site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले प्रवेश गरेकालाई थप जिम्मेवारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ। नेकपा एमालेले विभिन्न दल परित्याग गरी पार्टीमा समाहित भएका थप नेतालाई जिम्मेवारी दिएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी स्थायी कमिटीको आज बसेको ४३औँ बैठकमा सो जिम्मेवारी दिने निर्णय भएको हो । निर्णयानुसार डा डिल्लीराज खनाल, घनश्याम भट्टराई, मझिलाल थारु थनेत, चक्रपाणि तिमिल्सिना र घनप्रसाद गौतमलाई केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा कृष्णबहादुर शाहीलाई ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्य बनाइएको छ । 
यस्तै बमबहादुर बिसी, रूपबहादुर परियार, लक्ष्मी फुयाँल, ट्रिपल पी गुरुङ, चन्द्रलाल केप्छाकी मगर, विजय राई र ठाकुर गजुरेललाई विभिन्न प्रदेश सङ्गठन कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । पार्टीले प्रादेशिक ढाँचासँग अनुकूल हुने गरी छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ । कमिटीका सहइन्चार्ज विजय गुरूङ र सचिवमा नरेन्द्र श्रेष्ठ रहेका छन् । यसको हैसियत पार्टीको प्रदेश सङ्गठन कमिटी सरह हुनेछ । 
हाल क्रियाशील अञ्चल सम्पर्क कमिटीलाई प्रदेश ढाँचानुसार समायोजन गर्दै सात प्रदेश सम्पर्क सङ्गठन कमिटी गठन गर्ने प्रस्तावलाई स्वीकृत गर्दै ती कमिटीको हैसियत पार्टीको जिल्ला कमिटीसरह हुने निर्णय गरिएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
बैठकले आगामी असोज ३ गते पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी देशैभरि साथ मनाउने निर्णय गरेको छ । सो दिन राजधानीमा अपराह्न १ बजे रत्नपार्क शान्ति बाटिकाबाट बाजागाजासहित बृहत् पदयात्रा गरिने र वसन्तपुरमा आयोजित बृहत् सभामा पार्टी अध्यक्ष ओलीलगायत नेताले सम्बोधन गरिने छ । स्थायी कमिटीको अर्को बैठक असोज ४ गते बस्नेछ । रासस 
 
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १८:२१
प्रतिक्रिया दिनुहोस्