site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालीलाई शरणार्थी बनाई अमेरिका पठाउने खेल : मन्त्रालयका पदाधिकारीकै मिलेमतोको आशंका
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका–२३ घर भई ललितपुरकै महालक्ष्मी नगरपालिका–४, सीतापाखामा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भई ललितपुर–२३, धापाखेलमा बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र सोही ठाउँमा बस्दै आएका पाँचथरको फिदिम नगरपालिका–७ का ४५ वर्षीय टंककुमार गुरुङ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार (हिजो) उनीहरूलाई निणन्त्रणमा लिएको हो । उनीहरूलाई धापाखेल क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

अनुसन्धानका क्रममा भुटानी शरणार्थीको नाम दर्ता गर्नेसम्बन्धी फाराम भर्न लगाई प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ असुल गरेको देखिएको प्रहरीले जनाएको छ । भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी ८१ जनाबाट ठूलो रकम ठगी गरेको किटानी जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरूले ०७७ यता त्यसरी १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरूसँग ‘सेटिङ’ भइरहेको भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए । उनीहरूले भुटानी शरणार्थीको नाम दर्ता गर्नेसम्बन्धी फाराम समेत भराएका थिए । त्यसरी फाराम भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको प्रहरीले जनाएको छ ।

लामो समयसम्म अमेरिका जाने नदेखिएपछि ठगी भएको थाहा पाई रकम फिर्ता माग्दा पीडकले ज्यान मार्नेसम्मको धम्की दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटक–पटक बोलाइएको थियो । काम नभएमा पैसा फिर्ता गरिदिने आश्वासन पनि दिइएको थियो । त्यसको ‘ग्यारेन्टी’का रूपमा रीत नपुगेका र पर्याप्त रकम नभएका आठ करोड रुपैयाँबराबरका चेकहरू ठगी गर्ने व्यक्तिले जाहेरवालालाई दिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठगी भएको रकम संकलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गरिएको थियो । पीडितले ६५ लाख रुपैयाँभन्दा बढी रकम विभिन्न व्यक्तिको खातामा ‘डिपोजिट’ गरेको भेटिएको छ । पीडितमध्ये १० भन्दा बढीको नाममा सरकारी लोगो प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्ट समेत बनाइएको पाइएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा मन्त्रालयका तत्कालीन पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका सदस्यको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro