विशेष
ललितपुर । ललितपुरमा मासिक सरदर ६ जनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाएको छ । ३ वर्षको अवधिमा जिल्लामा २ सय १७ जनाले आत्महत्या गरेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०÷७१ मा ७१ जनाले आत्महत्या गरेकोमा ०७१/ ०७२ मा ६९ जनाले र ०७२÷०७३ मा ७७ जनाले आत्महत्या गरे ।
“तीन वर्षको तथ्यांक विश्लेषण गर्दा आत्महत्याका घटना बढ्दो क्रममा देखियो । यो तथ्यांक अझे बढ्ने अनुमान हाम्रो छ,” ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने, “आत्महत्या रोकथाम गर्न हामीले विशेष योजना बनाएका छौं । २४ घण्टे हटलाइन सेवा विस्तार गरिएको छ । हटलाइनले धेरैलाई मृत्युको मुखबाट बचाएको छ ।”
प्रहरीले आत्महत्या रोकथामका लागि परामर्श भन्दै ९८५१२१५६८८ मोबाइल नम्बर हटलाइनको रूपमा उपलब्ध गराएको छ । त्यस्तै, ९८१३४७६१२३ नम्बरमा पाटन हस्पिटल मानसिक रोग विभागमा सम्पर्क गरी निःशुल्क परामर्श सेवा लिन सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
२४ घण्टे हेल्पलाइन सुरु गरेयता तीन दर्जनभन्दा बढीले टेलिफोन गरी परामर्श लिएको र ५ जना आत्महत्या गर्न खोज्ने व्यक्तिले अहिले परामर्श लिइरहेको परिसरका प्रवक्ता डीएसपी इश्वर कार्कीले बताए । “रातको १२ बजे फोन गरेर मलाई मर्न मन लाग्यो, के गर्ने भन्दै फोन आउँछ,” उनले भने ।
प्रहरीको तथ्यांकअनुसार ललितपुरमा हुने आत्महत्या सहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रमा देखिएको छ । विषेशगरी पश्चिमी भेगमा आत्महत्याका घटना बढी हुने गरेको भेटिएपछि प्रहरीले मनोवैज्ञानिकहरूलाई साथमा लिएर गाउँमै पुगेर परामर्श दिन थालेको छ । प्रहरीले चलाएको आत्महत्या न्यूनीकरण अभियानले धेरैलाई बचाएको भन्दै यो अभियान निरन्तर जारी राख्न नागरिकले आग्रह गरेका छन् । ललितपुर प्रहरीले यसअघि चापागाउँ, लेले र गोटीखेलमा आत्महत्या रोकथामबारे चेतना दिन विभिन्न कार्यक्रम गरिसकेको छ ।
तस्बिर : गाउँ–गाउँमा परामर्श दिँदै ललितपुर प्रहरी
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३ १४:१२
प्रतिक्रिया दिनुहोस्