site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको ‘पट्यारलाग्दो’ बैठक, तीन घण्टा बोल्दा पनि गच्छदारले सकेनन् !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको पाँचमहिनापछि नेपाली कांग्रेसले समीक्षाका लागि भन्दै केन्द्रीय समितिको बैठक बोलाएको थियो । बैठक बोलाएको करिब ३५ दिन भैसक्यो । बीचबीचमा स्थगित गरेर पनि बिहीबार ११ औं दिनको बैठक बसेको थियो ।

तर दिनभर दुई सदस्यले मात्रै आफ्नो धारणा राखे । त्यो पनि पट्यारलाग्दो पाराले । एक केन्द्रीय सदस्यका अनुसार दुवै नेताको पट्यारलाग्दो सम्बोधन थियो ।  सभापति शेरबहादुर देउवा निकट नेताहरु गोपालमान श्रेष्ठ र विजय कुमार गच्छदारले बिहीबार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म बसेको बैठकमा आफ्ना मात्रै धारणा राखे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दुवै नेताले पट्यारलाग्दो सम्बोधन गरेर दिनै बिताइदिए,” बिहीबार बेलुका बैठकबाट बाहिरिँदै गरेका एक केन्द्रीय सदस्यको भनाइ थियो । त्यतिमात्रै नभए गच्छदारको सम्बोधन नसकिएपछि शुक्रबारका लागि पनि समय दिइएको छ । सभापति शेरबहादुर देउवाले केही केन्द्रीय सदस्यलाई समय तोकेको भए पनि उनीहरुसहित केही नेतालाई भने जति बोल्न मन लागे पनि समय दिएको आरोप रामचन्द्र पौडेल निकटका केन्द्रीय सदस्यको रहेको छ ।

“आजको बैठकको रोचक पक्ष के रह्यो भने जम्मा दुईजना नेताले बाल्नुभयो,” बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “गोपालमान श्रेष्ठले झण्डै दुई घण्टा बोलेपछि लञ्च ब्रेक भयो । त्यसपछाडि पनि उहाँको सम्बोधन जारी रह्यो । उहाँको समय सकिए पछाडि विजयकुरमार गच्छदारको पालो आयो । उहाँले ४ बजेदेखि झण्डै ७ बजेसम्म तीन घण्टा बोल्नुभयो तर पनि सक्नुभएन । उहाँले बोलेर सकिने क्रममा बैठक फेरि बस्ने गरी स्थगित भयो ।”

गच्छदारले १० वर्षपछि केन्द्रीय समितिमा यसरी आफ्ना धारणा राखेको भन्दै ऐतिहासिक विश्लेषणदेखि यस बीचका धेरै विषयहरु बैठकमा राखेको शर्माले जानकारी दिए । “रोचक ढंगले विषयहरु आएका छन्,” शर्माले भने, “भोलि गच्छदारले बोलिसकेपछि कोषाध्यक्ष, महामन्त्री, वरिष्ठ नेता र सभापतिले बोल्नुहुन्छ । भोलिको दिन नै निर्णय पनि सहमतिपूर्वक नै लिएर आउँछौं ।”

बैठकमा नेता श्रेष्ठले पार्टीमा भएका कमीकमजोरीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  २०:१०
प्रतिक्रिया दिनुहोस्