काठमाडौं । नेपाली कांग्रेसले देउवा सरकारको पालामा भएका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले प्रतिपक्षी दललाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको टिप्पणी गरेको छ ।
गत असार १४ गतेदेखि फागुन २ गतेसम्म गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेर विधिलाई उल्लंघन गरेको ठहर गर्दे कांग्रेसले निर्णयमार्फत् सरकारलाई द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको टिप्पणी गरेको हो ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रतिपक्षी कांग्रेसले सरकारद्वारा खारेज गरिएका राजनीतिक नियुक्तिहरु देउवा सरकारले प्रक्रिया पुर्याएर गरेको दावी गरेको छ ।
‘‘अघिल्लो सरकारले गरेको निर्णय संसदबाट निर्वाचित सरकारकै निर्णय थियो । आचारसंहिता जारी भएको समयमा भएका निर्णयहरु पनि निर्वाचन आयोगबाट सहमति लिएर सम्बन्धित बोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम भएका नियुक्ति थिए,’’ पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
पछिल्ला क्रियाकलापहरुबाट सरकार स्वेच्छाचारी ढंगबाट अघि बढ्न लागेको ठहर गर्दै कांग्रेसले निर्णय नसच्याए चुनौतीको सामना गर्न सरकारलाई तयार हुन चेतावनी दिएको छ । ‘‘सरकारले स्वेच्छाचारीलाई निरन्तरता दियो भने हामी सरकारलाई चौतर्फी दबाब दिनतर्फ लाग्छौं । त्यो क्रममा संसद, सडक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रहको प्रक्रियालाई हामी अपनाउँछौं,’’ प्रवक्ता शर्माले चेतावनी दिए ।
कांग्रेसले प्रधानमन्त्री केपी ओली ‘कमरेड मोनोपोली’ बन्दै गएको पनि टिप्पणी गरेको छ । ‘‘सम्माननीय प्रधानमन्त्रीले आफ्नो नाम प्रधानमन्त्रीका रुपमा कमरेड केपी ओली भनेर स्थापित भएकै विषयलाई निरन्तरता दिनु नै सुन्दर हुन्छ । तर यसबीचमा उहाँ कमरेड केपी ओली नभएर कमरेड मोनोपोली भनेर स्थापित हुन खोजेको चरित्र र व्यवहारले देखाएको छ,’’ प्रवक्ता शर्माले टिप्पणी गरे ।
कांग्रेसले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा सम्बन्धि प्रतिस्थापन विधेयक चिकित्सा शिक्षा सुधार र नागरिक हित विपरितको षडयन्त्रका रुमा रहेको ठहर गर्दै आफू विपक्षमा उभिएको पनि स्पष्ट पारेको छ ।
‘‘अघिल्लो सरकारको पालामा जारी भएको अध्यादेशको मूल मर्मलाई कुल्चेर, मूल आत्मालाई मारेर ल्याएकाले हामीले संसदमा विरोध गरयौं र सरकार पछि हट्नु पर्ने अवस्था सिर्जना हुनु स्वाभाविक थियो,’’ उनले भने । विधेयकको विपक्षमा उठ्ने आवाजहरु दवाउन नै सरकारले माइतीघर मण्डलाको नाम उल्लेख नगरेरै उपत्यकाका विभिन्न स्थानमा मात्रै प्रदर्शन गर्न पाउने नियम लागू गर्न खोजेको पनि कांग्रेसको भनाइ छ ।
‘‘क्रमशः बढ्दो स्वेच्छाचारिताकाविरुद्ध प्रदर्शन गर्न रोक लगाउने उद्देश्यले माइतीघर मण्डलासम्म लगाइएको निषेधाज्ञालाई हामीले निरंकुशतातर्फ बढ्न सहज हुने सरकारको मिठो भ्रमका रुपमा लिएका छौं । निषेधाज्ञा फिर्ता नलिए निरन्तर त्यसलाई उल्लघंन गरिने प्रष्टोक्ती दिन चाहन्छौं,’’ प्रवक्ता शर्माले भनेका छन् ।
प्रतिपक्षी कांग्रेसले ओली नेतृत्वको सरकारले ‘मुखमा लोकतन्त्रको रामराम’ र बगलीमा स्टालिनवाद’ को धङधङी प्रस्तुत गर्न लागेको पनि आरोप लगाएको छ । ‘‘सरकारले संविधानलाई मिच्दै गयो, संविधानको संरक्षण गरेर जानुपर्ने निकायले टुलुटुलु हेर्दै गयो भने संविधानको मर्म र भावनाको विपरितको व्यवहारलाई सच्याउनका लागि दबाव दिनुपर्ने कर्तव्य प्रतिपक्षी दलको हो,’’ प्रवक्ता शर्माले थपे, ‘‘सरकार सच्चिनु पर्छ, सच्चिनतर्फ लागेन भने सरकारको यात्रा गडबडीको दिशातर्फ जान्छ ।’’