site stats
विदेश
सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको मृत्यु 

यरेभान । आर्मेनियाको एक सैनिक ब्यारेकमा भएको आगलागीमा १५ जना सैनिकको ज्यान जानुका साथै अन्य तीनजना सिकिस्त घाइते भएका छन् । सेनाले पेट्रोल प्रयोग गरेर आगो बाल्न खोज्दा यो दुर्घटना भएको बताइएको बीबीसीले लेखेको छ ।

अजरबैजानसँग जोडिएको आर्मेनियाको हिंसाग्रस्त पूर्वी सिमाना नजिकको एउटा ब्यारेकमा बिहीबार बिहान सबेरै आगलागी सुरु भएको थियो । प्रारम्भिक प्रतिवेदनमा सुरक्षाका नियमहरुको उल्लंघन हुँदा आगलागी भएको बताइएको थियो । तर, पछि प्रधानमन्त्री निकोल पासिन्यानले सेनाले पेट्रोल प्रयोग गरी स्टोभ बाल्न लाग्दा आगो सल्केको जानकारी दिएका थिए ।

S.A.U
Agani Group

आर्मेन प्रेसका अनुसार पासिन्यानले मन्त्रिमण्डललाई बताएका छन्, “प्रारम्भिक अनुसन्धानअनुसार हिटरमा पाँच लिटरको पेट्रोलको डिब्बाबाट पेट्रोल खन्याइँदा यो दुर्घटना भएको हो । पेट्रोल खन्याइँदा डिब्बामा समेत आगोले टिपेपछि आगो बाल्न खोजिरहेका सैनिक अधिकारीले सो डिब्बा ब्यारेकतर्फ फालेका थिए । सशस्त्र फौजलाई पेट्रोललगायत कुनै पनि ज्वलनशील पदार्थ आगो सल्काउन प्रयोग नगर्न स्पष्ट निर्देशन दिइसकेको छ ।”

एजोट गाउँमा रहेको यस ब्यारेकमा सैनिक इन्जिनियरहरु बस्ने गरेका छन् । यस दुर्घटनाका कारण त्यस ब्यारेकका कमान्डरलाई बर्खास्त गरिएको छ । विवादास्पद नागोर्नो–कारावाख क्षेत्रलाई लिएर सन् २०२० मा आर्मेनिया र अजरबैजानबीच ६ साता लामो युद्ध भएयता सीमाक्षेत्र तनावग्रस्त रहँदै आएको छ । 

Global bank

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय