site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राणाविरोधी आन्दोलनदेखिका नेता–कार्यकर्ता खोज्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी स्थापनाकालदेखिका नेता तथा कार्यकर्ताको खोजी सुरु गरेका छन् । यसको नेतृत्व केन्द्रीय सदस्य प्रदीप पौडेलले गरेका छन् । देशभरका पुराना नेता–कार्यकर्ताहरुको खोजीमा लागेको युवा नेताहरुले जानकारी दिएका छन् ।

उनीहरु ‘राष्ट्रव्यापी लोकतन्त्र सेनानी सम्मान अभियान’ लिएर पुराना नेता–कार्यकर्ताहरुको खोजीमा लागेका हुन् । लोकतन्त्रको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएका कांग्रेसका पुराना नेता–कार्यकर्ताहरु पहिचान गरेर उनीहरुको नाम–ठेगानालाई अभिलेखका रुपमा राख्न युवा नेताहरुले यो अभियान सञ्चालन गरेको बताएका छन् । 

‘‘नेपालको आधुनिक लोकतन्त्रको इतिहास नेपाली कांग्रेस हो । कांग्रेसले विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सञ्चालन गरेका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुराना नेता–कार्यकर्ताहरुको कुनै रेकर्ड छैन,’’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘इतिहासका महत्वपूर्ण पात्रहरुको पहिचान गरेर इतिहासपूर्ण हुने गरी अभिलेख तयार पार्न यो अभियान सञ्चालन गरेको हुँ ।’’ 

आगामी एक वर्षसम्म सञ्चालन हुने यो अभियानलाई जिल्ला कार्यसमितिसँगको सहकार्यमा पूर्णता दिइने नेता पौडेलले बताए । उनका अनुसार पुराना नेता–कार्यकर्ताहरुको सूची संकलनका लागि जिल्लाहरुमा संयोजक तोकिने, संयोजकले ५ जना पुराना नेताबाट नाम संकलन गर्ने र अहिले जिल्लामा रहेको अभिलेखसँग भिडाएर सूची संकलन गरिनेछ । 

‘‘यसरी जिल्ला–जिल्लामा रहेका पुराना नेताहरुले दिएको जानकारी र जिल्ला कार्यसमितिसँग भएको अभिलेखबाट ८० प्रतिशत पुराना–नेता कार्यकर्ताहरुको नाम आउँछ,’’ पौडेलले नाम संकलन गरिने विधिबारे जानकारी दिँदै भने, ‘‘बाँकी २० प्रतिशत नाम जिल्ला कार्यसमितिले गरेको निर्णयअनुसार अभिलेखमा राखिने छ ।’’ 

२००३ देखि २०४७ सम्म कांग्रेसको जिल्ला सभापति, पदाधिकारी र सदस्य भएको व्यक्ति अथवा जिल्लाको संरचना बन्नुअघिको संरचनामा पार्टीको नेतृत्व गरेका व्यक्तिहरु नेता पौडेलले सञ्चालन गरेको ‘राष्ट्रव्यापी लोकतन्त्र सेनानी सम्मान अभियान’ मा समेटिनेछन् । 

‘‘यो अभियान अन्तर्गत महिला संघ स्थापना (२००४) देखि २०४७ सम्म जिल्लाको नेतृत्व गरेका, नेविसंघको स्थापना (२०२७) देखि २०४७ सम्म केन्द्रीय समिति पदाधिकारी वा सदस्यलाई पनि सेनानी घोषणा गर्छौ,’’ उनले भने । 

नेता पौडेलका अनुसार अभियान अन्तर्गत राणा विरोधी आन्दोलन, सशस्त्र क्रान्ति, कांग्रेसको विभिन्न अभियान सफल बनाउने क्रममा निर्वासनमा बस्न बाध्य, जेल परेका व्यक्तिलाई लोकतन्त्र सेनानी सम्मान र २००३ देखि आजका मितिसम्म कांग्रेसमा लागेर सहादत प्राप्त गरेका व्यक्तिहरुलाई मरणोपरान्त लोकतन्त्र सेनानी सम्मान प्रदान गरिनेछ । 

मरणोपरान्त लोकतन्त्र सेनानी सम्मान प्रदान गरिनेमा तत्कालिन विद्रोही नेकपा माओवादीको सशस्त्र युद्धमा हत्या गरिएका कांग्रेस कार्यकर्ताहरु पनि पर्ने उनले जानकारी दिए । नेता पौडेलले जिल्लाहरुले सूची तयार पारिसकेपछि पुनर्मिलन समारोह गरेर पुराना नेता–कार्यकर्ताहरुलाई सम्मान गरिने तयारी गरिएको बताए । 

७७ वटै जिल्लाबाट पुराना नेता–कार्यकर्ताहरुको सूची प्राप्त भएपछि पुस्तक प्रकाशन गर्ने योजना छ । उक्त पुस्तक सुरक्षित राख्नका लागि पार्टीको केन्द्रीय कार्यसमितिदेखि जिल्ला कार्यसमिति हुँदै क्षेत्रीय कार्यसमिति तथा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरुमा राखिने बताइएको छ । 

‘राष्ट्रव्यापी लोकतन्त्र सेनानी सम्मान अभियान’ ले सबैलाई एक ठाउँमा ल्याएर पार्टीभित्रको आपसी सम्बन्धलाई भावनात्मक रुपमा विकास गराउनेमा कांग्रेसका युवा नेता पौडेल ढुक्क छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro