
काठमाडौं । एन्फा महिला लिग छनोटमा छाहारी युवा क्लबले विजयी सुरुवात गरेको छ । बिहीबार छाहारीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न लिगको उद्घाटन खेलमा छाहारीले एफसी रियलेलाई ३–० ले पराजित गरेको हो ।
छाहारीको जितमा सुमित्रा सिंह पाख्रिन, ललिता मण्डल र सानीमाया लोले समान एक–एक गोल गरिन् । सातौँ मिनेटमा छाहारीकी ललिता मण्डलले टोलीलाई अग्रता दिलाइन् । ललिताले दुई खेलाडीलाई बिट गर्दै गोल गरेकी थिइन् ।
१९औँ मिनेटमा छाहारीकी कप्तान सुमित्रा सिंह पाख्रिनले अग्रतालाई दोब्बर बनाइन् । सुमित्राले पेनाल्टी बक्स नजिकैबाट शक्तिशाली प्रहार गर्दै बललाई जाली चुमाइन् ।
६१औँ मिनेटमा छाहारीकी सानुमाया लोले अग्रतालाई ३–० को अवस्थामा पुर्याइन् । सानीमायाले १८ यार्ड बक्सभित्र दुई डिफेन्डरलाई बिट गर्दै चालाखीपूर्ण गोल गरिन् ।
खेलमा रियलेले गोल फर्काउने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न भने सकेको थिएन ।
५८औँ मिनेटमा रियलेकी फुलमाया तामाङ गोल गर्नबाट चुकिन । फुलमायाले टोलीकी एन्जल स्यांगबाको कर्नर पासमा गरेको प्रहार पोस्टबाट बाहिरिएको थियो ।
पाँचौँ मिनेटमा रियलेले गोल गर्न सुनौलो अवसर गुमायो । रियालेकी पुजा थेवेको फितालो प्रहार छाहारीकी अनिता महतोले सहजै नियन्त्रण्मा लिएकी थिइन् ।
खेल वर्षका कारण दुई मिनेट स्थगित गरिएको थियो ।
छनोटमा १४ वटा टिम सहभागी छन् । दुई समूहमा विभाजित टिममध्ये पाँच टिमले राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् ।