site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामचन्द्र पौडेललाई विमलेन्द्र निधिको प्रश्न– भाग खोजेर दोहोरो चरित्र देखाउने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीमा भाग खोज्ने अनि त्यसैको विरोध गर्ने गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका छन् । जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

सभापति शेरबहादुर देउवालाई यसअघि नै नेता रामचन्द्र पौडेलले बुझाएको पत्रमा उल्लेख भएका विषयहरुप्रति आपत्ति जनाउँदै निधिले पौडेलले पार्टीमा भित्र भागबन्डा खोज्ने बाहिर त्यसैको विरोध गर्ने गरेको आरोप लगाएका हुन् । 

‘भोगको गिनिजबुकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ?’ भन्ने शब्द प्रयोग गरेर पौडेलले सभापति देउवालाई गरेको लिखित प्रश्नप्रति आपत्ति जनाउँदै निधिले बैठकमा प्रश्न गरे, ‘‘पार्टीको यो लेबलको नेताले यस्तो शब्द प्रयोग गर्नु कत्तिको उचित हो ?’’ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वरिष्ठ नेता पौडेलले बाहिर बाहिर पार्टी भागबण्डाको आधारमा चल्न नहुने बताएपनि सभापतिसँग भागबन्डाका लागि ‘बार्गेनिङ’ गर्ने गरेको पनि आरोप लगाए ।  बैठकमा सहभागि कांग्रेस केन्द्रीय सदस्य स्रोतले निधिको भनाई उद्धृत गर्दै भन्यो, ‘‘एकातर्फ भागबण्डा हुनुहुन्न भन्ने अर्कोतर्फ सबै कुरामा भागबण्डा खोज्ने यो कस्तो दोहोरो चरित्र हो ?’’ 

पौडेलले पार्टीमा दोहोरो चरित्र निर्वाह गरेको भन्दै चर्को आलोचना गरेका हुन् ।

चुनावी समीक्षा बैठकमा झण्डै एक घण्टा बोलेका निधिले पार्टीभित्रको विषयबस्तुलाई कार्यसमिति बैठकमा नराखेर बाहिर राखेको भन्दै पौडेलको आलोचना गरेको बैठकमा सहभागी स्रोतले जनाएको छ । 

निधिले सभापति देउवाको बचाउ गर्दै निर्वाचनमा भएको पराजयका लागि नेतृत्व एक्लै दोषी नभएको पनि जिकिर गरेका छन् । स्रोतले भन्यो, ‘‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले बेहारेको पराजयका लागि वरिष्ठ नेता पौडेल पनि दोषी रहेको उहाँको भनाई थियो ।’’

गत फागुन १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले निर्वाचनमा नेतृत्वकै कारण पराजय बेर्होनुपरेको उल्लेख गर्दै सभापति देउवालाई लिखित पत्र दिएका थिए । उनले पत्रमार्फत पार्टी सभापति देउवालाई आफ्नो गुटको भरणपोषण मात्रै गरेको आरोप लगाएका थिए । 

उक्त लिखित पत्रमा १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक नभएर सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘‘तर तपाईँ तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’’

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले आ आफ्नो धारणा राखेका थिए । बैठक बिहीबार बिहान ९ बजे पुनः बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १९:३२
प्रतिक्रिया दिनुहोस्