देश
काठमाडौं । नेपाल घुम्न आएका एक जापानी नागरिकले भाडाका ट्याक्सी चालकलाई चिठी लेखेर नरम र दयालु भाव देखाउन आग्रह गरेका छन् ।
उनले आफूले लेखेको चिठी ट्राफिक प्रहरी महाशाखामा बुझाएका छन् । चिठीमा उनले ट्याक्सी चालकलाई राम्रो कमाइ गर्ने तीनवटा तरिका पनि सुझाएका छन् ।
नेपाल घुम्न आएका आएका जापानी नागरिक ताकासिओले महाशाखा पुगेर डीएसपी सविन प्रधानलाई चिठी बुझाएका हुन् ।
“म तपाईंको देश नेपालमा केही महिनाअगाडि आएँ । अनि ट्याक्सीमा धेरै पल्ट चढेर तपाईंले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ । यसबारे मलाई केही प्रभाव परेकोले म तपाईंलाई यस चिठीको माध्यमबाट केही कुरा भन्न चाहन्छु,” चिठीको सुरुवात गर्दै उनले भनेका छन् ।
ट्याक्सी चलाउने काम निकै गाह्रो भएको र सधैं जोखिम हुने उनले चिठीमा उल्लेख गरेका छन् । “ट्याक्सी चलाउने काम तपाईंलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणको लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुहरूसँग झमेला, लुटेराहरूसँगको सामना आदि । केही यात्रुहरू तपाईंलाई आफ्नो गन्तव्य स्थानमा सकेसम्म छिटो पुर्याइदिन भन्छन् । त्यसबेला होसियारीसाथ जोखिम लिएर पनि चलाउनुपर्छ,” उनले चिठीमा भनेका छन्, “तर पर्खनुहोस्, अरु मान्छेको बारेमा पनि एकछिन सोच्नुहोस् । तपाईंलाई थाहा छ, तपाईंको ट्याक्सीबाट उनीहरूले कस्तो आशा गर्छन् ?”
चिठीमा पानी परेका बेला, गह्रौं झोला भएको बेला, नयाँ सहरमा भएको बेला, वा इमर्जेन्सीको बेला, ट्याक्सीमा आरामदायी र सुरक्षित यात्रा गर्न चाहने पनि ताकासिओले उल्लेख गरेका छन् ।
“ट्याक्सी एउटा सार्वजनिक यातायात हो, तर बस, टेम्पोभन्दा फरक हुन्छ । तपाईंले साँघुरो बाटोबाट पनि यात्रुको घरसम्म जानुपर्छ । कहिलेकाहीँ यात्रुहरुको गह्रौं झोला पनि बोक्नुपर्छ,” चिठीमा उनले भनेका छन्, “एउटा विदेशी मान्छेको हेराइमा तपाईं यति गाह्रो काम गर्दै हुनुुहन्छ । त्यसकारण म तपाईंलाई अझै राम्रो कमाइ गर्न तीनवटा तरिका सिकाइदिन चाहन्छु ।”
उनले दिएका तीन वटा कारण र सुझाव यस्ता छन् । पहिलो सुझाव छ– आफ्नो पेशामा सधैं गौरव गर्नुहोस् । एउटा विदेशी पाहुनाले तपाईंको देशमा आएर भेट्ने व्यक्तिहरूमध्ये तपाईं पहिलो व्यक्ति हुनुहुन्छ, अर्को शब्दमा विदेशीको लागि तपाईं नेपालको पहिलो अनुहार हो । सुरक्षित रूपले ट्याक्सी चलाउँदै मलाई तपाईंले नरम र दयालु भाव देखाउनुभयो भने नै म नेपाल रमाएर बस्नेछु ।
दोस्रो सुझाव छ– ड्राइभिङबाट जीविका चलाउने र सडक प्रयोगमै धेरै समय बिताउने तपाईंले धेरै सुरक्षित साथ ट्याक्सी चलाउनुपर्छ ।
तेस्रो सुझाव छ –इमान्दारिताका साथ ट्याक्सीमा भएको मिटर चलाउनुस् र मेरो लागि पनि कृपया तपाईंको ट्याक्सीको अगाडि सिटमा बस्नको लागि सिटबेल्टको व्यवस्था गरिदिनुस् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३ १५:४२
प्रतिक्रिया दिनुहोस्