काठमाडौं । पार्टीभित्रैबाट व्यापक आलोचन हुन थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा मौन समर्थन जनाएपछि पार्टीभित्रैबाट आलोचित भएको नेतृत्वले सरकारप्रति आक्रामक रणनीति अपनाउने निष्कर्ष निकालेको छ ।
कांग्रेसले बुधबारदेखि नै सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । उपत्यकामा निषेधित क्षेत्र लागु गर्न सरकारले गरेको निर्णयको विरोध तथा चिकित्सा शिक्षा तथा सरकारको निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डा. गोविन्द केसी र छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनरत गंगामाया अधिकारीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै कांग्रेसले बुधबार संसद र सडक अवरुद्ध गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न तीन जना सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले जुम्लामा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलनमा ऐक्यवद्धता जनाउन तीन जना सांसदलाई जुम्ला पठाउने निर्णय गरेको थियो ।
कांग्रेसले डा. केसीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार जुम्लाका सांसद प्रेम रसाईली स्नेही, रंगमती शाही र दिनवन्धु श्रेष्ठलाई पठाउन लागेको बताइएको छ । यस्तै कांग्रेसले बुधबार नै सांसदहरु पार्वता डिसी चौधरी, डा. अमरेशकुमार सिँह र वेदप्रकाश तिमल्सिनालाई पठाएर वीर अस्पतालमा अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
कांग्रेसको संसदीय दलको बैठकले वीर अस्पतालमा अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलनमा ऐक्यवद्धता जनाउन सांसदीय टोली पठाउने निर्णय गरेको थियो । साथै कांग्रेस संदसीय दलको वैठकले सरकारलाई उपत्यकामा तोकिएको निषेधाज्ञा तत्काल फिर्ता लिन पनि माग गर्दै अन्यथा निषेधाज्ञा तोडिने चेतावनी दिएको थियो ।
त्यस्तै बुधबार नै निषेधाज्ञाको विरोधमा कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा नेविसंघलाई सडकमा उतारेको छ । युवा नेता पौडेलको नेतृत्वमा नेविसंघले सरकारको निषेधाज्ञाको अवज्ञा गर्दै काठमाडौंको माइतीघर मण्डलामा आधा घण्टाभन्दा बढी नाराबाजी गरेको थियो ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले पनि सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । उसले सरकारको प्रतिवाद गर्न पाँच ‘स’को नीति अख्तियार गर्ने रणनीति अवलम्बन गरेको छ ।
बैठकमा शीर्ष नेताहरुका बीचमा सरकार विरुद्ध पाँच ‘स’ अर्थात सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत दबाव सिर्जना गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पनि कांग्रेसले सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको पुष्टि गरेका छन् । बुधबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेस अब सरकारको अधिनायकवादी प्रवृतिविरुद्ध केन्द्रित हुने बताए ।
‘‘सरकार सवै क्षेत्रमा नियन्त्रण कायम गर्ने दिशाका साथ अघि बढिरहेको छ । लोकतान्त्रिक मूल्य मान्यताहरुमाथि हस्तक्षेप भइरहेको छ,’’ सह–महामन्त्री महतले भने, ‘‘हिजो (मंगलबार) को बैठकले पनि विपक्षी तिर केन्द्रीत हुने र अधिनायकवादी प्रवृति विरुद्ध केन्द्रीत हुने निर्णय गरेकाले अव हामी एक भएर अगाडि बढ्छौं ।’’
तस्बिर : सरिता खड्का