विशेष
काठमाडौं । करिब दुई दशक अघि रुकुम र रोल्पालाई आधार इलाका बनाएर जसरी तत्कालिन नेकपा माओवादीले सशस्त्र संघर्ष शुरु गरेको थियो त्यही खाकामा लुटपाट र जबर्जस्ती चन्दा असूल्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई मंगोल मूलवासी राष्ट्रिय फोर्स बताउने समूह र त्यसका अध्यक्ष भनिने उपेन्द्र घर्तीको सिन्धुपाल्चोकमा बस लुट्ने योजना विफल बनाउँदै प्रहरीले पक्राउ गरेको हो । घर्ती सहित सो समूहका अन्य १२ जना पनि प्रहरी हिरासतमा पुगेका छन् ।
रोल्पा र रुकुममा ग्रामीण भेगमा सैनिक तालिम भनेर कतिपयलाई तालिम दिएजस्तो गर्ने र त्यहाँबाट केही रकम र हतियार संकलन गरेर सो समूह काठमाडौं छिरेको सूचना प्रहरीले पहिल्यै पाएको तर तिनको संगठनलाई एकैपटक समाप्त पार्ने उद्देश्यसहित निगरानीमा राखेको र बस लुट्नु अघि सबैलाई पक्राउ गरिएको महानगरिय प्रहरी कार्यालयका आयुक्त एआईजी प्रताप थापाले बताए ।
थापाका अनुसार यो समूहका सदस्यमध्ये रोल्पाबाट पाँच, सिन्धुपाल्चोकबाट दुई र काठमाडौंबाट छ जना पक्राउ गरिएको थियो । प्रहरीले उनीहरूका साथबाट चार वटा पेस्तोल, विभिन्न विष्फोटक पदार्थ तथा संगठनको नाममा प्रकाशित केही दस्तावेज र सैनिक तालिम सम्बन्धि पुस्तिका पनि बरामद गरेको छ ।
आतंकवाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीका अनुसार मंगोल मूलवासी राष्ट्रिय फोर्स एकवर्ष अघि तीनवटा साना यस्ता संघ मिलाएर बनाइएको थियो । यो संगठनले देशभरी १०४ सक्रिय सदस्य बनाएको र राजनीतिक आवरणमा यसको उद्देश्य लुटपाट मच्चाउने र त्रास फैलाएर पैसा उठाउने नै थियो ।
पक्राउ परेको संगठनले नेपाललाई तीन भागमा विभाजन गरी भूमिगत सशस्त्र आन्दोलन गर्ने बताए पनि डिआइजी भण्डारीका अनुसार उनीहरुको कार्यशैली भने आपराधिक देखियो । अध्यक्ष उपेन्द्र घर्तिमगरले पश्चिम क्षेत्र सम्हाल्ने, पूर्वी क्षेत्रका इन्चार्जमा पृथ्वी नारायण लिम्बु र मध्य क्षेत्र इन्चार्ज टेन्डी शेर्पा बनेका थिए । यी तीन बाहेक पक्राउ परेका १३ मध्ये सचिन लिम्बु, सुवास राई र नविन श्रेष्ठको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ ।
यो समूहले हतियार संकलन गर्ने, बस लुट्ने, बैंक तथा सुन पसल लुट्ने र प्रहरी चौकी आक्रमण गर्ने तयारी गरिरहेको डीआईजी भण्डारीले जनाए । उनले भने, पक्राउ परेको समूहले तत्कालीन माओवादीको नक्कल गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
“राजनीतिक नाम र उद्देश्य राखेर आपराधिक गतिविधि सञ्चालन गरिरहेको, बैंक लुट्ने, सैन्य तालिम दिने लगायतका काम गरिरहेको हामीलाई पहिल्यै जानकारीमा आएको थियो । उनीहरुको सम्पूर्ण संरचना ध्वस्त पार्नु थियो, त्यसैले केही समय निगरानीमा राख्यौं र एकैपल्ट ध्वस्त बनाएका हौं । यस समूहका मु्ख्य ब्यक्तिहरू पक्राउ परिसके र अन्य केही चाँडै पक्राउ पर्छन,” डिआइजी भण्डारीले भने ।
यो समूहले सिन्धुपाल्चोकमा कुनै बस लुट्ने योजना गरेर त्यसलाई अन्तिम रुप दिन लागेको अवस्थामा प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ २०:११
प्रतिक्रिया दिनुहोस्