विशेष
काठमाडौं । अघिल्लो साता ललितपुरको प्रहरी टोली सादा पोसाकमा हतियार बोकेर ललितपुरमा रहेका विभिन्न बैंकमा प्रवेश गर्यो ।
सादा पोसाकको प्रहरी टोली ती बैंकहरूमा पुग्दा बैंकमा मानिसहरुको खचाखच भीडभाड थियो । मुख्य गेटमा कुनै बंैकमा २ जना त कुनैमा ३ जनासम्म सुरक्षाका लागि मेटल डिटेक्टर (विस्फोटक पदार्थ तथा हातहतियार बोकेको पत्ता लाउने यन्त्र) बोकेका सुरक्षा गार्ड थिए । तर, तिनले हतियार बोकेका प्रहरी छिर्दा पनि कुनै पत्तो पाएनन् ।
बैंकका सुरक्षा गार्डले हतियार बोकेका प्रहरीलाई चेकचाँज पनि गरेका थिए । तर, हतियार छ भन्ने पत्तो पाएनन् ।
ललितपुर प्रहरीका अनुसार विभिन्न १० वटा बैंकमा त्यसैगरी प्रवेश गर्दा ५ वटा बैंकको सुरक्षाका लागि बसेका गार्डले पत्तै पाएनन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले बाह्रखरीसँग भने, “अन्य बेलाको भन्दा दसैंका बेला बंैकहरूमा धेरै भीडभाड हुन्छ, यस्तो बेला अपराधीले पनि मौका छोप्छन् । करोडांै रकमको कारोबार भइरहेको बंैकका सुरक्षा गार्डको सुरक्षा व्यवस्था कस्तो छ भन्दै हामीले ललितपुरमा अनुगमन गर्यौं । सुरक्षाका लागि राखेका गार्डले समेत हतियारसहित छिरेको पत्तै पाएनन् ।”
सुरक्षा गार्डमा सुरक्षाको कमजोरी देखिएका बंैकको व्यवस्थापन पक्षलाई बोलाएर सुरक्षाका बारेमा जानकारी गराइएको एसएसपी अधिकारीले बताए ।
उनका अनुसार प्रहरीले बैंक तथा गरगहना पसलका सुरक्षा गार्डलाई रातको समयमा समेत फोन गरी सुरक्षाको अवस्थाबारे बुझ्ने गरेको छ ।
एसएसपी अधिकारीका अनुसार ललितपुर प्रहरीले बैंक, व्यापारिक केन्द्र, गरगहना पसल तथा मानिसको भिडभाड हुने क्षेत्रमा चोरी डकैती तथा विभिन्न खालका आपराधिक गतिविधी हुन सक्ने भन्दै प्रहरी परिचालन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३ १६:११
प्रतिक्रिया दिनुहोस्