site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस जिल्ला सभापति भेलामा कडा सुरक्षा, पदाधिकारीको पनि चेकजाँच

हेटौंडा । मकवानपुरको हेटांैडामा प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला कडा सुरक्षाका बीच चलिरहेको छ । 

मंगलबारबाट सुरु भएको राष्ट्रिय भेलामा बन्द सत्र सुरु भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको थियो । पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरु सहभागी रहेका कारण स्थानीय प्रशासनले भेला आयोजना गरिएको परिसर वरिपर सुरक्षाकर्मीहरु तैनाथ गरेको छ ।  

भेलास्थलमा प्रवेश गर्ने प्रवेशद्वारमा प्रहरीले मेटल डिटेक्टर गेट खडा गरेर भेलामा सहभागी हुन पुगेका जिल्ला सभापतिहरु, कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई चेकजाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिने गरेको छ । 

“भीआईपीहरु भेलामा आउनुभएको छ, त्यही भएर सुरक्षालाई मध्यनजर गरेर सुरक्षा विधि अपनाइएको हो,” भेला चलिरहेको भवनको प्रवेशद्वारमा तैनाथ एक सुरक्षाकर्मीले भने । 
प्रहरीले सभापतिहरुको राष्ट्रिय भेला उद्घाटनपूर्व भेला स्थल वरपर र हलमा दुई वटा कुकुरको सहयोगमा सुरक्षा अवस्थाका बारेमा जाँचपड्ताल गरेको थियो । कुकुरसहितका सुरक्षाकर्मीले भेला परिसर जाँच गरेपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका उच्च तहका नेताहरु भेला स्थलमा पुगेका थिए । 

सुरक्षाकर्मीले भेलास्थलमा जाने सञ्चारकर्मीहरुलाई पनि कडाइका साथ चेकजाँच गरिरहेको छ । त्यस्तै कांग्रेस मकवानपुरले पनि सुरक्षाकर्मी तैनाथ प्रवेशद्वारमा स्वयम्सेवकहरु खटाएर सञ्चारकर्मीहरुको परिचयपत्र चेकजाँच गरेको छ । 

उनीहरुले परिचयपत्र नबोकेका कसैलाई पनि भेलास्थलभित्र प्रवेश गर्न दिइरहेका छैनन् । बिहीबार बिहान साढे ९ बजे सभाहलमा रहेकी कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको झोला पुर्याउन गएका उनका एक जना सहयोगीलाई सुरक्षाकर्मी र कांग्रेसका स्वयम्सेवकहरुले परिचयपत्र नभएका कारण भित्र प्रवेशमा रोक लगाएका थिए । 

झण्डै आधा घण्टापछि भेला चलिरहेको स्थानमा पुगेका कांग्रेस नेता विजयकुमार गच्छदार सवार गाडीलाई पनि सुरक्षाकर्मीले गेट बाहिर नै रोकेका थिए । सुरक्षाकर्मीले गेट बाहिर नै गाडी रोकेपछि उनी मेटल डिटेक्टर गेट भएर हिँडेरै भेला चलिरहेको हलभित्र प्रवेश गरेका थिए । भवन परिसरको प्रवेशद्वार र हलबीचको दूरी झण्डै दुई सय मिटर रहेको छ ।   

कांग्रेस मकवानपुरले बुधबार भेला स्थलमा माईकिङ गरेर केन्द्रीय तहका नेताहरु, जिल्ला सभापतिहरु र स्वयम्सेवक बाहेकका कांग्रेस नेता कार्यकर्ता, शुभचिन्तक तथा सञ्चारकर्मीहरुलाई भेला आयोजना गरिएको भवन परिसरबाट बाहिर जान भनेको थियो । 

भेला चलिरहेको भवनमा ठूला ठूला लाउडस्पीकरहरु लगाएका कारण भित्र बोल्ने वक्ताका कुराहरु बाहिर सुनिने भएकाले भवन परिसरबाट बाहिर जान आग्रह गरिएको एक सभापतिले बताएका छन् । 

“पार्टीमा किचलो छ, वक्ताले भित्र बोलेको बाहिर जस्ताको त्यस्तै सुनिन्छ । आन्तरिक कुरोहरु बाहिर मिडियामा नजाओस् भनेर त्यसो भनिएको हुन सक्छ,” उनले भने ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro