site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रको बचाउ गर्दै पौडेलले भने– के गोप्य छ र बाहिर लैजानै नहुने ?  गच्छदारले मागे उपसभापति 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रको ‘बचाउ’ गर्दै त्यसको विरोध गर्नुको कुनै कारण नभएको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले निर्वाचनमा पराजयपछि सभापति देउवालाई बुझाएको लिखित धारणासहितको पत्रको ‘बचाउ’ गरेका हुन् ।  जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षीय नेताहरुले लिखित धारणामा उल्लिखत शब्दहरुको कडा आलोचना गरे पछि पौडेलले ‘बचाउ’ गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । 

गत फागुन १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले निर्वाचनमा नेतृत्वकै कारण पराजय ब्यहोर्नु परेको उल्लेख गर्दै सभापति देउवालाई लिखित पत्र दिएका थिए । उनले पत्रमार्फत पार्टी सभापति देउवालाई आफ्नो गुटको भरणपोषण मात्रै गरेको आरोप लगाएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त लिखित पत्रमा १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक नभएर सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘‘तर तपाईँ तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’’

‘भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ?’ भन्ने शब्द प्रयोग गरेर पौडेलले सभापति देउवालाई गरेको लिखित प्रश्नप्रति आपत्ति जनाउँदै संस्थापन पक्षीय नेताहरुले केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न गरेका थिए– ‘‘पार्टीको यो लेवलको नेताले यस्तो शब्द प्रयोग गर्नु कत्तिको उचित हो ?’’

नेता पौडेलले शुक्रबार संस्थापन पक्षीय नेताहरुले गरेको प्रश्नको कडा रुपमा जवाफ दिएका छन् ।

‘‘गणेशमानजी कति पटक प्रधानमन्त्री हुनुभयो र देउवाजी कति पटक प्रधानमन्त्री हुनुभयो ? जनताले कसलाई पुज्छन्–गणेशमानीलाई कि देउवाजीलाई ? हो त्यही हो भोग भनेको,’’ उनले बैठकमा आफ्नो लिखित धारणमा उठेका प्रश्नको जवाफमा भनेका थिए । 
नेता पौडेलले नेपाल प्रहरीको आइजीपी प्रकरणमा तत्कालिन प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा र उनकै कार्यकालमा गृहमन्त्री रहेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिबीचको आन्तरिक द्वन्द्वपछि सिर्जना भएको माहोल र राजदूत सिफारिश प्रकरणले निर्वाचनमा पार्टीलाई अपूरणनीय क्षति भएको बताए ।  

‘‘राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाई तपाईंले घोर उपेक्षा गर्नुभयो । आईजीपी काण्डमा त्यस्तै गर्नुभो, महाअभियोग प्रकरणमा लोकले के भन्ला ? भन्ने कुरा वास्तै गर्नुभएन न्यायाधीश नियुक्तिमा अपारदर्शी शैलिको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिहरु थुपारेर जम्बो मन्त्रीपरिषद गठनले पनि नागारिक समाजमा चरम वितृष्ण फैलायो,’’ पौडेलले सभापति देउवालाई बुझाएको लिखित धारणामा भनिएको थियो । 

ती लिखित धारणाहरुमा टेकेर संस्थापन पक्षीय नेताहरुले कडा आलोचना गरेपछि वरिष्ठ नेता पौडेल आफ्नो पत्रको बचाउमा लागेका थिए ।

उनले पार्टीभन्दा बाहिर लैजानका लागि पत्र सभापतिलाई नबुझाएको जिकिरसमेत बैठकमा गरेका छन् । 

‘‘बाहिर लैजानका लागि पत्र दिएको होइन् । तर पनि बाहिर गयो । प्रवक्ताले नै मेरो पत्र बाहिर लगे । मेरो पत्रमा के कुरो छ र त्यस्तो बाहिर लेजानै नहुने ?,’’ पौडेलको भनाई उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो । 

बैठकमा झण्डै ५२ मिनेट लामो धारणा राख्दै वरिष्ठ नेता पौडेलले पार्टी सुदृढीकरणका लागि वैशाखमा जिल्ला सभापतिहरुको भेला आयोजना गर्नुपर्ने, जेठ महिनाभित्रै महासमिति बैठक बोलाउनुपर्ने र पार्टीको प्रशिक्षण अभियानलाई व्यापक बनाउनुपर्ने पनि बताएका छन् । 
यस्तै कांग्रेस नेता विजयकुमार गच्छदारले सहमतिअनुसार आफूले कांग्रेसमा भाग पाउनुपर्ने बताएका छन् । शुक्रबारको बैठकको शुरुवातमै बोलेका गच्छदारले नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराउँदा भएका सहमति अनुसार आफूले पार्टीमा भाग पाउनुपर्ने माग गरेका हुन् । 

गत असोज ३० गते उनी आफ्नो अध्यक्षतामा रहेको लोकतान्त्रिक फोरमलाई विलय गराउँदै कांग्रेसमा फर्किएका थिए । कांग्रेस फर्किदा सभापति देउवाले आफूलाई पार्टीको उपसभापति र केही केन्द्रीय सदस्य दिने सहमति गरेको बताउँदै आएका छन् । 

बिहीबार बसेको बैठकमा आफ्नो धारणा नसकिएका कारण गच्छदारले शुक्रबारको बैठकमा शुरुमै मन्तव्य राखेका थिए । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि स्थगित भएको छ । बैठक शनिबार बिहान ९ वजेका लागि बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  १५:३६
प्रतिक्रिया दिनुहोस्