site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठकमा नेतृत्वको चर्को आलोचना, देउवा भन्छन्– महासमिति बोलाउन तयार छु 
SkywellSkywell

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्य, कोइराला परिवारदेखि ‘सात भाई’ समुहका युवा नेताहरु रहेका छन् । 

KFC Island Ad
NIC Asia

कोइराला परिवारसँग निकट मानिने पूर्व सिँचाई मन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरे । उनी प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट छन् । 

‘‘कांग्रेस नेतृत्वको सरकारले हिजो (बुधबार) प्रदेशको अस्थायी राजधानी तोकेको प्रति धारणा राखेको छु’’, बैठक सुरु भएको एक घण्टा मै बाहिरिएका नेता गिरीले भने, ‘‘नेतृत्व मनोमानी ढंगबाट एकलौटी रुपमा प्रदेश राजधानी तोकेको प्रति मेरो सहमति छैन ।’’ 

Royal Enfield Island Ad

बैठक बहिष्कार गर्नु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिक्रिया दिए, ‘‘असहमति राखेर निस्केको हुँ । अव बाँकी तपाईहरु आफै बुझ्नुस् ।’’ 

नेता गिरीले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गरेर बाहिरिएको केही समय पछि बैठक स्थलबाट बाहिरिएका नेतृ सुजाता कोइरालाले आफु कुनै कुरा नराखेरै बाहिरिएको बताइन् । उनले बैठकलाई राष्ट्रिय सभा निर्वाचनमा मात्रै केन्द्रीत गरेकोप्रति आफु असन्तुष्ट रहेको प्रष्ट पारिन् । 

‘‘हामी चुनावको समीक्षा हुनु पर्छ भन्नेमा छौं तर आज अपर हाउसका बारेमा मात्रै छलफल केन्द्रित भयो,” उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘‘यसमा मेरो असहमति छ । बाँकी कुरो अर्को बैठकमा राख्छु ।’’ नेतृ कोइराला नेतृत्वको कमजोरी र एकलौटी निर्णयका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित हुनु परेको बताउँदै आएकी छन् । 

केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखिरहँदा सभापति देउवा बैठक छाडेर बाहिरिएका थिए ।

बैठकमा केही नेताहरुले नेता रामचन्द्र पौडेललाई पार्टीभित्र देखिएको असन्तुष्टिका विषयमा कुरा उठाउन आग्रह गरेका थिए ।

नेता पौडेलले ‘यसरी पार्टी चल्दैन’ भन्दै देउवा पक्षका नेताहरुसँग अनौपचारिक रुपमा आफ्नो आक्रोश पोखेका थिए । सोही क्रममा नेता अर्जुननरसिंह केसीले पौडेललाई भने, ‘‘तपाईँ अगाडि बढ्नुस्, पछाडि हामी छदैछौं भनेकै छौँ त ।’’ 

बैठकको सुरुवातमा यसो भनेका थिए सभापति देउवाले  
 

‘नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली कांग्रेसकै नेतृत्वमा पूरा भएको छ । संविधान निर्माणपछि अन्ततः तराई मधेसमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचनको प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेसको नेतृत्वका सरकार र सिंगो कांग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ । लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि म प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गर्न चाहन्छु । 

सम्पन्न निर्माणको परिणाम हाम्रो पार्टी अनुकूल आउन सकेन । पराजयको पछिल्तिर हाम्रा अन्य जे–जे कारण होलान् ती सबैका सन्दर्भमा समय लिएर व्यापक रुपले गम्भीर समीक्षा र छलफल एवंम् अन्तरक्रिया गर्न जरुरी छ ।

सभापतिका नाताले सम्पूर्ण साथीहलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु । निकट भविष्यमा पार्टीको महासमितिको बैठक बस्नेछ । राज्यको पुनर्संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले निर्देशन गर्नेछ । मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन हामीले गर्न जरुरी छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १० गते उम्मेदवार चयन र चुनावको तयारीमा केन्द्रित हुनुपर्नेछ । 

अतः साथीहरुबाट यसमा केन्द्रित रहेर राय सुझाव अनुरुप हामी अघि बढ्नेछौं । तत्काल केही दिन मै केन्द्रीय समिति र कार्यसमितिको फेरि अर्को बैठक बोलाई पुनः छलफल र लामो बहस गरिने छ ।’’ 

के मुद्दा उठ्यो बैठकमा 

बालुवाटारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षइतरका केन्द्रीय सदस्यहरुले विभिन्न मुद्दा अघि सारेर चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरुले नेतृत्व विधान विपरित चलेको, नेतृत्वले एकलौटी रुपमा पार्टी हाँकेको, नेतृत्वकै कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको, पार्टी संसदीय समिति र केन्द्रीय कार्य सम्पादन समिति बिघटन हुनुपर्ने, चुनावको समीक्षा, पार्टी शुद्धीकरण गर्नुपर्ने लगायतका विषयहरुमा आ–आफ्नो धारणा राखेका छन् ।  

के गरे युवा नेताहरुले ?

पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, बद्री पाण्डेय, गुरुराज घिमिरे र प्रदीप पौडेलले संयुक्त विज्ञप्ती जारी गरेर कांग्रेसको राजनीतिमा तरंग पैदा भएको थियो ।

ती मध्येका एक शर्मा पार्टी प्रवक्ता भए पछि सभापति देउवा प्रति ‘नरम’ देखिएका छन् । यद्यपी उनी पार्टी प्रवक्ता हुनुअघि र भइसकेपछि पनि समान एजेण्डामा रहेको दावी गर्छन । आफु राजनीति ‘एजले होइन, एजेण्डाले हुनुपर्छ’ भन्ने स्पष्ट मान्यतामा अडिक रहेको जिकिर गर्छन । 

केन्द्रीय कार्यसमिति बैठकमा ‘सात भाई’ समुह मध्येका नेता गगन थापा अनुपस्थित थिए । उनी अनुपस्थित हुनुको कारण केही नखुलेपनि कांग्रेस प्रवक्ता शर्माले व्यक्तिगत कामले व्यस्त रहेकाले युवा नेता थापा बैठकमा आउन नसकेको प्रष्टिकरण दिए । 

‘सात भाई’ समुहका नेताको संयोजन गरिरहेका नेता चन्द्र भण्डारीले बैठकमा छिटोभन्दा छिटो निर्वाचनको समीक्षा गर्नुपर्ने र नेतृत्वको मनोमानी रोक्नुपर्ने धारणा राखेको प्रतिक्रिया दिए । ‘‘आजको बैठकमा माथिल्लो सदनको उमेदवारका निम्ति क्राइटेरिया तोक्न बसेको हो । मैले छिटोभन्दा छिटो चुनावको समीक्षा गर्नुपर्छ भनेको छु,’’ उनले भने, ‘‘समीक्षा बैठक यसपछि बस्छ । तर पनि आजको बैठकमा एकदमै चर्काचर्की भएको छ ।’’  

नेता धनराज गुरुङले बैठकमा आफुलगायतका नेताहरुले पार्टी शुद्धिकरण गर्नुपर्ने, संसदीय बोर्ड र केन्द्रीय कार्य सम्पादन समिति विघटन गर्नुपर्ने, चुनावको समीक्षा गर्नुपर्ने लगायतका विषय उठाएको धारणा राखे ।

नेता प्रदीप पौडेलले बैठकमा पार्टीभित्र अहिलेसम्म विधान पालना नभएको र आगामी दिनमा एकलौटी रुपमा अघि बढे आफुहरुलाई मान्य नहुने धारणा राखेका छन् ।

‘‘परम्परागत ढंगबाट चलिरहेको पार्टीलाई विधानले निर्दिष्ट गरेअनुसार चलाउनुपर्छ,’’ उनले भने, ‘‘अन्यथा आफुहरुलाई नेतृत्वको मनोमानी स्वीकार्य नहुने धारणा राखेको छु ।’’ 

उनले बैठकमा नेतृत्वको राजीनामा र महासमिति बैठकका विषयमा कुनै कुरा नउठेको जानकारी दिए । यसअघि कांग्रेसका युवा नेताहरु निर्वाचनमा पार्टीले ब्यहोरेको पराजयको जिम्मेवारी लिएर नेतृत्वले राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठाउँदै आएका थिए । 

के भन्छन् संस्थापन पक्षीय नेता
 

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा निकट नेताहरुले पनि केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न एजेण्डाहरु चर्को रुपमा उठेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारपछि पहिलोपटक बसेको बैठकमा असन्तुष्टि प्रकट हुनुलाई स्वाभाविक रुपमा लिएका छन् । 

केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘‘बैठकमा विभिन्न किसिमका कुराहरु उठेका छन् । नेताहरुबीच चर्काचर्कीसम्म भएको छ ।’’

अर्का केन्द्रीय सदस्य एनपी सावदले बैठकमा निर्वाचन सम्बन्धी कुराहरु उठेको स्वीकार गर्दै चुनावको परिणामप्रति असन्तुष्ट नेताहरुले राष्ट्रिय सभाको चुनावपछि निर्वाचन परिणामबारे छलफल गर्ने बताएको जानकारी दिए । 

‘‘बैठकमा निर्वाचन सम्बन्धी कुरा राख्ने साथीहरुले राष्ट्रिय सभा चुनावपछि छलफल गर्छौं भन्नुभएको छ,” उनले बाह्रखरीसँग भने ।

उनले संसदीय समिति र केन्द्रीय कार्य सम्पादन समितिलाई विधान विपरित भन्न नमिल्ने जिकिर गरे । पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको सहमति अनुसार दुवै समितिहरु गठन भएकाले त्यसलाई विधान विपरित भन्न नसुहाउने उनको भनाई छ । 
तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro