विशेष
काठमाडौं ।
- असोज १८ गते प्रहरीले कंलकीबाट झापा जान लागेको बा ३ ख ८४३८ नम्बरको बस नियन्त्रणमा लियो । बस झापाबाट काठमाडाैं रिजर्भमा आएको थियो । फर्कदा २२ जना यात्रुसँग बढी भाडा लिएर फर्कँदै गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लियो । एक हजार ६५ तोकिएको भाडामा १२ सय भन्दा बढी असुलेर नक्कली टिकट बनाएर यात्रु ओसारेको पाएपछि गाडीधनी जीवन पाण्डे लगाएत ३ जनालाई नियन्त्रणमा लियो,बढी भाडा असुलेका २२ जनालाई भाडा फिर्ता गरायो ।
- काठमाडौंबाट पोखरा जान लागेको ग १ ज ६०७४ नम्बरको बसले तोकिएको भन्दा बढी भाडा असुलेको भेटेपछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर असोज १८ गते नै १३ जनाको बढी भाडा फिर्ता गरायो ।
- त्यसैगरी असोज १८ गते काठमाडौंको गौशालाबाट यात्रा गर्न लागेकाहरुसँग ण्तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि ८४ जनाको रकम फिर्ता भएको छ । उनीहरुले तोकिएको भन्दा ३ सय देखि ४ सय सम्म बढी भाडा लिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यसरी तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि तीन दिनमा ५ सय भन्दा बढीको रकम फिर्ता गराएको छ । काठमाडौं प्रहरीकाअनुसार यसरी यात्रुलाई ठगी गर्ने १६ जनालाई ठगी मुद्दा चलाएको छ । प्रहरीले यात्रु ठगिन नपरोस् भनेर प्रत्येक बस काउन्टरमा निरीक्षण गरेको नाएको छ ।
“सेवा गर्ने बहानामा ठगी गर्नु अपराध हो,” महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बिक्रम थापाले बाहखरीसँग भने,“नागरिकलाई सेवाको भाव देखाएर ठगी गर्नेलाई हामीले पक्राउ गरी मुद्दा चलाएका छौं ।”
थापाले आफू नै प्रत्येक दिन फिल्डमा खटिएको बताउँदै बढी भाडा असुल्न खोजे प्रहरीलाई खबर गर्न यात्रुसँग आग्रह गरेका छन् ।
“तपाईंहरुले बढी भाडा तिरेर यात्रा गर्नुपरेको छ भने प्रहरीलाई खबर गर्नुस्,” थापाले भने,“तोकिएको भाडाभन्दा एक रुपैयाँ पनि बढी तिर्नुपर्दैन ।” उनले १०० मा डायल गरेर बढी भाडा लिएको बस नम्बर टिपाउन समेत आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३ ०८:५१
प्रतिक्रिया दिनुहोस्