काठमाडौं । नुवाकोटको मेघान जङ्गलमा आज विहान दुर्घटनामा परेको अल्टिच्युड एयरको हेलिकप्टरको उद्धारमा मौसमका कारण समस्या भएको छ । दुर्घटनास्थल ५ हजार ५ सय फिट उचाइमा रहेको र कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ ।
उद्धारका लागि चार वटा हेलिकप्टर परिचालन गरिएको छ । श्री एयरलाइन्सका २ र नेपाली सेना र अल्टिच्युडकै १÷१ वटा हेलिकप्टर उद्धारका लागि परिचालन गरिए पनि दुर्घटनास्थल बाक्लो जङ्गल र भिरालो भूमी भएका कारण दुर्घटना भएको स्थान नजिकै हेलिकप्टर ल्याण्ड गर्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार दुर्घटना स्थलबाट केही टाढा हेलिकप्टर ल्याण्ड गरेर उद्धारकर्मी घटनास्थलतर्फ पैदल गइहरेका छन् । उनले हेलिकप्टर दुर्घटनाग्रस्थ अवस्थामा देखा परेको जनाउँदै हवाई र स्थलमार्गबाट उद्धारको प्रयास भइरहेको जनाए । विमानस्थल कार्यालयले विज्ञप्ती निकालेर दुर्घटनाको पुष्टिसमेत गरिसकेको छ ।
गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा रहेको मेघानमा दुर्घटनामा परेको हो ।
हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको थियो । बिरामीको आफन्तसँगको कुराकानीका आधारमा कल लोकेशनका आधारमा सम्भावित दुर्घटनास्थल पत्ता लगाइएको थियो ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः२० मा अवतरण भइसक्नुपर्ने थियो । एयर ट्राफिकसँग उक्त हेलिकप्टरको अन्तिम पटक ८ः०५ मा सम्पर्क भएको थियो ।
कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै गरेको थिए । एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस३५०बी३इ सिरिजको हो ।