site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपति पौडेलका चुनौती

तनहुँको एउटा गाउँमा सामान्य किसान परिवारका रामचन्द्र पौडेलका लागि गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनभन्दा पनि कठिन र चुनौतीपूर्ण देखिएको छ पदको गरिमा स्थापित गर्न । पूर्वराष्ट्रपतिहरूले मानक खडा गरेका भए यस्तो कठिनाइ हुने थिएन । उनीहरूभन्दा अलग बनून् भन्ने जनचाहना पूरा गर्न उति कठिन नभए पनि बाटो र मानक आफैँले तय गर्न सजिलो हुँदैन ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो कार्यक्रमबाटै ‘परिवर्तन’को आभास हुने जनअपेक्षा थियो । उनले सार्वजनिकरूपमै भनेका पनि थिए । विडम्वना, उही तामझाम दोहोरियो । जनताले उस्तै सास्ती पाएको गुनासो गरे ।

‘गृह मन्त्रालयले स्वीकृत गरेको कार्यविधि ‘ लाई सबैले दोष दिने गरेका छन् । कार्यविधि संशोधन गर्न सरकारलाई खासै कठिन त नहुनुपर्ने हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, सुरक्षा निकायका हाकिमहरू संशोधनका लागि सजिलै तयार हुँदैनन् । पहिलो त राष्ट्रपतिको तामझाम घटाएपछि आफ्नो पनि घट्ने डर उनीहरूलाई हुन्छ ।

दोस्रो, कदाचित कुनै अप्रिय घटना भए न सरकारी अधिकारीहरू न जनसाधारण र सञ्चारकर्मीहरूनै यथार्थ बुझ्नतिर लाग्छन् । स्थलगत सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई सजिलै दोषी ठहर गरिन्छ । यसैले जनतालाई सास्ती भए होस् वा विशिष्ठ व्यक्ति र व्यवस्थाकै बदनामी भए पनि होस् आफूलाई अप्ठेरो नपरोस् भन्ने चाहन्छन् ।

Global Ime bank

शक्ति राजनीतिबाट परहेज 

सामान्यतः राजनीति गर्नेहरू आआफ्नो हैसियतअनुसार शासकीय शक्तिको प्रयोग गर्न पनि चाहन्छन् । राज्यका पदहरूको भागबन्डा यसको एउटा विधि हो । पार्टीको नेता हुँदा शक्तिको भागबन्डा (पावर सेयरिङ) खोज्नु र पाउनु एउटा सामान्य अभ्यास पनि हुन्थ्यो होला तर संवैधानिक राष्ट्रपति आफ्नो मर्यादामा बस्ने हो भने सरकार वा अन्य निकायमा भागबन्डा खोज्नु उचित हुँदैन ।


आश्रित कार्यकर्ताको मोह त्याग

राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई सबैभन्दा कठिन सम्भवतः आफ्ना निकट कार्यकर्ताको मोह त्याग गर्नु हुनेछ । लामो समयसम्म सँगै काम गरेका, आफूलाई सधैँ सहयोग गरेका र लगभग आफूमा आश्रित कार्यकर्ताको व्यवस्थापन होस् भन्ने चाहना हुनु पनि अस्वाभाविक होइन । शक्तिको भागबन्डामा नलाग्नेबित्तिकै यस्ता कार्यकर्ताको व्यवस्थापन पनि हुन सक्तैन । सत्तासँग शक्तिको भागबन्डा खोज्नेबित्तिकै सम्झौता पनि गर्नुपर्ने हुन्छ । 


तत्काल कसी तनहुँ -१ को निर्वाचन

राष्ट्रपति निर्वाचनपछि रिक्त तनहुँ -१ को प्रतिनिधि सभा सदस्यमा  उमेदवारी तय गर्दा उनको भूमिका के हुन्छ भन्नेले पनि धेरै हदसम्म राष्ट्रपतिका रूपमा पौडेलले गर्ने अभ्यासको छनक दिनेछ ।

उनले आफू निकट कार्यकर्तालाई उमेदवार बनाउन दबाब दिएर पार्टी राजनीतिमा संलग्नता देखाँउछन् कि तटस्थ रहन्छन् ? चुनावमा प्रभाव पार्न कति सक्रिय हुन्छन् त्यसले पनि उनको भावी शैलीको झलक देखाउनेछ ।

रामचन्द्र पौडेलसँग व्यक्तिका रूपमा सफल राष्ट्रपति बन्न आवश्यक केही सकारात्मक पक्ष पनि छन् ।उनले अहिलेसम्म अपनाएको  जीवन शैली सरल छ । ‘विलासको लालस’ देखाएका छैनन् । सन्तानको पनि चिन्ता गर्नुपर्ने अवस्था छैन ।

डा. रामवरण यादव र विद्यादेवी भण्डारीजस्तो पार्टी वा मुलुककै पनि राजनीतिक वरीयतामा तल पनि छैनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सक्रिय राजनीतिमा रहेका सबैलाई औँला ठड्याउने हैसियत राख्छन् । ब्रह्मले देखेको बोल्न हिचकिचाउँदैनन् । (यद्यपि, उनको प्याच्च भनिहाल्ने बानीले अप्ठेरो पनि पार्न सक्छ अब !)


जनताका अपेक्षा


नवनिर्वाचित राष्ट्रपति पौडेलसँग नेपाली जनताको अपेक्षा धेरै छैनन् । शीतलनिवास पार्टीको शाखा कार्यालय नबने हुन्थ्यो ।

सुरक्षाकर्मीले राष्ट्रपतिका नाममा दिने सास्ती र हैकम कम होस् । उनी कतै जाँदा छोरीबुहारी कसैको जुत्ता सुरक्षाकर्मीले नबोकुन् । सांस्कृतिक परम्पराको पालना त गरुन् तर शाह राजाले गर्ने सबै पूजापाठको नक्कल नगरून् । धर्म निरपेक्ष देशको राष्ट्रपति भएको हेक्का राखून् !


राष्ट्रपतिको सचिवालयमा नेपालकै जनसङ्ख्याको प्रतिविम्ब झल्के उत्तम हुन्थ्यो । पार्टीका वा आफ्ना निकट कार्यकर्ता व्यवस्थापनका लागि पद सिर्जना गर्ने र व्यक्तिको दक्षता एवं आवश्यकताभन्दा बढी निकटता नै योग्यता ठान्ने प्रवृत्ति कम देखिए हुन्थ्यो ।

‘योग्यहरू इमानदार हुँदैनन् र इमानदारहरू योग्य छैनन्’ भन्ने नठानीकन योग्य र इमानदार सहयोगी खोजुन् । योग्य नपाए इमानदार रोजुन् । सकेसम्म विवादमा नपरून् ।


राष्ट्रपतिका आधिकारिक सल्लाहकार प्रधानमन्त्री नै हुन् । न्यायिक सल्लाह आवश्यक भए संस्थागतरूपमा सर्वोच्च अदालतसँग लिए हुन्छ । यसैले शीतलनिवासमा सल्लाहकार र विज्ञका नाममा चाकरीदारको भिड जम्मा नगर्नु बेस हुन्छ । कारण, राष्ट्रपतिको विवेकमा नियुक्त हुने हुनाले तिनको कामकारबाहीप्रति पनि राष्ट्रपति नै उत्तरदायी जो हुनुपर्छ । 


राष्ट्रपतिले न सबै काममा आफैँ खटिएर सम्भव हुन्छ न कर्मचारीको धेरै भर पर्न नै हुन्छ । कम्तीमा महत्त्वपूर्ण विज्ञप्तिहरू आफैँले पनि हेरुन् । राष्ट्रपति भवनबाट जारी हुने विज्ञप्तिलगायतका अभिलेखका भाषा शुद्ध र स्पष्ट हुने अपेक्षा पूरा गर्न सुरुका दिनमा पौडेलले थप दुःख पनि गर्नुपर्ने हुनसक्छ ।


रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको जस लिन तम्सनेहरू त धेरै नै होलान् तर शेरबहादुर देउवा र पुष्पकमल दाहालको गुन भने पक्कै उनले पनि बिर्सनेछैनन् ।

तर, तिनको गुन तिर्न असंवैधानिक बाटो हिँडे भने उनी ‘विद्यादेवी-२.०’  हुनेछन् जनताका नजरमा । गुनको होइन नुनको सोझो गरून् । विशेगरी माओवादी हिंसाका सन्दर्भमा उठेका प्रश्नहरूमा दण्डहीनतालाई प्रश्रय नदिऊन् ।


उक्साउनेहरूको लहैलहैमा नलागून् । आलोचनाप्रति असहिष्णु र ईर्ष्या नराखी तिनका कुरा सुनून् । सामाजिक सञ्जालमा उनको धेरै प्रशंसा गरिएको र अपेक्षा राखिएको देखिन्छ । तर, उनले अस्वाभाविक अपेक्षा कम गराऊन् र प्रचार मोह त्यागून् ।


र अन्त्यमा,

सम्भवतः नवनिर्वाचित राष्ट्रपति पौडेलका लागि उनको कद नै अहिले चुनौती र अवसर दुवै हो । उनले साँच्चै नै चाहे भने त्यस सर्वोच्च पदको गरिमा उच्च बनाउन सक्छन् ।

विगतका राष्ट्रपतिहरूको बिग्रेको छवि पनि पौडेलका लागि अवसर हो । तर, त्यसभन्दा बढी रामचन्द्र पौडेलको छवि नै उनको सबैभन्दा ठूलो शक्ति हो ।

यस्तै, पौडेलको अहिलेको राजनीतिक कदले उनीप्रति बढी अपेक्षा जन्माएको छ ।  आफ्नै कदको बोझ र पदको ओजले  उनलाई नथिचोस् । 

राष्ट्रपतिका रूपमा पौडेलले मानक कायम गर्ने सफलता पाऊन् । शुभकामना !

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC