विशेष
काठमाडौं । प्रहरीले हरेक वर्ष दसैं, तिहार र छठ पर्व आउन लागेपछि देशभरका मुख्य सहर तथा राजधानीमा विशेष सुरक्षा व्यवस्था मिलाउँछ । अपराधीले पनि प्रहरीको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै अपराध कर्मलाई निरन्तरता दिन्छन् ।
यो वर्षको दसैंको १४ दिनमा देशभर १३७ वटा चोरी, लुटपाट, कुटपिटलगायतका आपराधिक घटना भए । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार संख्या अघिल्ला वर्षहरूको तुलनामा भने कम हो ।
प्रहरीका अनुसार दसैं अवधिमा देशभर चोरी, लुटपाट र कुटपिटका ६४ वटा घटना भए । काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र २८ वटा अपराधका घटना भएको तथ्यांक छ ।
प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लका अनुसार दसैंको घटस्थापनादेखि पूर्णिमासम्म काठमाडौं उपत्यकामा भएका आपराधिक घटनामा १ ज्यानको मृत्यु भयो भने ९६ जना घाइते भए । प्रहरीले विभिन्न घटनामा संलग्न ४७ जनालाई पक्राउ गरेको छ भने १८ जना अभियुक्त फरार छन् ।
यो अवधिमा सबैभन्दा बढी चोरीका घटना भएका छन् । देशभर ३७ वटा चोरीका घटना भएकोमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३१ वटा घटना भएका छन् । पश्चिमाञ्चल क्षेत्रमा ३ वटा र अन्य विकास क्षेत्रमा १÷१ वटा चोरीका घटना भएको प्रहरी तथ्यांक छ ।
त्यस्तै, हतियार प्रहारका घटना २७ वटा भएका छन् । यीमध्ये ८ वटा घटना काठमाडौं उपत्यकामा, ७ वटा पूर्वाञ्चल विकास क्षेत्रमा, ३ वटा पश्चिमाञ्चल विकास क्षेत्रमा र २ वटा मध्यपश्चिमाञ्चल क्षेत्रमा भएका छन् । दसैं अवधिमा जबर्जस्ती करणीका घटना पनि ७ वटा भएका छन् ।
“चाडबाडका बेला चोरी–डकैती र धारिला हतियार प्रहारका घटना बढी हुने गरेको विगत छ,” प्रवक्ता मल्लले बाह्रखरीसँग भने, “यो वर्ष शून्य त बनाउन सकिएन, तर विगतका वर्षहरूभन्दा निकै कम भए ।”
दसैं अवधिमा भएका आपराधिक घटना
कर्तव्य ज्यान – ९
जुवातास – ५९
चोरी – ३७ स्थान (४५ लाख ९९ हजार रुपैयाँ नगद, ९ तोला सुन र २४६ तोला चाँदी)
लुटपाट – ७ (२० हजार नगद र १३ तोला सुन)
धारिलो हतियार प्रहार– २० (२७ जना घाइते)
कुटपिट – ६४ (१ जनाको मृत्यु)
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३ १३:३३
प्रतिक्रिया दिनुहोस्