site stats
बाह्रखरी :: Baahrakhari
देश
महिलाले ६ र पुरुषले १० पटक दिन मिल्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिम्ब र वीर्यदानसम्बन्धी नयाँ मापदण्ड स्वीकृत गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विभिन्न सीमा तोकेर मापदण्ड ल्याइएको हो । 

“मन्त्रालयले डिम्ब र वीर्यदान मात्रै नभई विभिन्न मापदण्ड ल्याएको छ । दान गर्नेहरूको स्वास्थ्य अवस्था, कति पटक, कति समय, कस्तो व्यक्ति, कुन उमेर समूहका मानिसले गर्न पाउने भन्ने लगायतका प्रावधान तोकिएको छ,” डा. बुढाथोकीले बाह्रखरीसित भने । 

एक महिलाले जीवनमा ६ पटकसम्म डिम्बदान गर्न पाइने 
निःसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२ अनुसार, एक महिलाले जीवनमा ६ पटकसम्म डिम्बदान गर्न पाइनेछ । 

दान गर्ने व्यक्तिको स्वास्थ्य अवस्थाको जाँच अनिवार्य रूपमा गर्नुपर्नेछ । त्यस्तै, डिम्बदान गर्ने महिलाको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने छ । तीन–तीन महिनाको फरकमा जीवनभर ६ पटकमात्रै डिम्बदान गर्न पाइनेछ । 

डा. बुढाथोकी भन्छन्, “महिलाको डिम्ब ढिलो गरी बन्छ । त्यसैले तीन महिनाको अन्तरमा दान गर्न मिल्ने व्यवस्था हो । महिलाले जीवनभर ६ पटक मात्रै डिम्बदान गर्न पाइन्छ ।”

डिम्बदान गर्ने महिलाको मन्जुरी अनिवार्य रूपमा लिनुपर्ने र विवाहित महिलाले डिम्बदान गर्न चाहेमा श्रीमान् र श्रीमती दुवैको मञ्जुरी र सहमति आवश्यक पर्ने उनले बताए । 

पुरुषले १५ दिनको फरकमा १० पटकसम्म वीर्यदान 
एक पुरुषले १५ दिनको अन्तरमा अधिकतम १० पटकसम्म मात्र वीर्य दान गर्न पाउने व्यवस्था उल्लेख गरिएको छ । वीर्यदान गर्नका लागि पनि २० देखि ३५ वर्षको उमेर समूह तोकिएको छ । 

दान गर्ने व्यक्तिको परिचय गोप्य राखिने र प्रलोभनमा पारेर वा जबरजस्ती गराउन नपाइने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, दान गर्ने व्यक्तिले विभिन्न स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्नुपर्ने प्रावधान छ । “महिलाको तुलनामा पुरुषको वीर्य छिटो–छिटो बन्छ । त्यसैले पुरुषले १५ दिनको अन्तरमा वीर्यदान गर्न मिल्ने व्यवस्था ल्याइएको हो,” उनले भने, “१५ दिनको अन्तरमा भन्दैमा जीवनभर जतिपटक पनि वीर्यदान गर्न पाउने भने होइन । महिलाले जीवनभर ६ पटक डिम्बदान गरेजस्तै, पुरुषले जीवनभर १० पटकसम्म मात्रै वीर्यदान गर्न मिल्छ ।”

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्