काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टी सभापति देउवाविरुद्ध खरो रुपमा उत्रिँदै आएका नेता सिंहले दलको नेता बन्नका लागि आफू निकटका व्यक्तिहरुसँग छलफल चलाइरहेको बताइएको छ ।
‘‘एक्लै लड्ने भन्ने हुँदैन, चुनाव भनेको टिमको कुरो हो,’’ नेता सिंहका सहयोगी युपी लामिछानेले बाह्रखरीसँग भने, ‘‘उहाँ इन्ट्रेस्ट मिल्नेहरुसँग संसदीय दलको नेताका लागि छलफल गरिरहनु भएको छ ।’’
पौडेल पक्षलाई पूर्ण रुपले एकतावद्ध गरेर सिटौला पक्षको समर्थन जुटाउन सके सभापति देउवालाई सहजै पराजित गर्न सकिने मनोबलका साथ संसदीय दलको नेताका लागि सिंहले ‘लविङ’ चलाएको पौडेल पक्ष निकट एक केन्द्रीय सदस्यले बताए ।
तर, १३ औं महाधिवेशनताकाको लेखाजोखा गर्दा सभापति देउवालाई पराजित गर्न सिंहलाई हम्मेहम्मे पर्ने स्रोतको भनाइ छ । ‘‘पुरानो गुटगत लेखाजोखा हेर्ने हो भने देउवाकै पल्ला भारी हुन्छ । पुरानो गुटलाई नभत्काएसम्म सिंहलाई संसदीय दलको नेता बन्न अत्यन्तै गाह्रो छ,’’ स्रोत भन्छ ।
यद्यपि, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले ब्यहोर्नुपरेको पराजय, चुनावी समीक्षाका लागि सभापति देउवाले गरेको ढिलाइ र युवा नेताहरुको नेतृत्व परिवर्तनको ‘लविङ’ हेर्दा पौडेल पक्ष पूर्ण रुपमा एकतावद्ध भएर संसदीय दलको नेताका लागि चुनावमा होमिने अनुमान गरिएको छ ।
त्यस्तै, १३ औं महाधिवेशनमा देउवा पक्षलाई सघाएको सिटौला पक्षले आगामी दिनमा नसघाउने निश्चितप्रायः छ । ‘‘युवा नेता गगन थापाले चुनावपछि दिइरहेको वक्तव्यले सिटौला पक्ष संस्थापन पक्षसँग असन्तुष्ट देखिएको प्रष्टै छ,’’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘‘यस्तो अवस्थामा सिटौला समूहले सिंहलाई सघाउँदा उनले जित्न सक्छन् ।’’
सभापति देउवा भर्खरै सरकारबाट बहिर्गमन भएका र तत्काल कांग्रेस सरकारमा जाने सम्भावना नभएका कारण पनि संस्थापन पक्षकै केही मतहरु ‘चोर्न’ सकिनेमा पौडेल पक्ष आशावादी देखिएको छ । ‘‘चुनावमा नराम्ररी हारेकाले कांग्रेसको सरकार बन्ने सम्भावना नै छैन । यो अवस्थामा प्रतिनिधिसभा सदस्यहरुलाई मन्त्री बन्ने लोभ–लालच पनि हुँदैन, जसले गर्दा पार्टीभित्र परिवर्तन चाहने देउवा पक्षकै केही मत चोर्न सकिन्छ,’’ पौडेल पक्षका एक युवा नेताले भने ।
तर, संस्थापन पक्ष भने सभापति देउवा नै पार्टी संसदीय दलको नेताका लागि निर्विकल्प भएको दावी गर्दछ । पार्टीभित्र सर्वसम्मत हुने अवस्था निर्माण भइनसकेको र कसैले ‘च्यालेन्ज’ पनि नगरेकाले सभापति देउवा नै दलको नेताका रुपमा देखिएका संस्थापन पक्षको भनाइ छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित भएका कारण सोही समूह नजिक मानिने नेता सिंहले दलको नेताका लागि इच्छा प्रकट गर्नुलाई संस्थापन पक्षले स्वाभाविक रुपमा लिएको छ । ‘‘रहर गर्न जसले पनि पाउँछ । उहाँमा केही असन्तुष्टि देखिएकाले आक्रोश पोखिरहनु भएको हो,’’ सभापति देउवाका विश्वासपात्र मानिने कांग्रेस नेता मीन विश्वकर्माले बाह्रखरीसँग भने, ‘‘तर उहाँ सभापतिको विकल्प हुन सक्नुहुन्न ।’’
नेता सिंह संसदीय दलको नेता बने कांग्रेसमा थप भार पर्ने दावी गर्दै उनले सभापति देउवालाई सर्वसम्मत नेता स्वीकार गर्न नसकिए पार्टी झनै गुटबन्दीमा फस्ने जिकिर गरे । ‘‘हाम्रा सामु पार्टीलाई मजबुत बनाएर लैजाने अवस्था आएको छ,’’ नेता विश्वकर्माले भने, ‘‘पार्टीलाई बलियो बनाउन सभापतिलाई नै संसदीय दलको नेता मान्नुको विकल्प छैन ।’’
वरिष्ठ नेता पौडेलले सभापति देउवा र नेता सिंहमध्ये कसैलाई पनि दलको नेताका लागि कुनै आश्वासन नदिएकाले पनि सहमतिमै नेता चयन हुनेमा संस्थापन पक्ष ढुक्क देखिन्छ । ‘‘पार्टी सभापति र महामन्त्रीबीच सहमति भए संसदीय दलको नेताका लागि चुनाव गर्नै पर्दैन,’’ नेता विश्वकर्माले भने ।