हेटौडा । मकवानपुरको हेटौँडामा जारी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा हिन्दु राष्ट्रको मुद्दा उठेको छ । बिहीबार आफ्ना धारणा राखेका जिल्ला सभापतिमध्येबाट ६ जिल्लाका सभापतिहरुले भेलामा हिन्दु राष्ट्रको मुद्दा उठाएका हुन् ।
हिन्दु राष्ट्रको मुद्दा उठान गर्नेमा डडेल्धुरा सभापति कर्ण मल्ल, मकवानपुर सभापति इन्द्र बानियाँ, अछाम सभापति भरतबहादुर स्वाँर, दाङ सभापति किर्तीबहादुर खड्का, पर्सा सभापति अजय द्वीवेदी, र पर्वत कांग्रेसका सभापति खिमप्रसाद भुसाल रहेका छन् । उनीहरुले मुलुकमा बढ्दै गएको सांस्कृतिक विकृति, विचलन रोक्न र कांग्रेसका पक्षमा जनमत जुटाउन आफूहरुले हिन्दु राष्ट्रको मुद्दा अघि सारेको बताएका छन् ।
कांग्रेसलाई आगामी निर्वाचनसम्ममा देशकै एक नम्बरको पार्टी बनाउन हिन्दु राष्ट्र बनाउनुपर्ने लक्ष्यका साथ प्रमुख सिद्धान्त अंगिकार गरेर अगाडि बढ्नुपर्ने उनीहरुको भनाई छ । “आगामी निर्वाचनसम्म बलियो र मजबुद भएर एक नम्बरको पार्टी बनाउन हामीलाई २० देखि २५ लाख थप मतदाता चाहिन्छ । त्यसका लागि पनि कांग्रेसले हिन्दु राष्ट्रको मुद्दालाई प्रमुख सिद्धान्त बनाएर अघि बढ्न जरुरी देखिएकोले यो मुद्दा उठाइएको हो,” कांग्रेस डडेल्धुराका सभापति मल्लले बाह्रखरीसँग भने ।
सबैभन्दा पहिले आपूm मानिस त्यसपछि हिन्दु र अनि मात्रै कांग्रेस भएकाले आफूलाई नेपाल अरु धर्मको मर्म नमर्ने गरी हिन्दु राष्ट्र चाहिएको उनको भनाई छ । सभापति मल्लले गत जेठमा डडेल्धुरामा आयोजित र पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा नै आफूले सभापतिहरुको राष्ट्रिय भेलामा हिन्दु राष्ट्रको मुद्दा उठाउने अनुमति मागेको पनि बताए ।
डडेल्धुरा सभापति मल्लले २०६८ असोज ५ गते कांग्रेसका पूर्वमहामन्त्री खुमबहादुर खड्का प्रमुख अतिथि रहेको तरुण दलको जिल्ला अधिवेशनमा पनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि संघर्ष गर्ने उद्घोष गरेको पनि स्मरण गरे । त्यो समयमा आफूले जिल्लाका नेता कार्यकर्ताहरुसँग अनुमति मागेर हिन्दु राष्ट्रका लागि संघर्ष गर्ने उद्घोष गरेको पनि बताए ।
हेटौँडाको भेलामा हिन्दु राष्ट्रको मुद्दा उठान गरेका ६ वटै जिल्लाका सभापतिहरुले निकट भविश्यमै आयोजना हुन गइरहेको पार्टीको महासमिति बैठकमा समेत यसलाई लैजाने तयारी गरेका छन् ।
उनीहरुले महासमिति बैठकबाट हिन्दु राष्ट्रको मुद्दालाई लिखित रुपमै पास गराउने लक्ष्यसमेत राखिएको प्रतिक्रिया दिएका छन् ।
कांग्रेस दाङका सभापति खड्काले परम्परादेखि रही आएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर नेतृत्व पंक्तिले ठूलो भूल गरेको दाबी गरे । “हामी प्रजातन्त्रवादी पार्टीमा आस्था राख्ने, प्रजातन्त्रमा बहुमतको कदर हुने अनि ८०–९० प्रतिशत हिन्दु धर्मावलम्बीहरुको भावनालाई कदर नगरेर देशलाई धर्म निरपेक्ष गराउने ?,” बाह्रखरीसँगको कुराकानीमा उनले आक्रोस व्यक्त गरे ।
विश्वको एक मात्र हिन्दु राष्ट्रका रुपमा नेपाललाई चिनाउन आफूहरुले हिन्दु राष्ट्रको मुद्दालाई उठाएको र यसमा अधिकांश जिल्लाका सभापतिहरुको समर्थन रहेको सभापति खड्काले दावी समेत गरे ।