site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडाैं । गएको वैशाख ६ गते कन्चनपुर प्रहरीले कैलालीको मसुरीया गाबिस–२ स्थित ईन्द्रपुरका बाबुराम बिकको घरमा छापा हान्यो । बिक माओबादी पुर्व लडाकु हुन् र उनले आफ्नै घरमा अत्याधुनिक हतियार मर्मतदेखि विभिन्न हतियार बनाउने मेसिन राखेरै कारखाना चलाएको भेटियो । प्रहरीले उनको कारखानाबाट विभिन्न हतियार, हतियारका पाटपुर्जा र गोलीहरु बरामद गर्यो । 
असार ४ गते प्रहरीले धनुषाको यज्ञभुमी गाविसमा हतियार बनाउने कारखाना फेला पार्यो । २० वर्ष देखि दक्ष मिस्त्री राखेर अवैध हतियार बनाउने कारखाना चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो । कारखानाबाट प्रहरीले  यज्ञभूमि ७ राई टोलका ५९ वर्षीय हरिलाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त कुरा खुलेको हो । कारखानामा घरेलु हतियार निमार्णदेखि अत्याधुनिक हतियारको मर्मत हुने गरेको उनको बयानबाट खुलेको थियो । प्रहरीले कारखानाबाट विभिन्न हतियारका पाटपुर्जा देखि गोली र बम बनाउने उपकरण बरामद गरेको थियो । 
गएको भदौ १४ गते प्रहरीले  नुवाकोटको साल्मे ९ मा एक घरेलु हतियार बनाउने कारखानामा छापा मार्यो । लामो समय देखि होम्बा तामाङले हतियार कारखाना संचालन गरेको र उनको कारखानामा घरेलु हतियार निमार्ण देखि अत्याधुनीक हतियारको मर्मत हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । 
त्यसैगरी गएको भदौ १६ गते जुम्लाको बुम्रमाडी चौरबाट एक थान अत्याधुनीक हतियार सटगन(एसएमजी) प्रहरीले बरामद गर्यो । प्रहरीले हतियारसंगै ५ जनालाई पनि पक्राउ गरेको थियो । त्यो हतियार भेटिएको ४ दिन पछि भदौ २० गते जुम्लाकै सिजाबाट १५ राउण्ड एसएलआरको गोली बरामद गर्यो । 
प्रहरीले दैनिक जसो देशका विभिन्न स्थानबाट अवैध हतियार बरामद गदैआएको छ । 
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार तीन वर्षको अवधिमा देशभरबाट प्रहरीले ७ सय भन्दा बढी विभिन्न किसीमका हतियार बरामद गरेको छ, र कतिपय हतियारको कारखाना नेपालमै भएको शंका प्रहरीले गरेको छ । प्रहरी श्रोतका अनुसार केही हतियार कारखानामा प्रहरीले छापा मारेर बन्द गराएता पनि अझै त्यस्ता धेरै कारखाना अवैध रुपमा देशभित्रै संचालन भईरहेको अनुमान छ ।
गत तीन वर्षमा प्रहरीले आधुनिक पेस्तोल २ सय १८ थान, कटुवा पेस्तोल २ सय २६ थान, रिभल्वर २७ थान, बन्दुक ८३ थान, एसएलआर (सेल्फलोडिङ राइफल) ३ सय ७० थान तथा एसएमजी लगाएतका एक हजार भन्दा बढी हातहतियार बरामद गरेको छ । त्यस्तै विभिन्न हतियारमा लाग्ने ७ सय भन्दा बढी गोलीहरु पनि बरामद गरेको छ । 
प्रहरी प्रधान कार्यालयको तथ्याकं अनुसार २०७०–७१ मा ३ सय १३ थान विभिन्न हतियार बरामद गरेको छ । त्यस्तै २०७१–७२ मा ३ सय ३३ थान हतियार बरामद गरेको छ, भने २०७२–७३ मा २ सय ७८ थान हतियार बरामद गरेको छ । 
अनुमति नलिएर घरमा हतियार राख्नु गैर कानुनी हो, प्रहरीले यस्ता अवैध हतियार राख्ने ब्यक्तिलाई पनि नियन्त्रणमा लिदै आएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी माधव जोशी भन्छन्, “अवैध हातहतियार प्रहरीका लागी टाउको दुखाईको विषय हो, अवैध हतियार प्रयोग भएर विभिन्न खालका अपराध भएका छन् ।” 
उनका अनुसार समाजमा हुने विभिन्न खालका अपराधमा अवैध हतियार प्रयोग हुने गर्छन । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “पछिल्लो तीन वर्षमा प्रहरीले विभिन्न खालका ठुलो परिमाणमा हतियार बरामद गरेको छ, यी हतियार कतिपय तत्कालीन माओवादी द्वन्द्वका बेलाका हुन् ।” 
उनका अनुसार अहिलेसम्म पक्राउ परेका कतिपय हतियार घरेलु हतियार देखिएका छन् । पक्राउ परेका हतियारको अनुपातमा पक्राउ नपरेका र लुकाएर राखिएका हतियार अत्यन्त ठूलो संख्यामा छन् भन्ने प्रहरीको अनुमान छ । प्रहरीले अवैध हतियार कारखानाको खोजी गरिरहेको र अवैध हतियार बनाउने र राख्ने प्रवृत्तिको सकभर चाँडो अन्त्य गर्ने पनि बताएको छ । 
 
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १२:५९
प्रतिक्रिया दिनुहोस्