site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले प्रस्ताव गरेको ‘जमिन साटासाट’ के हो ? युक्रेनको कति क्षेत्र रूसको कब्जामा छ ?

काठमाडौं । रूस र युक्रेनबीचको युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समय बितिसकेको छ । तर, शान्तिको आशा अझै धमिलो नै छ । शुक्रबार अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामबारे छलफल गर्न प्रत्यक्ष भेट गर्दै छन् । 

तर, ह्वाइट हाउसले ट्रम्प यो शिखर सम्मेलनमा केवल सुन्ने उद्देश्यले सहभागी हुने बताएपछि रूस–युक्रेनबीच चाँडै युद्धविराम सम्झौताको सम्भावना कम भएको छ ।
 
यसबीच, ट्रम्पले युद्धविरामका लागि रूस र युक्रेन दुवैले जमिन छोड्नुपर्ने बताएका छन् । रूसले युक्रेनको कति क्षेत्रमा कब्जा गरेको छ र कुन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ? लडाइँ चलिरहेका क्षेत्रहरूको खुला स्रोत नक्साअनुसार युक्रेनको करिब एक लाख १४ हजार ५०० वर्ग किलोमिटर अर्थात् १९ प्रतिशत हिस्सामा रूसले कब्जा जमाएको छ । यसमा क्रिमिया र युक्रेनको पूर्वी तथा दक्षिण–पूर्वी क्षेत्रको ठूलो क्षेत्र समावेश छ ।

तर, युक्रेनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त कुनै पनि रूसी क्षेत्र नियन्त्रणमा लिएको छैन । रूसको कुनै क्षेत्रमा युक्रेनको कब्जा छैन ।

रूसले क्रिमिया, डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेर्सनलाई आफ्नो हिस्सा भएको दाबी गर्छ । यद्यपि, यी सबै क्षेत्रलाई सोभियत संघको विघटनपछि मस्कोले युक्रेनको हिस्साको रूपमा मान्यता दिएको थियो ।
 
युक्रेनले बारम्बार आफ्नो भूमिमाथिको रूसी कब्जालाई कहिल्यै मान्यता नदिने बताउँ आएको छ । अधिकांश देशहरूले सन् १९९१ को सीमालाई आधार मानेर युक्रेनको क्षेत्रलाई मान्यता दिन्छन् ।

क्रिमिया
सन् २०१४ मा रूसी सेनाले क्रिमियामाथि नियन्त्रण कायम गरेको थियो । क्रिमिया दक्षिणी युक्रेनमा ब्ल्याक सागरसम्म फैलिएको छ । रूसमा समाहित हुने विषयमा विवादास्पद जनमत संग्रहपछि मस्कोले यो क्षेत्रलाई रूसमा गाभेको थियो । 

यसको क्षेत्रफल करिब २७ हजार वर्ग किलोमिटर छ । रूसले क्रिमिया कानुनी रूपमा आफ्नो हिस्सा भएको दाबी गर्छ । युक्रेनले क्रिमिया आफ्नो भूभाग भएको अडान लिन्छ । यद्यपि, केही युक्रेनी अधिकारीहरूले व्यक्तिगत रूपमा बलपूर्वक क्रिमियालाई युक्रेनको नियन्त्रणमा फिर्ता ल्याउन निकै कठिन रहेको स्वीकार गर्छन् ।

१८औँ शताब्दीमा रूसकी महारानी क्याथरिन द ग्रेटले क्रिमियालाई रूसी साम्राज्यमा गाभेकी थिइन् । त्यसपछि तुरुन्तै सेभस्तोपोलमा रूसको ब्ल्याक सीमा नौसैनिक अड्डा स्थापना भएको थियो ।

डोनबास
पूर्वी युक्रेनको डोनबास क्षेत्रको करिब ४६ हजार ५७० वर्ग किलोमिटर वा ८८ प्रतिशत हिस्सा रूसले नियन्त्रणमा लिएको छ । यसमा सम्पूर्ण लुहान्स्क क्षेत्र र डोनेट्स्क क्षेत्रको ७५ प्रतिशत भाग समावेश छ ।
 
करिब ६ हजार ६०० वर्ग किलोमिटर क्षेत्र अझै युक्रेनको नियन्त्रणमा छ । तर, रूसले आफ्नो अधिकांश शक्ति डोनेट्स्कको मोर्चामा केन्द्रित गरेको छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रूस समर्थित पृथकतावादीहरूले सन् २०१४ मा युक्रेनी सरकारको नियन्त्रणबाट अलग भएर आफूलाई स्वतन्त्र जनगणतन्त्र घोषणा गरेका थिए ।
 
पुटिनले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्नुअघि यी क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए ।

जापोरिजिया र खेर्सन
रूसी सेनाले दक्षिणपूर्वी युक्रेनको जापोरिजिया र खेर्सन क्षेत्रको करिब ७४ प्रतिशत वा ४१ हजार १७६ वर्ग किलोमिटरमा नियन्त्रण कायम गरेको छ । युक्रेनले यी दुवै क्षेत्रमा करिब १४ हजार ५०० वर्ग किलोमिटर नियन्त्रणमा राखेको छ ।

खार्किभ, सुमी र निप्रोपेट्रोस
रूसले युक्रेनको खार्किभ, सुमी, मायकोलाइभ र निप्रोपेट्रोस क्षेत्रका साना हिस्साहरूमा पनि नियन्त्रण कायम गरेको छ । सुमी र खार्किभ क्षेत्रमा रूसले करिब ४०० वर्ग किलोमिटर नियन्त्रणमा लिएको छ । निप्रोपेट्रोसमा रूसको सीमाको नजिकै रहेको सानो क्षेत्र हो । रूसले आफ्नो कुस्र्क क्षेत्रलाई युक्रेनी आक्रमणबाट जोगाउन सुमिमा बफर जोन बनाइरहेको बताएको छ ।

कब्जा गरिएका क्षेत्रहरूको कानुनी स्थिति
रूसले क्रिमिया गणतन्त्र, सेभस्तोपोल, लुहान्स्क जनगणतन्त्र, डोनेट्स्क जनगणतन्त्र र जापोरिजिया तथा खेर्सन क्षेत्रहरूलाई रूसी संघको हिस्साको रूपमा वर्गीकरण गरेको छ । युक्रेनले भने यी क्षेत्रहरू आफ्नो हिस्सा भएको दाबी गर्छ ।

अधिकांश देशहरूले यी क्षेत्रहरूलाई रूसको हिस्साको रूपमा मान्यता दिँदैनन् । तर, सिरिया, उत्तर कोरिया र निकाराग्वाजस्ता केही देशहरूले क्रिमियालाई मान्यता दिएका छन् ।
 
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा क्रिमियाको रूसी कब्जालाई अवैध घोषणा गरेको र क्रिमियालाई युक्रेनको हिस्साको रूपमा मान्यता दिएको थियो । यो प्रस्तावको ११ देशले विरोध गरेका थिए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार कोसोभो र क्रिमियाको अवस्थालाई तुलना गरेका छन् । उनले पश्चिमी देशहरूमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् । जसले सर्बियाको इच्छाविपरीत सन् २००८ मा कोसोभोलाई स्वतन्त्र देशको रूपमा मान्यता दिए । तर, क्रिमियाको मान्यतालाई विरोध गरे । रूसले कोसोभोको स्वतन्त्रताको विरोध गरेको थियो ।

पुटिनको उद्देश्य के हो ?
सन् २०२४ मा पुटिनले युक्रेनले रूसले दाबी गरेका तर पूर्णरूपमा नियन्त्रणमा नलिएको क्षेत्रहरूबाट फिर्ता भए उनी शान्तिका लागि सहमत हुन तयार रहेको बताएका थिए । यो क्षेत्र हाल करिब २१ हजार वर्ग किलोमिटर छ ।  पुटिनले युक्रेनले आधिकारिक रूपमा नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा त्याग्नुपर्ने बताएका छन् । 

समाचार संस्था रोयटर्सले सन् २०२४ मा पुटिन ट्रम्पसँग युक्रेनसँग युद्धविराम सम्झौताबारे छलफल गर्न तयार थिए भन्ने समाचार सम्प्रेषण गरेको थियो । तर, उनले कुनै ठूलो भूभाग छुट दिन अस्वीकार गरे । युक्रेनले कुनै पनि मूल्यमा नेटोमा सामेल हुने महत्वाकांक्षा त्याग्नुपनेमा उनले जोड दिएका थिए । 

तर, केही स्रोतका अनुसार रूसले कब्जा गरेका क्षेत्रहरूबाट तुलनात्मक रूपमा सानो युक्रेनबाट पुटिन फिर्ता हुन तयार हुन सक्छन् । तर, शान्तिका लागि पुटिनको सर्तमा नेटोले पूर्वतर्फ विस्तार नगर्ने कानुनी प्रतिबद्धता जनाउनुपर्नेछ । तर, रूसले युक्रेनको तटस्थताको नीति अपनाएर उसको सेना घटाउने, रूसी भाषीहरूको सुरक्षा र रूसको क्षेत्रीय कब्जालाई स्वीकार गर्ने सर्र्तहरू अगाडि सारेको छ । एनडीटीभी वर्ल्ड

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्