुन् वा उनलाई अनशन बस्न बाध्य पार्ने सरकार, शासक र राजनीतिज्ञ गैरजिम्मेवार ?  यसको छिनोफानो इतिहासले गर्ने नै छ । 
तर, लडाइँ केसी र कार्की वा अस्पताल र अख्तियारको हैन । लडाइँ न्याय र अन्यायबीचको हो । सदाचारी र भ्रष्टचारीको हो । सत्य र असत्यको हो । अनि माफिया प्रपञ्चबाट स्वास्थ्य क्षेत्र बचाउन हो । 
केसीको सत्याग्रह पात्र हैन प्रवृत्तिविरुद्ध लक्षित हो । व्यक्ति हैन विधिलाई स्थापित गराउन हो । आफ्ना लागि हैन, देश र जनताका लागि हो । भावी पुस्तालाई स्वास्थ्यमा सहज पहुँच र चिकित्सा शास्त्र शिक्षामा गरिबका सन्तानलाई पनि अवसर दिन हो । अनि,  काठमाडौंभन्दा पर पनि देश छ र त्यहाँ पनि शिक्षा, स्वास्थ्य आवश्यक छ भनेर शासकलाई सिकाउन हो । 
कुनै गैरसरकारी संस्थाको प्रायोजनमा दुई पत्ता सिटामोलका गोटी बाँडेको सेल्फी फेसबुकमा हाल्न हतार हुनेलाई मासिक तलबबाट बचाएको पैसाले किनेको औषधिको बोरा काँधमा बोकेर विकट बस्तीमा पुग्ने डा. केसी ‘पागल’नै लाग्दाहुन् । हिजो ज्ञानेन्द्र शाहको आदेशमा मन्त्री हुनेका नजरमा डा.केसी सन्की हुन् । बीसौं वर्ष डाक्टरजस्तो पेसामा रहेर पनि एउटा नीजी आवास नहुने केसी फकिर हुन् । राजधानीमा बसेर पनि निजी क्लिनिक नधाउने केसी ‘पागल’ त हुन् । 
कहिले दरबारको आदेशमा, कहिले दक्षिणको निर्देशमा शक्तिमा रहने हैसियतका अगाडि एउटा फिरन्ते डाक्टरको चुनौती दुस्साहस हो । तर, सत्य र निष्ठाको तागत कसैको निगाहमा बक्स भएको पदभन्दा सम्मानित र शक्तिशाली हुन्छ । ‘म दाइजस्तो चुप लागेर बस्दिन।।’ भन्ने ज्ञानेन्द्र शाहको वर्तमान हैसियतबाट लोकमानहरूले पनि सिक्नु जरुरी हुन्छ । ‘म नै राज्य हुँ’ भन्ने तत्कालीन फ्रान्सेली शासक लुई चौधौँ काटिएर मर्नुपरेको इतिहास पनि पुरानो भएको छैन । तसर्थ सत्यभन्दा पर कुनै शक्ति छैन । 
नियुक्तिको समयमा जस्तै यतिबेला पनि लोकमानको संसद्देखि सञ्चारमाध्यमसम्ममा पकड देखिएको छ । थुप्रै लोकमानहरू पत्रकार, प्रशासक र चिकित्सकका भेषमा क्रियाशील रहेका छन् । हिजो सञ्चारमाध्यमको डेस्कमा सेन्सरका नाममा शाही सेनाको बुट बजार्न लगाउनेमध्येका एकजना लोकमान जसलाई रायमाझी आयोगले समेत दोषी ठहर गरेको छ, उनकै पक्षमा ब्यानर न्युज बनाउने नेपाली पत्रकारिता शक्तिको अगाडि कतिसम्म लम्पसार पर्न सक्छ भन्ने नजिर यसअघि नै लोकमान नियुक्ति प्रकरणमा स्थापित भइसकेको छ । र, त्यो नजिर यो पटक डा. केसीको अनशनमा पनि दोहोरिन थालेको छ ।
डा. केसीको सातौँ चरणसम्मको अनशनलाई सत्याग्रह देख्नेहरू पनि आठौँ अनशनमा लोकमानको नाम जोडिएपछि बेमौसमी बाजा देख्न थालेका छन् । सामाजिक सञ्जालमा नाम कहलिएका ट्विटेहरू कि त मौन छन् नभए तटस्थ छन् । मेडिकल माफिया निकटका पार्टी, दर्शन र विचारका अनुयायीलाई केसीको अनशनले टिचिङ्गको सेवा ठप्प हुने भो भन्ने पिरलो छ । समाज साँच्चै ध्रुवीकृत भएको छ । न्याय र अन्यायबीचको फैसला निकट भविष्यमा हुनेछ । 
एक जना बूढो डाक्टर मुखमा मास्क लगाएर अस्पतालको एउटा कुनामा सुत्दा कसरी त्यहाँको सेवा ठप्प हुने हो रु उनको सत्याग्रहमा ऐक्यबद्धता जनाएर सेवा बन्द गर्नेले उनी मानसरोवर मै गएर अनशन बसे पनि टिचिङ्गको वा अन्य अस्पतालको सेवा बन्द गराउन सक्छन् । गोविन्द केसीले अस्पताल परिसरमा टायर बालेका छैनन् । ढुंगामुढा गरे गराएका छैनन् । अनि कसरी उनको कारणले सेवामा अवरोध हुने रु केसीकै अनशनले सेवा बिथोलिन्थ्यो भने गएको साताभर पनि अस्पताल बन्द हुनुपर्ने नि !
काठमाडौँमा महल भएका लोकमानले शक्तिको प्रहसन गर्दै अख्तियारको आँगनबाट ब्याण्ड बाजा बजाएर छोरी अन्माउन हुने अनि आफ्नो सारा जीवन त्यही अस्पताल भनेर बिताएका एक जना फकिर डाक्टरले अस्पताल परिसरमा मौन अनशन बस्न चार हात जमिन पनि नपाउने किन ? अनशनबाट गल्दै गएका केसीको उपचारका लागि अस्पतालले जिल्ला प्रशासनलाई पत्र लेख्नुपर्ने, स्लाइन पानीसमेत उपलब्ध नगराउने यो कस्तो न्याय हो ?
त्यसो त भीम मल्लजस्ता देशभक्त सेरिएर मर्नुपर्ने यो मुलुकमा आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसशमा बसेका नन्दप्रसाद अधिकारीलाई राज्यले पागल भन्दै मानसिक अस्पताल पठाएको र अनशनकै अवस्थामा ज्यान लिएको यथार्थ ताजै छ । लोकतन्त्र र जनताको सरकार भनिएको शासनमा ३ सय दिनभन्दा बढी न्याय मागेर  भोकै बसेर मृत्युवरण गर्दा श्रद्धाञ्जलीका दुई शब्दसमेत दिन आवश्यक नठान्ने लोकतन्त्रका मसिहालाई लोकमानलाई महाअभियोग लगाउने विषय त्यति सहज छैन । न त एउटा सत्याग्रही डाक्टर बेथितिविरुद्ध आठौं पटकसम्म आमरण अनशन बसेको विषय नै तिनका लागि महत्वको छ । सत्ता, शक्ति र सम्पत्तिको अगाडि डाक्टरको सत्याग्रह अधिकांश राजनीतिकर्मीका लागि गौण विषय हो । हतियार र हिंसाको पृष्ठभूमिबाट आएका नेतालाई भोकै बसेर गरिने निष्ठाको लडाइँ कायरता लाग्न सक्छ ।
केसीलाई भेटेर ऐक्यबद्धता जनाउने केही नेताका लागि पनि त्यो भेट प्रचारको स्टन्टबाहेक केही हैन । इमानदार ऐक्यबद्धता हो भने फेसबुकमा फोटा हालेर गोहीको आसु चुहाए झैँ गर्नुको साटो आफ्नो पार्टीमा प्रष्टसँग राख्न सक्नुपर्छ । असली अर्थमा देशमा बेथितिका बादशाह तिनै राजनीतिकर्मी न हुन् । 
अख्तियारप्रमुख कार्की उनका अनुचरबाहेक अरू सबैका लागि अहिले हाउगुजी भएका छन् । आफू इतरका जो कोहीलाई उनी मुद्दा लगाउने, जागिर खोस्ने र थुनाउने हैसियत राख्छन् र सोही गर्दै पनि आएका छन् । यही कारणले पनि डा। केसीको यसपटकको अनशनमा विगतको जस्तो जनसमर्थन जुट्न सकेको छैन । 
हो ! डा. केसी कार्यरत शिक्षण अस्पतालभित्र बेथिति प्रशस्त छन् । सेवाको गुणस्तर र डाक्टर कर्मचारीको आचरणमा व्यापक सुधार त्यहाँभित्रै आवश्यक छ । र, डा. केसीको सत्याग्रह यस्तै सुधारका लागि आवश्यक पहिलो पाइलो हो । यसपछि गर्नुपर्ने सुधार त कति छन् कति । यसर्थ हरेक विवेकशील नेपाली डा. केसीको अनशन र मागका समर्थक भएका छन्, हुनुपर्छ । किनभने टाउकाले पुच्छर हल्लाउने हो, पुच्छरले टाउको हैन । डा. केसी नदीको किनार हैन मुहान सफा गर्ने अभियानमा छन् । मुहान सफा नगरी नदी सफा हुँदैन । शिक्षणको समस्या देखाएर केसीको मागलाई गलत भन्नेहरू तारा देखाएर चन्द्रमा लुटने हुन् । 
अन्त्यमा, पागल डाक्टरको पक्षमा ऐक्यबद्धतासहित श्रवण मुकाङ्गबाट साभार यी पंक्तिहरू
 
मालिक।।।
मेरो हात भाँचियो 
अब म हजुरका भारदारहरूलाई 
लबेदा सिउन सक्तिन 
नर्सिङ्गा फुक्न र सनाई बजाउन 
अथवा कुनै मङ्गलगान 
वा मृत्युगीत गाउन सक्तिन 
मेरो खुट्टा भाँचियो 
अब म हजुरको राज्यको पहरा गर्न सक्तिन 
मेरो दिमागै ठीकमा छैन 
अब म ठिक्कले बोल्न सक्तिन 
मालिक ! म बौलाएँ । 
 
Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, साउन २, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्