काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वहाराको नाममा सत्तामा पुगेको नेकपा अन्डरलाइनले जनताको दैनिकी कष्टकर बन्दै गएको तथ्यप्रति आँखा चिम्लेको आरोप लगाएको छ । सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा बिमती जनाउन बुधबार अपरान्ह पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले वर्तमान सरकार गठन भए पश्चात बजार मूल्य उच्च गतिमा वृद्धि हुँदा पनि प्रधानमन्त्री गम्भीर नबनेको आरोप लगाएको हो ।
‘‘यो सरकार गठन भए यता बजार मूल्य उच्च गतिमा वृद्धि भएको तथ्यप्रति प्रधानमन्त्रीको हलुका टिप्पणीलाई कांग्रेसले गम्भीर रुपमा लिएको छ,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘मूल्य वृद्धिका सम्बन्धमा निश्चित कारणको उल्लेख र नियन्त्रणका लागि उपाय अवलम्बनसहितको बजेट ल्याउन सरकार चुकेको छ ।’’
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदीय मर्यादालाई ध्यान दिएर अभिव्यक्ति दिन पनि सुझाव दिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसलाई लक्षित गर्दै ‘बजेटलाई हावादारी भन्ने कांग्रेस नै हावादारी भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई ईंगित गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘‘प्रधानमन्त्रीज्यूलाई पदीय उचाइको ख्याल राखेर बोल्न आग्रह गर्दछु ।’’ उनले संविधान कार्यान्ययन भएर मुलुकमा तुलनात्मक रुपले सहज राजनीतिक वातावरण बनेको अवस्थामा जनताले अपेक्षा गरे अनुसार सरकारले बजेट ल्याउन नसकेको दाबी गरे ।
सरकारको आगामी आर्थिक वर्षको बजेट कांग्रेसले लिएको अर्थनीति र कम्युनिष्ट पार्टीको परम्परागत शास्त्रीय दर्शनको दोबाटोमा अस्पष्ट र अन्यौलग्रस्त उभिएको कांग्रेसको टिप्पणी छ । आगामी एक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यले केही महिना अगाडि अर्थमन्त्री स्वयम्ले जारी गरेको श्वेतपत्रलाई खण्डन गरेको कांग्रेसको भनाइ छ ।
‘‘जसरी सरकारले श्वेतपत्रमा कांग्रेसले ढुकुटी रित्याएर दियो भनिएको थियो त्यसलाई सरकारले बजेटमा लिएको आर्थिक वृद्धिदरको लक्ष्यले खण्डन गरेको छ,’’ प्रवक्ता शर्माले भने, ‘‘यसबाट कांग्रेस नेतृत्वको यसअघिको सरकारले रित्तो ढुकुटी वर्तमान सरकारलाई हस्तान्तरण गरेको भन्ने सरकारको दाबीलाई झुठो सावित गरेको छ ।’’
सरकारले बजेटमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नु राकारात्मक भए पनि रोजगारी सिर्जनाको मुख्य स्रोत निजी क्षेत्रलाई सरकारले प्रात्साहन गर्न नसकेको कांग्रेसले बताएको छ । निजी क्षेत्र व्यवसायमा निरुत्साहित भए रोजगारीको सिर्जनामा प्रतिकुल असर पर्ने र त्यसले बेरोजगार युवाका लागि सत्तारुढ दलले शब्दमा दिएको आकर्षण व्यवहारमा ‘शितल मिठाई’ मा परिणत रहेको प्रवक्ता शर्माको भनाइ थियो ।
राजनीतिक दलहरुले शिक्षामा लगानी २० प्रतिशत पुर्याउने साझा प्रतिवद्धता जनाएको भए पनि सरकारले बजेटमा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको पनि कांग्रेसले जनाएको छ । सरकार शैक्षिक क्षेत्रको नीतिगत, संरचनागत र समग्र सुधारमा गम्भीर नदेखिएको कांग्रेसको दाबी छ ।
कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले व्यवस्था गरेको दीर्घरोगीको जीविकोपार्जन भत्ता कटौती गरेको प्रति आपत्ति जनाएको छ । ‘‘बजेटमा ठूलो व्ययभार नपर्ने र विरामीका परिवारलाई केही हदसम्म राहत पुग्ने पूर्ववर्ती सरकारको निर्णयलाई निरन्तरता नदिइनु मानवीय दृष्टिले गलत छ ।’’ प्रवक्ता शर्माले भने ।
कुल बजेटको एक चौथाईभन्दा पनि थोरै बजेट विकास खर्चका लागि छुट्याइएकाले मुलुकले समृद्धि हासिल गर्न नसक्ने पनि प्रतिपक्षी कांग्रेसले दाबी गरेको छ । सरकारले बजेटमा समेटेका कार्यक्रमहरुमा थुप्रै विरोधाभाष देखिएको जिकिर गर्दै प्रवक्ता शर्माले भने, ‘‘चुनावी घोषणा पत्रमा निजगढ विमानस्थललाई पाँच वर्षमा पूरा गर्ने उल्लेख गरिए पनि सरकारले बजेटमा समाबेश गरेको छैन् । यसले फास्ट ट्रयाकमा पनि असर पर्छ भने पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा प्रश्न चिन्हसमेत खडा भएको छ ।’’
फाइल तस्बिर