site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा ‘सात भाइ समूह’ सक्रियता बढाउँदै, प्रवक्ता शर्मा भन्छन्– म कुनै समूहको हुन मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसलाई सुदृढीकरण गरेर आगामी ५ वर्षभित्रमा बलियो पार्टीका रुपमा स्थापित गर्ने संकल्प लिएका युवा नेताहरुले आफ्नो अभियानलाई देशव्यापी रुपमा अघि लैजाने तयारी गरेका छन् । पार्टी सुदृढीकरणको अभियानलाई देशव्यापी रुपमा अघि लैजान चन्द्र भण्डारी नेतृत्वमा रहेको युवा नेताहरुको ‘सात भाइ’ समूहले बिहीबार राजधानीमा आन्तरिक छलफल गरेको छ ।

तर उक्त छलफलमा ‘सात भाइ’ मध्येका एक प्रवक्ता विश्वप्रकाश शर्मा भने अनुपस्थित थिए । समूहमा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डेय र प्रदीप पौडेल छन् । 

बैठकमा अभियानलाई अगाडि बढाउँदै जाँदा पार्टीभित्र र बाहिरबाट आउने सम्भावित चुनौती, अभियानको ढाँचा, अभियान सञ्चालन गर्न चाहिने आवश्यक तयारीलगायत बारेमा छलफल भएको बताइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘सात भाइ’ समूहले पार्टी पुनर्गठन, आगामी दिनमा आउने चुनौतीको सामना, राष्ट्रियताको रक्षा, भावी सरकारलाई युरोपेली मुलुकका कम्युनिष्टझंै तानाशाह हुन नदिन कांग्रेसले चाल्नुपर्ने कदम, मतदाताको चाहना सम्बोधनका लागि गर्नुपर्ने कामहरु तथा केन्द्रीय समिति र महासमिति बैठकमा चलाउनुपर्ने बहसका बारेमा अभियानबाट सल्लाह–सुझाव संकलन गर्ने लक्ष्य राखेको छ ।      

बैठकले अभियान सफल बनाउन छिट्टै नै राजधानीमा विभिन्न वर्गको सहभागितामा भेला आयोजना गर्ने निर्णय गरेको छ । भेला आयोजना गर्ने मिति तय नगरिए पनि उक्त भेलामा राजनीतिक र गैरराजनीतिक व्यक्तिहरुलाई सहभागि गराइने समूहको संयोजन गरिरहेका कांग्रेस नेता भण्डारीले जानकारी दिए । 

‘‘बैठकले चाँडै नै काठमाडौंमा सबै वर्गको सहभागितामा भेला आयोजना गर्ने निर्णय गरेको छ,’’ उनले बाह्रखरीसँग भने, ‘‘भेलाबाट आएका सल्लाह–सुझावका आधारमा हामी हाम्रो पार्टी सुदृढीकरणको अभियानलाई देशव्यापी रुपमा लैजान्छौं ।’’

गत पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर भण्डारीसहितका सात जना युवा नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठक डाक्नुपर्ने लिखित माग गरेका थिए । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोर्नुमा पार्टी सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको दावी गर्दै नेतृत्व परिवर्तनको माग पनि उठाउँदै आएका छन् । 

तर, उनीहरुसँगै रहेका युवा नेता शर्मालाई सभापति देउवाले पार्टी प्रवक्तामा नियुक्त गरेपछि उनी ‘सात भाइ’ समूहको बैठकमा अनुपस्थित रहँदै आएका छन् । ‘राजनीति एजले होइन एजेण्डाले चल्छ’ भन्दै आएका प्रवक्ता शर्मा आफू नेतृत्व परिवर्तनको पक्षमा नभएको दाबी गर्छन् । 

बिहीबार बसेको ‘सात भाइ’ समूहको बैठकमा आफू अनुपस्थित रहेको पुष्टि गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘‘म सिंगो कांग्रेसको प्रवक्ता हो । सात भाइको पनि हो, अन्य भाइहरुको पनि हो । कुनै एउटा समूहको मात्रै हुुन मिल्दैन । तर पनि हामीबीच अनौपचारिक ढंगबाट छलफल चलिरहेको छ ।’’ 

शर्मालाई पार्टीको प्रवक्ता नियुक्त गरेपछि सभापति देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा युवा नेताहरुले आफ्नो एजेण्डामा बहस चलाउन नसकेका कारण ‘सात भाइ’ समूह निष्कृयजस्तै भएको कांग्रेसभित्रै चर्चा छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १३:२६
प्रतिक्रिया दिनुहोस्