site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतृत्वको दम्भ नहटे अर्को चुनावमा झनै कमजोर

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेताहरुले नेतृत्वलाई पार्टी बलियो र मजबुत बनाउन जनतालाई आभाष हुनेगरी एकतावद्ध हुन सुझाव दिएका छन् । काठमाडौंको लैनचौरमा सोमबार आयोजित कांग्रेसका पुराना तथा अग्रज नेता एवम् पदाधिकारीहरुबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले पार्टीमा जनतालाई बोध हुने गरी एकताको खाँचो रहेको औंल्याएका छन् । 

कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको पहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पुराना नेताहरुले निर्वाचन हार्दैमा हातोत्साहित हुनुपर्ने अवस्था नभए पनि नेतृत्वको बीचमा एकता भने अपरिहार्य रहेको बताएका छन् । 

‘‘चुनाव हार्दैमा हतोत्साहित हुन जरुरी छैन् तर पदाधिकारीहरु संगठित हुन जरुरी छ,’’ पूर्वसभामुखसमेत रहिसकेका कांग्रेसका पुराना नेता तारानाथ रानाभाटले भने, ‘‘केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु जिल्ला–जिल्ला जानुस्, कसरी अगाडि बढ्नुपर्छ भन्ने सुझाव पाउनुहुन्छ ।’’ पार्टीलाई बलियो बनाउन सवैले विधि–विधान अनुसार चल्नुपर्ने उनको भनाई थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुराना नेताहरुले पार्टी सुदृढीकरणका लागि पदाधिकारीहरुलाई भागबण्डाको राजनीति पनि अन्त्य गर्न सुझाव दिएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित भएपनि कमजोर भने नभएको समेत बताएका छन् । 

‘‘समूह–समूह बनाएर खसीको मासुझैँ भाग लगाउन छोड्नुस् । नेपाली कांग्रेस कमजोर छैन्, निर्वाचनमा प्रकृयागत हार–जीत त हुन्छ नै,’’ विगत ६३ वर्षदेखि कांग्रेसमा सक्रिय नेता ओमकार श्रेष्ठले भने, ‘‘संसदमा कांग्रेस सानो देखिएपनि देशमा ठूलो छ, सशक्त छ ।’’
दुई कम्युनिष्ट पार्टीबीचको एकता र अन्तरघातका कारण निर्वाचन हारिएको नेतृत्वको भनाईप्रति असहमति जनाउँदै उनले समूह–समूहमा विभाजित भएका कारण कांग्रेसले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको दावी गरे । 

‘‘बाम एकता, अन्तरघातले कमजोर होइन, कांग्रेस आपसमा टुक्रिएर कमजोर भएको हो । एक हौं कसैले पनि जित्न सक्दैन । तेरो–मेरो भन्न छोड्नुस्, कार्यालयमा उपस्थित हुनुस् । कमजोर छौं नभन्नुस् पार्टी आफै मजबुत हुन्छ,’’ पुराना नेता श्रेष्ठले भने ।    

२०१४ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका पुराना नेता उत्तम नारायण श्रेष्ठले स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसित पराजित भए पछि मात्रै पुराना नेताहरुलाई पार्टीले सम्झिएको भन्दै आक्रोश व्यक्त गरे । 

आफूहरु पदको लोभमा कहिल्यै पनि कांग्रेसमा नलागेको स्पष्ट पार्दै उनले भने, ‘‘चुनाव हारेर सम्झिएको हो ? चुनाव अगाडि नै सम्झिएको भए त केही वडा, स्थानीय तह देखि सांसदसम्म चुनाव जित्थे होलान् ।’’ २०१४ सालमा २० पैसा तिरेर कांग्रेसको क्रियाशील सदस्यता लिएको स्मरण गर्दै श्रेष्ठले पार्टी नेतृत्वले कांग्रेसका कार्यकर्ताहरुलाई अर्काको चुनाव चिन्हमा मतदान गर्न अह्राएको प्रति पनि आक्रोश व्यक्त गरे । 

‘‘नेपाली कांग्रेसलाई भोट दिँदै आएका हौं । तर नेपाली कांग्रेसले नै मण्डलेलाई भोट हाल भन्यो,’’ उनले लौहपुरुष गणेशमान सिँहले भनेका कुरा सम्झिदै कांग्रेस सभापति शेरबहादुर देउवातर्फ हेर्दै भने, ‘‘गणेशमानले भने झैँ ‘गु’ र ‘गोबर’ छुट्याउनुस् ।’’

पुराना नेताहरुले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको दम्भका कारण पार्टी अहिलेको अवस्थामा पुगेको टिप्पणी गरे । सभापति देउवा र वरिष्ठ नेता पौडेलमा रहेको दम्भ नहटे आगामी निर्वाचनमा कांग्रेसले अहिले जति पनि सिट नजित्ने उनहरुले ठोकुवा गरे । 
‘‘कांग्रेसमा ग्रुपिजम् मात्रै होइन् टाईट ग्रुपिजम् छ । यो ग्रुपिजम्ले व्यत्तिलगत रुपमा त फाइदा होला तर पार्टीको हितमा हुँदैन,’’ नेता गोविन्दराज जोशीले भने, ‘‘सभापति र वरिष्ठ नेताकै दम्भका कारण पार्टीको यो गति भएको हो । दम्भ हटेन भने अर्को पटक २३ सिट पनि आउँदैन ।’’

त्यस्तै अर्का नेता विनयध्वज चन्दले कांग्रेस पदाधिकारीहरुमा अहमता रहेको र उनीहरुले आफू बाहेकलाई मान्छे नै नठान्ने गरेको टिप्पणी गरे । ‘‘अहम् कम गर्नुस् । सामान्य कार्यकर्ताको हैसियतमा उभिनुस् । बानी सुधार्नुस् । नेपाली कांग्रेस चिन्नुस् र आफू पनि कांग्रेस बन्नुस् ।’’ उनले कांग्रेसलाई बलियो बनाउन केन्द्रीय पदाधिकारीहरुले अपनाउनु पर्ने आगामी कदमका बारेमा सुझाव दिँदै भने । 

तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला विरुद्ध उमेदवारी दिएका बेला देउवाले आफ्नो उमेदवारी परिवारवाद विरुद्ध भएको भनेको स्मरण गर्दै उनले अहिले देउवा स्वयम् परिवारवादतर्फ गएको भन्दै चिन्ता व्यक्त गरे । 

बैतडीमा लामो समयसम्म राजनीति गरेका नेता चन्दले सभापति देउवालाई प्रश्न गरे, ‘‘हण्ड्रेड परसेन्ट कांग्रेस जित्ने ठाउँबाट तपाई एक्लै किन जितेर आउनु भयो ? पार्टीको सभापति र देशको प्रधानमन्त्री हुनुहुन्थ्यो, अरुलाई जिताउने दायित्व तपाईको होइन् ?’’   

अन्तरक्रियामा पुराना नेताहरु चिरञ्जिवी वाग्ले, तिर्थराम डंगोल, दामोदर गौतम, विपीन कोइराला, रामबहादुर गुरुङ, श्यामलाल श्रेष्ठ, हिरादत्त भट्ट, तिलकप्रसाद न्यौपाने, लोकेश ढकालले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई संस्थापक नेता विपी कोइरालाको बिचार र चिन्तनलाई मनन् गर्दै अगाडि बढ्न सुझाव दिएका थिए । 

उनीहरुले नेतृत्वलाई घरघरबाट नभई पार्टीलाई पार्टी कार्यालयबाट सञ्चालन गर्न, आपसी तिक्तता मेट्न तथा न्याग, तपस्या र आस्थाको राजनीति गर्न पनि सुझाएका छन् । अन्तरक्रियामा वरिष्ठ नेता पौडेल र सभापति देउवाले पुराना नेताहरुका सल्लाह–सुझाव ग्रहण गरेर पार्टीलाई बलियो बनाउने दिशातर्फ अगाडि बढ्ने बताएका छन् ।    

तस्बिर, रासस
   
 

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  १५:५९
प्रतिक्रिया दिनुहोस्