काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य (वडा नं. ९ का वडा सदस्य) भावना श्रेष्ठसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेको अर्को व्यक्ति पोखरा महानगरपालिका–२६ बस्ने रविनकुमार श्रेष्ठ छन् । दायर गरिएको मुद्दामा अख्तियारले जनही दुई लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
पोखरा महानगरपालिका न्यायिक समितिको सदस्य भावनासमेतलाई बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविनले दुई लाख रुपैयाँ घुस दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा भावनाले बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविनको पक्षमा निर्णय गर्न दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।