
बुटवल । बुटवल उपमहानगरपालिकाले पहिरो जोखिम क्षेत्रमा रहेका घरहरुको बिमा गर्ने भएको छ । उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बिमा गर्ने निर्णय गरेको हो ।
बुटवलको मिलनपथ, ज्योतिनगर र पाखापानी क्षेत्रमा रहेका घरहरुको तथ्याङ्क संकलन गरेर बिमा गर्ने योजना बनाएको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी दिए ।
सम्बन्धित वडा कार्यालय र टोल विकास संस्थाहरुको रोहबरमा जोखिम क्षेत्रका घरहरुको पहिचान, छानबिन र तथ्याङ्क संकलन हुने बताउँदै उनले पहिरो प्रभावित क्षेत्रमा अहिले ग्याबिन लगाउने काम भइरहेको बताए ।
उनका अनुसार विपद् व्यवस्थापन समितिको बैठकले मिलनपथको लागि ५० लाख, ज्योतिनगरको लागि ३५ लाख, पाखापानीको लागि सात लाख रुपैयाँ बजेट छुट्टाएर तत्काल बाँध निर्माण र खोल्सी सरसफाइको काम सुरु गर्ने निर्णय गरिएको छ ।
प्रभावित क्षेत्रको लागि प्रयाप्त बजेट नभए पनि केन्द्र र प्रदेशको वन मन्त्रालयबाट समन्वय गरी खोल्सी सरसफाइसँगै विपद् व्यवस्थापनको काम सुरु गरिएको उनले बताए ।
यस्तै, तिनाउ नदी जोखिम क्षेत्रमा जनताको तटबन्धन कार्यक्रमबाट तटबन्धनको कामलाई तीव्रता दिने निर्णय विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ ।