site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस हारको जिम्मेवारी सबैले लिनुपर्ने जिल्ला सभापतिहरुको जोड 

हेटौडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा जारी छ । कांग्रेसले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षा र भावी कार्यदिशा तय गर्न कांग्रेस जिल्ला सभापतिहरुको भेला बोलाइएको हो । 
बाह्रखरीसँग कुरा गर्दै केहि सभापतिहरुले निर्वाचनमा पार्टी पराजयको जिम्मा सबैले लिनुपर्ने बताएका छन् ।

“बल एउटा पोष्टबाट अर्को पोष्टमा फालेर आफू पानी माथिको ओभानो बन्ने प्रकृया अगाडि बढेको देखिन्छ त्यो गलत छ,” धादिङ जिल्ला सभापति रमेश धमलाले भने, “हामी सवैले जिम्मेवारपूर्ण तरिकाबाट प्रस्तुत भएर कहाँ कमजोरी रह्यो, कुन तहबाट कमजोरी रह्यो भन्ने बारेमा आत्मआलोचना गर्न पर्ने परिस्थितिमा हामी सभापतिहरु सचेत छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काभ्रेका सभापति मधु आचार्य पनि निर्वाचनको सम्पूर्ण जिम्मेवारी सभापति देउवा एक्लैको मात्र नभएको दावी गर्छन् । पराजयको जिम्मेवारी लिने विषयलाई नेतृत्वले प्रतिष्ठाको विषय बनाएर गल्ती गरिरहेको उनको भनाई छ । 

जिल्ला सभापतिहरुको भेलामा चुनावी पराजयको मुद्दा छलफलमा आएपनि केन्द्रीय नेताहरु झै सभापतिहरु गाली गलौजमै नउत्रिने उनको भनाई छ । 

“केन्द्रीय कार्यसमिति बैठकले चुनावी समीक्षाका बारेमा छलफल जारी रहने भनेका कारण पनि जिल्ला सभापति तहमा छलफल हुनु स्वाभाविक छ,” आचार्यले थपे, “तर तयो छलफल गाली गलौज गर्ने ढंगबाट नभएर आगामी दिनमा अहिलेसम्म भएका त्रुटीहरु नदोरिउन भनेर हामी छलफल गर्छौं ।”

निर्वाचनको परिणामलाई लिएर जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय नेतृत्वको आलोचना भए कडा रुपमा प्रस्तुत हुने आन्तरिक तयारीमा रहेको संस्थापन पक्षले पनि हारको जिम्मेवारीका विषयमा देशैभरका सभापतिहरु एकमत रहेको दाबी गरेको छ । “हामी समूहिक नेतृत्वमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं,” संस्थापन पक्ष निकट रहेका कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले भने, “त्यसैले जिम्मेवारी केन्द्र, जिल्ला, क्षेत्र, नगर, गाउँ सबैले लिनुपर्दछ भन्नेमा हामी एक ठाउँमा छौं ।”

मंगलबार उद्घाटन भएको राष्टिय भेला अन्तरगत आज (बुधबार) बन्दशत्र चलिरहको छ । बन्दशत्रमा भेलामा सहभागी सवै जिल्लाका सभापतिहरुले पालैपालो आ आफ्नो भनाई राख्ने बताइएको छ । कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा चुनावी समीक्षासँगै विधान संशोधनका आवश्यक सुझावहरु तय गरिने बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १४:२८
प्रतिक्रिया दिनुहोस्