काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अप्रत्याशित पराजयपछि आन्तरिक किचलोमा फसेको नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनका लागि पनि अलमलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवाकै कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको तर्क गर्दै संस्थापन पक्षइतरका नेताहरु गुटगत भेलामा सक्रिय छन् ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गए पनि कांग्रेसले निर्वाचनमा कसरी सहभागिता जनाउने भन्नेबारेमा स्पष्ट रुपमा कुनै धारणा तय गर्न सकेको छैन । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा उमेदवारी दिने कि नदिने भन्नेबारेमा कांग्रेसमा छलफल नै नभएको बताइएको छ । आज (बिहीबार) का लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि स्थगित भएको छ ।
पार्टीभित्रको आन्तरिक किचलो र निर्वाचनमा पराजय व्यहोरेका कारण कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म स्पष्ट धारणा तय गर्न नसकेको बताइएको छ । सभापति देउवाका विश्वासपात्र मानिने कांग्रेस नेता बालकृष्ण खाँणले राष्ट्रपतिय निर्वाचनका लागि पार्टीमा अहिलेसम्म कुनै छलफल नै नभएको बताए । ‘‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कसरी जाने, कसलाई अघि सार्ने भन्नेबारेमा केही छलफल भएको छैन्,’’ उनले बाह्रखरीसँग भने, ‘‘अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिय निर्वाचनको विषयमा छलफल गरेर पार्टीले निर्णय गर्छ ।’’
कांग्रेस प्रवक्ता विशवप्रकाश शर्मा भने राष्ट्रपति निर्वाचनका लागि अझै समय बाँकी रहेकाले हतारिनु नपर्ने बताउँछन् । फागुन २१ गते प्रतिनिधिसभा सदस्यहरुले शपथ ग्रहण गरिसकेपछि पनि राष्ट्रपतिको निर्वाचनका लागि समय बाँकी रहने भएकाले अहिल्यै केही हतार नभएको उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेसभित्र छलफल भने नभएको उनले बताए । ‘‘राष्ट्रपति निर्वाचनको विषयले पार्टीमा प्रवेश पाएको छैन । तर, ठिक समयमा ठिक ढंगले निर्णयमा पुग्छौं,’’ उनले भने ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक कहिले बस्छ भन्नेबारेमा पनि कुनै टुंगो लागेको छैन । आजका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । संसदीय दलको नेता चयन, चुनावी समीक्षालगायत विषयमा पार्टीभित्र जारी आन्तरिक एजेण्डाहरुको छलफलले पूर्णता नपाएका कारण बैठक स्थगित गरिएको उनको भनाइ छ ।