site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नारी दिवस बिर्सिएको दिन समतामूलक समाज निर्माण हुन्छ

केकी अधिकारी पेशाले कलाकार हुन् । नायिका भए पनि उनी अधिकारका कुरा खुलेर गर्छिन् । महिलामाथि हुने दुर्व्यवहार तथा हिंसाका विषयमा स्पष्ट बोल्ने उनी समानताका विषयमा बोल्न हिचकिचाउँदिनन् । सामाजिक सञ्जालमा पनि उनी आफ्नो प्रष्ट धारणा राख्दै आएकी छिन् । नारी दिवसको अवसरमा नायिका अधिकारीसँग महिलाका अधिकारका विषयमा केन्द्रित रहेर गरिएको छोटो कुराकानीः
० ० ०
तपाईं नारीका अधिकारका विषयमा कुरा गर्न रुचाउने नायिका, आज नारी दिवसको दिन के छन् आज कार्यक्रम ?
नारी दिवसका दिन कार्यक्रम राख्नुपर्छ र गर्नुपर्छ भन्ने पक्षमा म कहिले पनि रहिन । एक दिन कार्यक्रम गरेर केही हुँदैन । आज खास केही कार्यक्रम छैन । अरु दिन जस्तो हुन्थ्यो, त्यस्तै नै हो आज पनि मेरो । आज पनि ‘स्ट्रङ रहुँ,  कसैबाट पनि ‘डोमिनेटेड’ नहोउँ भनेर काम गर्नेछु । अरु दिन पाएको अवसर आज पनि पाउन सकुँ । 

एक दिन नारी दिवस मनाउँदैमा केही हुँदैन भनेर भनिरहँदा उच्च पदमा पुगेका प्रशासकदेखि राजनीतिको नेतृत्वमा पुगेका महिला पनि नारी दिवस मनाउनमै केन्द्रित भैरहेका छन्, किन होला ?
दिवस मनाइने भएकाले नै हो । जुन कुुरा ‘डोमिनेटेड’ हुन्छ, त्यो नहोस् भनेर सार्वजनिक रुपमा सन्देश दिन पनि यसो गरिन्छ । मेरो विचारमा जुन दिन हामी नारी दिवस भनेर बिर्सिन्छौं, त्यो दिन नेपालमा पनि नारी र पुरुषबीच समानता भैसकेको हुनेछ, त्यतिबेला हामीले दिवस मनाउनै पर्दैन । त्यो दिनको प्रतीक्षा गर्न त्यहीअनुसारको काम गर्नुपर्छ । दिवसमात्रै मनाएर केही हुँदैन । 

नेपाल त्यस्तो राष्ट्र हो, जहाँ एकैपटक महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश भएका थिए । नेपालमा महिलाले अधिकार पाएनन् भन्न मिल्छ ? 
दुई–तीन वटा पोष्टमा महिला पुग्नुभयो भन्दा पनि जन्मदेखि नै पाउने समान अवसर महत्वपूर्ण कुरा हो, यसबाट मूल्यांकन गर्न सकिन्छ । जन्मजात महिला र पुरुषले पाउने अधिकार तथा न्यूनतम आवश्यकताका कुराहरु कसले पायो ? त्यसले अर्थ राख्छ । जन्मनेबित्तिकै बालकसरह सबै पक्षमा बालिकाको पहुँच हुँदैन, घरबाटै विभेदको श्रृंखला सुरु हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जन्मजात नै नारीले अधिकार पाउनुपर्छ । नारीलाई महिलाभन्दा पनि मानवताको दृष्टिले सुरुमा हेरिनुपर्छ । महिलालाई वस्तु वा सामान अथवा आकर्षणको केन्द्रका रुपमा हेरिनु भएन । हाम्रै चलचित्र क्षेत्रमा पनि सुन्दरताभित्र कला खोज्ने प्रयास गरिन्छ । मलाई लाग्छ, यसको ठिक उल्टो हुनुपर्छ, अर्थात् कलाभित्र सुन्दरता खोजिनुपर्छ । मान्छे कामले सुन्दर हुनुपर्छ । बाहिरी आवरणमा केन्द्रित हुनु हुँदैन । महिलाले पनि आवरणको सुन्दरतालाई ध्यान दिने भएकाले पनि हामी धेरै क्षेत्रमा पछि परेका छौं जस्तो लाग्छ । 

व्यवहारिक परिर्वतनतर्फ तपाईंको संकेत रह्यो । यसका लागि के गर्नुपर्छ ?
सोचमा परिवर्तन आउनुपर्छ । जबसम्म सोचमा परिवर्तन आउँदैन, तबसम्म समानता र समातामूलक समाजको परिकल्पना गर्न सकिँदैन । दुईतीन जना महिला मेजर पोष्टमा पुग्दैमा समानता भयो भन्नेमा म विश्वास गर्दिन । 

अधिकारका हिसाबले नेपालमा नारी पछाडि छैनन्, यो तथ्य संविधान तथा कानुन हेरे पुग्छ । यसको अर्थ महिलाले प्राप्त अवसर ‘क्यास’ गर्न सकेनन् भन्दा न्याय हुन्छ कि अन्याय ?
अधिकार र अवसर दिँदादिँदै पनि महिला प्रतिस्पर्धामा पछि पर्छन् भने मेरो भन्नु केही छैन । त्यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । किनकी क्षमताको कदर हुनुपर्छ । यस्तो अवस्थामा समाज र राज्यको गल्ती हुँदैन । तर जन्मजात नै लिङ्गका आधारमा विभेद गर्नु हुँदैन । छोरीलाई पाखा र छोरालाई काखा गर्ने परम्परा छ भने त्यसको अन्त्य हुनुपर्छ ।

मान्छेलाई मान्छेका रुपमा हेरिनुपर्छ । पछिल्लो समय साक्षरता दर बढ्दैछ । बुझाइमा सकारात्मक परिवर्तन आउन थालेको छ । नारी र पुरुष जबसम्म समान हुँदैनन्, तबसम्म समाजको विकास हुँदैन । पछिल्लो समय अवसर आउँदै गएका पनि छन् । यदि सुरुदेखि नै यो अवस्था हुन्थ्यो आज यो कुरा गर्नै पर्दैनथियो । 

नारीमाथि विभेद हुनुको मुख्य कारण के हो ?
सामाजिक मूल्यमान्यता पनि हो । लैंगिक रुपमा महिलाहरु केही कमजोर हुन्छन्, शारीरिक बनावटका आधारमा पनि नारी पुरुषभन्दा केही कमजोर हुन्छन् । यही कारण पनि महिलामाथि विभेद हुने गरेको होला जस्तो लाग्छ । महिलाले महिलाको वा पुरुषले त्यस्ता महिलाको कुरा काट्ने गर्छन्, जो चुलोचौको छोडेर घर बाहिर निस्किन्छन् । यो सामाजिक सोचको उपज हो । यसको अर्थ महिलाले पनि पुरुष सरह काम नगरोस् भनेरै हो । सबै यस्तो संकुचित सोच भएको हुनुहुन्न तर अधिकांशमा यो सोच अझै छ । 

तपाईं क्रियाशील रहेको चलचित्र क्षेत्रमा अन्य क्षेत्रको तुलनामा अझ बढी महिलामाथि हिंसा हुन्छ भनिन्छ, हो ?
समाजको सबै क्षेत्रमा महिला विभेदमा छन् । हाम्रो क्षेत्रबारे धेरैलाई चासो हुने र सञ्चारमाध्यबाट बाहिर आउने भएकाले मात्रै हो । जबसम्म समाज परिवर्तन हुँदैन, यो अवस्था रहिन्छ । प्रत्येक व्यक्तिको सोचमा परिवर्तन नआएसम्म यो हट्दैन । महिला आफैं पनि म सक्षम छु र बलियो छु, त्यसैले आत्मनिर्भर छु भनेर सोच्दैनन्, तबसम्म हामी आफैं पनि अगाडि बढ्न सक्तैनौं । 

पब्लिसिटीका हिसाबले पुरुषभन्दा महिला पात्र सधैं चलचित्रमा अगाडि हुन्छन् तर नायिकाले न्यून पारिश्रमिक पाउँछन् । यो पनि विभेद हो नि हैन र ? 
हो । यो नेपालमा मात्रै नभएर विश्वमै यस्तै छ । विश्वमै यस विषयमा बहस पनि भैरहेको छ । हलिउडमै पनि यस्तो हुन्छ । हलिउडमा पनि यौन हिंसाका घटना बाहिर आउँछन् । यो वर्ष ‘मिटु’ अभियानै चल्यो । जसलाई हामी आदर्श ठान्छौं, त्यहाँ पनि यस्ता घटना बाहिर आइरहेका छन् भने हाम्रोमा यस्ता घटनाहरु बन्द हुन अझै समय लाग्छ होला । 

चलचित्रमा नारी चरित्र अक्सर पुरुष पात्रकै छायाँमा हुन्छन्, तपाईं आफैं पनि चलचित्र निर्माणमा प्रवेश गर्नुभएको छ । महिला केन्द्रित विषय उठान गर्ने सम्भावना कत्तिको छ ?
सबै कुरामा विस्तारै परिवर्तन आउने हो । कतिपय कुरामा हामी सकारात्मक पनि हुनुपर्छ । नारीलाई केन्द्रमा राखेर पनि चलचित्रका कथा लेखिएका छन् । दर्शकले त्यसलाई कसरी लिनुभएको छ, त्यो आफ्नो ठाउँमा छ । तर, त्यो प्रयोग पनि हामीले गरिसकेका छौं । चलचित्र भनेको मनोरञ्जनका लागि बनाइन्छ र योसँगै समाज कस्तो हुनुपर्छ भनेर सन्देश दिन चाहिँ चलचित्रबाट सकिन्छ । तर जीवन नै परिवर्तन गर्न भने सकिँदैन । स्टोरीलाइनमा बसेर काम गर्नुपर्छ । चलचित्रको सीमाभित्र बसेर सक्दो प्रयास मैले गर्दै आएको छु र यो प्रयास सधैं रहनेछ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १३:३५
प्रतिक्रिया दिनुहोस्