देश
काठमाडौं । भदौ १० गते दिउँसो १२ बजे कुपण्डोलबाट माइतीघरतर्फ जाँदै गरेको बा ४२ प ९६३४ नम्बरको मोटरसाइकललाई ट्राफिक प्रहरीले थापाथली इन्जिनियरिङ अगाडि रोके । ट्राफिकले अनावश्यक रोकेको भन्दै चालक जंगिए ।
खासमा उनी थापाथली चोकमा लेन मिचेर आएका रहेछन् । त्यो कुरा ट्राफिक कन्ट्रोलले सीसीटीभीबाट मनिटर गरी ट्राफिकलाई कारबाही गर्न लगाएको रहेछ ।
अर्को घटना, बूढानीलकण्ठबाट रत्नपार्क आउँदै गरेको बा ७७ प ३३०० नम्बरको मोटरसाइकललाई लैनचौरमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्यो । ट्राफिकले विपरीत दिशाबाट बाटो काटेको भन्दै चिट थमाउँदा चालक निकै रिसाए । ‘हामीसँग रिसाउने हैन, ट्राफिक महाशाखामा जानुस्, तपाईंले गरेको गल्ती सीसीटिभीले क्याप्चर गरेको छ’ भन्दै प्रहरीले उनलाई पठाइदिए ।
एयरपोर्टबाट निस्किने क्रममा पर्यटक बोकेको जिपले लेन मिचेर आएको रहेछ । त्यो कुरा कन्ट्रोलले गौशाला बस्ने प्रहरीलाई खबर गर्यो । एयरपोर्टबाट फुत्केको जिप गौशाला कारबाहीमा परिहाल्यो ।
यी त केही प्रतिनिधि उदाहरणमात्रै हुन् । ट्राफिकले देख्दैन भनेर नियम मिच्ने सवारीलाई सीसीटीभीले नियालिरहेको हुन्छ र चालकहरु फसिहाल्छन् । चालक सुधार्न प्रहरीले यो रणनीति बनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकको ट्राफिक निगरानी सीसीटीभीबाट पनि गरिरहेको छ ।
काठमाडौं उपत्यकाका सयभन्दा बढी स्थानमा रहेका सीसीटीभीको सहयोगमा ट्राफिक कन्ट्रोल र महानगरीय आयुक्तको कार्यालयले चालकलाई कारबाही गरिरहेको छ । सीसीटीभीबाट हेरेर दैनिक एक सय जनाभन्दा बढीलाई कारबाही हुने गरेको महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले बताए ।
उनका अनुसार सोमबारमात्र काठमाडौंको नारायणगोपाल चोकबाट २९, थापाथलीबाट २२, दरबारमार्ग क्षेत्रबाट २२, गौशालाबाट ३ गरी ९५ वटासवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौंको कंलकी, कालीमाटी, बल्खु, त्रिपुरेश्वर, थापाथली, सुनधारा, भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, बालाजु, महाराजगन्ज, लाजिम्पाट, न्युरोडलगाय क्षेत्रका सडक तथा चोकमा सीसीटिभी जडान गरिएको छ । त्यसको लिंक महानगरीय आयुक्त कार्यालय र महानगरीय ट्राफिक महाशाखामा राखिएको छ । त्यहीँबाट फुटेज हेरेर फिल्डमा खटिने प्रहरीलाई कारबाहीको निर्देशन दिइन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३ १६:०२
प्रतिक्रिया दिनुहोस्