site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाप्रति जिल्ला सभापतिहरूको आक्रोश– माओवादीलाई चितवन छाडेर कांग्रेसले के पायो ?

हेटौडा । मकवानपुरको हेटौँडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसमितिको चुनावी समीक्षा बैठकमा देखिएका दृष्य दोहोरिएका छन् । 

चुनावी समीक्षा बैठकमा पौडेल र सिटौला पक्ष जिल्ला सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भए जस्तै हेटौँडामा जारी भेलामा पनि पौडेल–सिटौला पक्ष निकट मानिएका जिल्ला सभापतिहरु पनि देउवाविरुद्ध खनिएका छन् । 
संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले चुनावी समीक्षा बैठकमा सभापति देउवाको बचाउ गरेकै शैलीमा संस्थापन निकट जिल्ला सभापतिहरु राष्ट्रिय भेलामा नेतृत्वको बचाउमा उत्रिएका छन् । 

भेलामा बुधबार आफ्ना धारणा राखेका पौडेल–सिटौला पक्षीय जिल्ला सभापतिहरुले नेतृत्वकै कमजोरीका कारण स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय बेहोर्नुपरेको दाबी गरेका छन् । तर संस्थापन पक्षीय जिल्ला सभापतिहरुले निर्वाचनको पराजयका लागि एक्लो नेतृत्वका मात्रै कमजोरी औंल्याउनु पार्टीको भविष्य अनुकूल नभएको जिकिर गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय भेलाको बन्द शत्रमा आफ्ना धारणा राख्ने जिल्ला सभापतिमध्येका एक नुवाकोट सभापति जगदिश्वरनरसिँह केसीले पार्टी सभापति देउवाकै कारण कांग्रेस मधुमेह लागेको बिरामीको जस्तो अवस्थामा पुगेको टिप्पणी गरे । नेतृत्वले मुखले पार्टी एकता भन्ने गरे पनि व्यवहारमा नदेखाएको जिकिर गर्दै प्रजातान्त्रिक भनिएको पार्टीमा नेताहरुलाई पार्टीकै फोरममा बोल्न नदिएर अधिनायकवादी चरित्र देखाएको आरोप लगाए । 

“१३ औं महाधिवेशनमा सभापति पदका उमेदवारलाई जिल्ला सभापतिहरुको भेलामा बोल्न दिइएन । किन यतिसम्मको तल्लो स्तरको सोच राखियो,” उनले भने, “कमसे कम सभापतिको उमेदवारलाई बोल्न दिएको भए एउटा नयाँ सन्देश जान सक्थ्यो देशभरमा । किन कन्जुस्याई गरियो ?”

उनले नेतृत्वकै कमजोरीका कारण कांग्रेस रोगी बनेको भन्दै अहिलेकै प्रवृत्ति कायम रहे पार्टी सकिएर जाने चेतावनीसमेत दिए । “कांग्रेसमा साझा नेतृत्व भन्दै आइएको छ । तर नेतृत्व एउटा गुटलाई च्यापेर धृतराष्ट्र र सकुनीको खेलमा फसेको छ । सभापतिज्यू के यसैका लागि हामीले तपाइलाई जिताएका हौ ?,” १३ औं महाधिवेशनमा देउवालाई मतदान गरेका केसीले प्रश्न गरे ।  

तीनै तहको निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी सभापति देउवाले लिन नमानेको प्रसंग कोट्याउँदै उनले जिल्ला सभापतिहरु पराजयको जिम्मेवारी लिएर पार्टीलाई मजबुद बनाउन तयार रहेका पनि बताए । 

त्यस्तै चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय नेतृत्वको अदूरदर्शी रणनीतिका कारण चितवनमा ठूलो क्षति ब्यहोर्नु परेका बताएका छन् । राष्ट्रिय भेलाको बन्दशत्रमा बोल्दै सभापति श्रेष्ठले केन्द्रीय रणनीति कमजोर भएकै कारण चितवनमा कांग्रेसले क्षति ब्यहोर्नु परेको दाबी गरे ।

स्थानीय तह निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई कांग्रेसले बिनाशर्त सघाए पनि तत्कालिन माओवादीले कांग्रेसलाई कतै पनि नसघाएको भन्दै आपत्ति जनाए । “रेणुलाइ बिना शर्त सहयोग गरियो तर त्यही माओवादीले हाम्राविरुद्ध अन्य जिल्लामा एमालेसँग तालमेल गर्यो । यो नेतृत्वले बुझ्न सकेन ।“ उनले भने, “सभापतिज्यू चितवन छोडेर के पायो नेपाली कांग्रेसले ?“

स्थानीय तहको निर्वाचनमा माओवादीलाई सघाउँदा चितवनमा कांग्रेसले ६ वटा तह गुमाउनु परेको सभापति श्रेष्ठको भनाइ थियो । चुनावमा कांग्रेस नराम्रोसँग पराजित भए पनि नेताहरुले हारेको अनुभूतिसम्म नगर्नु बिडम्बना भएको उनले बताए । “पार्टी प्रजातान्त्रिक, नेताको चरित्र सामन्ती छ,“ उनले आक्रोसित हुँदै भने । चितवन सभापति श्रेष्ठले नेतृत्वलाई पार्टी कार्यालयमा बसेर पार्टी सञ्चालन गर्न सुझावसमेत दिए । “पार्टीलाई घरबाट सञ्चालन गरिन्छ, सभापतिज्यू, महामन्त्रीज्यू पार्टी कार्यालयमा बसेर पार्टी चलाउनुस,“ उनले आक्रोश पोखे ।

संस्थापन पक्षीय जिल्ला सभापतिहरुले बितेका कुराहरु बारम्बार कोट्याएर पार्टी बलियो नबन्ने बताएका छन् । उनीहरुले पार्टीलाई सुदृढीकरणका लागि एकजुट भएर जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार बोलेका संस्थापन पक्षीय मानिने कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले पार्टीमा सवैले अनुशासनको पालना गर्नुपर्नेमा जोड दिए । भेलाको उद्घाटन समारोहमा नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिँहले सभापति देउवाको अपमान गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । 

“सिटौलाजी र प्रकाशमानजीले जिल्ला सभापतिहरुको अपमान गर्नुभएको छ । आशन ग्रहण गराएर पनि मञ्चमा नजाने ? अरुलाई नैतिकताको पाठ सिकाउने उहाँहरुले अनुशासनको पालना गर्नुपर्दैन ? ” उनले प्रश्न गरे ।  
कांग्रेस सभापति बोहराले पार्टीलाई बलियो बनाउन दुई चरणको जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । जागरण अभियान हुलाकी सडक भएर झापादेखि कञ्चनपुरसम्म र मध्य लोकमार्ग भएर ताप्लेजुङदेखि दार्चुलासम्म सञ्चालन गरेर पार्टी बलियो बनाउन सकिने उनको भनाई थियो । 

त्यस्तै सुनसरी सभापति राजीव कोइरालाले पार्टी मजबुद बनाउन गुट उपगुट अन्त्य गर्नु पर्नेमा जोड दिए । आफू र आफ्नाहरुका लागि शीर्ष नेताहरुले गुटको राजनीति गरेर तल्लो तहका कार्यकर्ताहरुलाई विभक्त गरेको उनको भनाई थियो । 
सभापति कोइरालाले पार्टीमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि भेलामा सुझावसमेत पेश गरेका छन् । “पार्टीमा एकता नभएर कांग्रेसको भविष्य छैन्,” उनले पार्टीभित्रको द्वन्द व्यवस्थापनका लागि सुझाव दिँदै भने, “पार्टीमा कामको विभाजन गरौं, टेक्नोलोजी गुणा गरौं, वादविदालाई माइनस गरौं र अवसरलाई बराबरी गरौं ।”

वरिष्ठ नेता पौडेल र सिटौलालाई ईंगित गर्दै उनले कांग्रेसमा कोहीभन्दा कोही कम नभएको टिप्पणी गरे । “यहाँ कोहीभन्दा कोही कम छैनन् । अर्कालाई दोष लगाएर आफू पन्छिन नखोजौं,” कोइरालाले भने, “माओवादीले धोका दिएर हार भएको हो । सैद्धान्तिक रुपमा हाम्रो जीत भएकै छ । ०६४ मा पनि हामी हारेकै थियौं नि । आत्तिनु पर्ने कारण नै छैन् ।” 

कांग्रेस कैलालीका सभापति नरनारायण शाहले चुनावी हारको कारण देखाएर नेतृत्वसँग अमर्यादित भएर प्रस्तुत हुनुको कुनै कारण नभएको बताए । “यस्ता त्रुटी पहिलेबाटै हुँदै आएका थिए, अहिले चर्चामात्रै बढी भएको हो,” उनले बन्दशत्रमा भने, “नेतृत्वसँग मर्यादित भएर प्रस्तुत हुनुको सट्टामा अक्रोशित भएर प्रस्तुत हुनुको कुनै तुक छैन् ।” 

गुटको प्रभावमा परेर केही जिल्ला सभापतिहरु केन्द्रीय सभापति देउवाको विरुद्धमा चर्को श्वरमा बोले पनि त्यसले कुनै महत्व नराख्ने सभापति शाहले बाह्रखरीसँगको कुराकानीमा प्रतिक्रिया दिए । 
यस्तै बाजुरा सभापति कवीराज पण्डितले अहिलेको जटिल परिस्थितिमा घर झगडा गरेर कांग्रेसलाई कुनै फाइदा नहुने बताए । दुई कम्युनिष्ट पार्टी एकीकरण भएकाले अब कांग्रेस पनि अहिलेको जटिल परिस्थितिमा एकजुट भएर जानुको विकल्प नभएको उनको भनाई थियो । 

बाजुरा सभापति पण्डितले कांग्रेसका ८ भाई नेताहरुले सभापतिहरुको भेलामा सहभागी सभापतिहरुलाई बाँडेको पत्रलाई लक्ष्ति गरेर उनीहरुलाई जिल्ला जिल्लामा जनताको घरदैलोमा जान सुझाव दिए । “यो ८ भाईको कुरो मिडियाबाजी गर्न आएको हो । उहाँहरुलाई पार्टी बलियो बनाउनु छ भने हरेक जिल्लामा समय दिएर कार्यकर्ता माझ जानु पर्यो,” उनले भने ।

बुधबारको बन्दशत्रमा ३९ जिल्लाका सभापतिहरुले आ आफ्नो भनाई राखेका छन् ।
तस्बिरः गोविन्द परियारको फेसबुकबाट 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०७:३०
प्रतिक्रिया दिनुहोस्