विशेष
काठमाडौं । २७ चैत ०६३ राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) ले माओवादी लडाकूसँग भएका हतियारको तथ्यांक सार्वजनिक गर्यो । कन्टेनरमा २ हजार ८५५ हतियार, शिविर पेरिमिटरको सुरक्षार्थ ५२४ हतियार र माओवादी नेतृत्वको सुरक्षाका लागि भनेर अनमिनले ९६ वटा हतियार रहेको बतायो ।
अनमिनले सार्वजनिक गरेको हतियार सूची सत्य नभएको भन्दै त्यसबेला नै नेपाली सेनासहित विभिन्न निकायले प्रतिक्रिया दिँदै केही हतियार लुकाइएको हुन सक्ने आशंका गरियो ।
‘माओवादीले अत्याधुनिक हतियार लुकायो, ति हतियार कुनै पनि बेला राज्यविरुद्ध प्रयोग हुन सक्छन्,’ भन्दै सुरक्षा निकायका प्रतिनिधिले सरकारमा हुनेहरुको ध्यानाकर्षण गराए ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसँग युद्धको समयमा कूल ३ हजार ४३० हतियार माओवादीले लुटेको थियो । त्यसबाहेक पनि माओवादीसँग विभिन्न अत्याधुनिक हतियार थिए । यिमध्ये २ हजार ८२४ थान हतियार मात्र कन्टेनरमा राखिएको थियो । बाँकी हतियार कता गए ? कहीं कतैबाट चित्तबुझ्दो जवाफ नपाए पनि माओवादी नेतृत्वमा रहेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकदिन कैयौं हतियार खोलाले बगायो भन्ने प्रतिक्रिया दिएर कतिपयको आक्रोशलाई शान्त बनाएका थिए ।
त्यसबेला दाहालको यो टिप्पणीलाई धेरैले आलोचना गरे भने केहीले पत्याए पनि । तर अहिले आएर सशस्त्र युद्धका बेला प्रयोगमा आएका हतियार प्रहरीलाई टाउको दुखाईको विषय भएको छ ।
अहिले हुने गरेका आपराधिक कृयाकलापमा तिनै हतियारसहित पक्राउ गरिएको प्रहरी तथ्यांक छ ।
उपल्लो डोल्पामा भएको यार्सा लुटपाट, हुम्लाको बौद्ध गुम्बामा भएको मुर्ति चोरी, मनाङ र मुस्ताङमा भएका लुटपाट तथा दार्चुलामा भएको जडिबुडी लुटपाटमा संलग्न लुटेराहरुले युद्धकालमा सुरक्षा निकायसँगै खोसिएका हतियार प्रयोगमा ल्याएको अनुसन्धानबाट खुलेको छ ।
२०७१ साउन २ गते प्रहरीले मनाङबाट रुकुमका नविन रोका र उजिरबहादुर रोकालाई एके ४७ राइफलसहित त्यसमा लाग्ने १८ राउण्ड गोली, चाइनिज पेस्तोल र त्यसको ७ राउण्ड गोली तथा कटुवा पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली सहित पक्राउ गर्यो । यार्सागुम्बा लुट्ने तयारीका साथ मनाङ पुगेका उनीहरुलाई प्रहरीले ति अत्याधुनिक हतियारसहित पक्राउ गरेको थियो ।
बयानमा तिनले आफूहरु पूर्व माओवादी लडाकु भएको र द्वन्द्वका बेला प्रयोग गरिएका हतियार पार्टीलाई नबुझाएर राखेको प्रहरीलाई बताएका थिए ।
त्यस्तै नेपाली सेनाले मात्रै प्रयोग गर्दै आएको टु इन्च मोर्टार एक थान र प्रहरीले प्रयोग गर्ने ४४ थान थ्री नट थ्री राइफल प्रहरीले २०७० भदौ ३० गते जाजरकोटको खलंगा–८ रानीवन जङ्गलमा लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो ।
दोस्रो संविधानसभाको चुनाव भाँड्न ति हतियार प्रयोग हुन सक्ने भन्दै सुरक्षा निकाय निकै चनाखो भएकाले पनि कतिपय हतियार पक्राउ पर्न संभव भएको थियो ।
त्यसैगरी ०७३ भदौ १६ गते जुम्लाबाट एक अत्याधुनिक हतियार एसएमजीसहित प्रहरीले माओवादीका पूर्वलडाकुसहित ५ जनालाई पक्राउ गर्यो । उनीहरुले स्वचालित मेसिनगन देखाएर यार्सागुम्बा लुट्ने तयारी गरेका बेला प्रहरीले उनीहरुलाई जुम्लाको सिंजा क्षेत्रबाट पक्राउ गरेको थियो ।
प्रहरीले जुम्ला मालिकाठाटा ४ का ३२ बर्षीय मानबहादुर बोहोरा, धापा–६ का अशोक तिरुवा, गज्र्याङकोट–२ को ३० बर्षीय धिरबहादुर परियार, मुगु कोटवाडा ८ का वर्ष ३१ बर्षीय दलबहादुर कार्की र जिना–३ का २५ बर्षीय गोविन्द टमाटालाई पक्राउ गरेको थियो ।
प्रहरीको विशेष ब्युरोका डीआईजी बमबहादुर भण्डारीले बाह्रखरीसँग भने, “देशका विभिन्न स्थानमा भएका ठुला आपराधिक घटनामा माओवादी द्वन्द्वका बेला प्रयोग भएका हतियार प्रयोगमा आएको भेटिएका छन् ।”
भण्डारीकाअनुसार यार्सागुम्वा लुटपाट, वित्तीय संस्था लुटपाटसहित अन्य जघन्य खालका आपराधिक काममा ति हतियार प्रयोग भएको छ ।
प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लले पनि माओवादी द्वन्द्वका बेला प्रयोग भएका हतियार पछिल्लो समयमा आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको पाइएको बताएकाछन् ।
मल्ल भन्छन्, “विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुसँग हराएका भनिएका हतियारहरु भेटिने गरेका छन् । हतियार मात्र हैन, कतिपय अपराधमा माओवादीका पूर्व लडाकुहरुको पनि संलग्नता देखिएको छ ।”
तीनवर्षको अवधीमा प्रहरीले देशभरबाट विभिन्न सात सय भन्दा बढी हतियार बरामद गरेको प्रहरीले जनाएको छ । जसमध्ये अघिकांश माओवादी सशस्त्र संघर्षमा प्रयोग भएका हतियार भएको प्रहरीको ठहर छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १७:३२
प्रतिक्रिया दिनुहोस्