काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध मंगलबार उपत्यकासहित देशव्यापी प्रदर्शन गरेको छ । सरकारले दुईतिहाईको दम्भमा मुलुकमा अधिनायवाद लाद्न खोजेको दाबी गर्दै प्रतिपक्षी कांग्रेसले उसलाई लोकतन्त्र विरोधी कदम नचाल्नका लागि सचेत गराउन ७७ वटै जिल्लाहरुमा प्रदर्शन गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार आयोजना गरिएका विरोध प्रदर्शन कार्यक्रमहरुमा जिल्ला–जिल्ला पुगेका केन्द्रीय तहका नेताहरुले सरकारलाई दुईतिहाईको दम्भ देखाएर मुलुकमा कम्युनिष्ट शासन स्थापना गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
उनीहरुले कांग्रेस रहँदासम्म नेपालमा लोकतन्त्र विरोधी कम्युनिष्ट शासन आउन नसक्ने दाबी गरेका छन् । ‘‘सरकार दुईतिहाईको दम्भमा कम्युनिष्ट शासन स्थापना गर्न खोजी रहेको छ,’’ काठमाडौंको रत्नपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘‘कांग्रेस जिउँदै छ, नेपालमा लोकतन्त्र विरोधी कम्युनिष्ट सरकार आउन सक्दैन ।’’
सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारलाई दुईतिहाईको दम्भ नदेखाउन आग्रह गरे । उनले सरकार एकलौटी ढंगले लोकतन्त्र विपरित गइरहेकाले उसलाई सचेत गराउन आन्दोलन गर्नु परेको स्पष्ट पार्न खोजे ।
नेता सिंहले केही दिनअघि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीमाथि लाल्छना लगाउने कानुन मन्त्री शेरबहादुर तामाङले रुँदै राजीनामा गर्नु परेको प्रसंग निकाल्दै सरकार अहिलेकै ढंगबाट अगाडि बढे रुँदै सत्ताबाट बाहिरिनु पर्ने चेतावनी दिए ।
“दुई तिहाईको माला जप्दा–जप्दै अस्ती जसरी एक जना मन्त्रीले कुर्सी छोड्नु पर्यो, सच्चिनु भएन भने हो त्यसैगरी तपाईंहरु सबैले रुनु पर्ने अवस्था आउने छ,’’ उनले भने । नेता सिंहले कांग्रेसलाई हात्ति र कम्युनिष्टलाई बोकाको संज्ञा दिँदै चुनाव हार्दैमा कांग्रेस कमजोर नभएको जिकिर गरे । ‘‘कांग्रेस कमजोर भए पनि हात्ति दुब्लाएको जस्तै हो, सानो भयो भन्न मिल्दैन,’’ उनले प्रतिप्रश्न गरे, ‘कम्युनिष्ट बोका मोटाएको जस्तो हो, यो कसरी मिल्छ ?’’
कार्यक्रममा सह–महामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्ट कुरा गर्न सिपालु भएपनि काम गर्नमा कमजोर भएको बताए । उनले पाँच वर्षको म्यान्डेड पाएको सरकारकाले गरेका काम जनताले पाँच महिना मै देखिसकेको समेत उनले बताए ।
गृहजिल्ला तनहुँमा आयोजित विरोध सभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र विरोधी र राष्ट्रको उन्नतिका बाधकहरुलाई सचेत गराउन कांग्रेस ७७ वटै जिल्लामा सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको बताए । ‘‘हामीले यो प्रतिकात्मक र्याली आयोजना गरेका हौं । यदि अधिनायकवादीहरुले दुस्साहस गर्छन् भने यो सुरुवाती आन्दोलन हो, भोलि कुनै पनि दुस्साहासीको खैराँत रहँदैन,’’ उनले भने ।
कांग्रेसले ७० वर्ष लडेर संविधान ल्याएर मुलुकमा समृद्धिको ढोका खोलेको स्मरण गराउँदै वरिष्ठ नेता पौडेलले समृद्धिको यात्रा र मुलुकको गरिबी तथा बेरोजगारी समस्या समाधानका लागि संविधान जारी गरेर प्रस्थान विन्दु तयार गरिको बताए ।
उनले भने, ‘‘तर, नेपाली जनतालाई ढाँटेर, झुक्याएर आज कम्युनिष्टहरुले दुईतिहाई मत पुर्याएका छन् । संसदमा पुर्याएको दुईतिहाई मत हिजो संघर्ष र बलिदानीका माध्यामबाट स्थापित भएको संविधान र लोकतन्त्रविरुद्ध प्रयोग हुन् थालेको छ ।’’ संविधानमा स्पष्ट रुपमा प्रतिनिधिसभा र प्रदेशसभाका सभामुख र उपसभामुख एउटै पार्टीको नहुने व्यवस्था भए पनि कम्युनिष्ट नेतृत्वको सरकारले अहिले आएर कुतर्क गरिरहेको उनले बताए ।
सरकारले अधिनायकवादको प्रमाण देऊ भनेको प्रति आपत्ति जनाउँदै नेता पौडेलले भने, ‘‘सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको सुनुवाइको निर्णय संसदीय सुनुवाइ समितिले नगरेर कम्युनिष्ट पार्टीको पोलिट्ब्युरोमा छलफल भएर भइरहेको छ । योभन्दा ठूलो अधिनायकवादको उदाहरण अरु के हुन्छ ?’’ कम्युनिष्टहरुले नेपालीलाई ढाँटेर ल्याएको दुईतिहाई अहिले नेपाली जनताका विरुद्ध प्रयोग भइरहकको उनले टिप्पणी गरे ।
झापामा आयोजित विरोध सभालाई समबोधन गर्दे कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई लागेकोजस्तै मात लागेको आरोप लगाए । उनले दुईतिहाईको दम्भमा ओली नेतृत्वको सरकार तानाशाह बन्न खोजेको टिप्पणी गरे ।
‘‘राजा ज्ञानेन्द्रलाई जस्तै अहिलेको सरकारलाई पनि मात लाग्यो । ज्ञानेन्द्रले जनता बिर्सेर शासन व्यवस्था आफ्नो हातमा लिएका थिए,’’ नेता सिटौलाले भने, ‘‘दुईतिहाईको दम्भमा सरकार तानशाह बन्न खोजिरहेको छ ।’
गृहजिल्ला कञ्चनपुर पुगेका कांग्रेस केन्द्रीय सदस्य एनपी सावदले अहिलेको सरकार पूर्णतया असफल भएको दाबी गरे । उनले अहिलेको सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणासमेत राखे ।
कांग्रेसमा आस्था राख्नेहरुलाई निशाना बनाएर अहिलेको सरकार अघि बढेको आरोप लगाउँदै नेता सावदले संविधान बमोजिम सभामुख र उपसभामुख एकै पार्टीको हुनै नसक्ने जिकिर गरे । सरकारले जनतालाई विकासभन्दा पनि पीडा दिएको दाबी गर्दै उनले भने, ‘‘करको दायरा बढाएर सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सास्ती थपेको छ ।’’
कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले आफू मर्माहित भएको भन्दै सावदले दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा सजाय दिन माग गरे । उनले अहिलेको सरकारले शान्ति सुरक्षा दिन नसकेको आरोप समेत लगाए ।
त्यस्तै रुपन्देही पुगेका कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओलीले मुलुकको मालिक बन्न खोज्नु कम्युनिष्ट सर्वसत्तावाद भएको आरोप लगाए । ‘‘सरकार वा कुनैपनि पार्टीका नेता मालिक हुदैनन् आम जनता नै नेपालका मालिक हुन् । प्रधानमन्त्री जनताका सेवक हुन् तर उनी मालिक बन्न खोजी रहेका छन् ।’’
नेपाली जनतालाई मालिक बनाउनका लागि जनताले ठूलो त्याग गरेको स्मरण गर्दै खाँणले परम्परावादी राजतन्त्रको अन्त्य गरेर कम्युनिष्ट अधिनायकवाद स्थापना गर्न जनताले त्याग र बलिदानी नदिएको जिकिर गरे । ‘‘हिजो राजतन्त्र विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रिदा बालकोटमा बसेर बयल गाडामा चढेर अमेरिका पुग्नु र नेपालबाट राजतन्त्र हटाउनु उस्तै हो भन्नुहुन्थ्यो । आज त्यहि आन्दोलनको जगमा परिवर्तन भए पश्चात बनेको सरकारको प्रधानमन्त्री बन्नुभएको छ,’’ उनले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरे ।
सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन गृहजिल्ला कञ्चनपुर पुगेका कांग्रेस नेता रमेश लेखकले राहत पाउने आशमा बसेका जनतालाई कम्युनिष्ट नेतृत्वको सरकारले आहत दिएको दाबी गरेका छन् ।
‘‘शान्ति सुरक्षाको प्रत्याूभति छैन । जनताले सरकारबाट राहत पाउँला भनेर आशा गरेका थिए । तर कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले राहतको सट्टा जनतालाई आहत मात्रै दिएको छ,’’ स्थानीय मदन चोकमा आयोजित कोणसभामा उनले भने ।
सत्ताधारी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक–पटक क्रान्तिकारी छलाङ भन्ने गरेको स्मरण गर्दैै कांग्रेस नेता लेखकले कम्युनिष्ट सरकारले अपराधी बचाउने क्रान्तिकारी छलाङ मारेको टिप्पणी गरे ।
‘‘प्रचण्डजी समय–समयमा क्रान्तिकारी छलाङ, क्रान्तिकारी छलाङ भन्नु हुन्थ्यो । यो सरकारले यो सरकारले क्रान्तिकारी छलाङ लगाएको छ भने मूल्यवृद्धिमा लगाएको र अपराधी बचाउनमा क्रान्तिकारी छलाङ लगाएको छ,’’ उनले टिप्पणी गरे ।
कांग्रेस नेता धनराज गुरुङले वर्तमान सरकारले चुनावी प्रतिवद्धता भुलेर करवृद्धि, मूल्यवृद्धि गरेर जनताको ढाड सेकी रहेको बताए । कांग्रेस स्याङ्गजाको विरोध सभामा उनले भने “चुनावको बेलामा बृद्वा बाआमालाई घर–घरमा गएर वृद्वभत्ता हात–हातमा ट्याक–टयाक दिंदै नमस्कार गर्छौं भन्ने ओली प्रधानमन्त्री भएपछि दुर्गा प्रसाईंहरुलाई नमस्कार गरिरहेका छन् ।’’
प्रतिपक्षी कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँ नगर इकाईहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीच पुर्याउँदै विरोध प्रर्दशनमा सहभागी गराउन निर्देशन दिएको थियो ।
संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा सरकार कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट अघि बढिरहेको कांग्रेसको ठहर छ ।
संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनु पर्ने संवैधानिक व्यवस्थाको पनि सरकारले ठाडो रुपमा उल्लघंन गरेको प्रतिपक्षी कांग्रेसको दावी छ ।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्ति, ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्धभत्ता दिने तत्कालीन सरकारको निर्णय, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५ हजार रुपैयाँ जिविकोपार्जन भत्ता दिने व्यवस्था र भूकम्प पीडितहरुलाई थप एक लाख रुपैयाँ राहत दिने निर्णयहरु खारेज गरेको भन्दै कांग्रेसले सरकारका जनविरोधी निर्णयको विरोधमा आन्दोलन गर्नु परेको जनाएको छ ।