site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकले सरकारलाई निर्देशन दिएको हो ।

समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगति समितिलाई उपलब्ध गराउन समितिका सभापति ठाकुरप्रसाद गैरेले समितिको तर्फबाट निर्देशन दिए ।

"त्रिवि क्रिकेट रंगशालाको कार्यप्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो, त्यो उपलब्ध गराउनू भनेर समितिले निर्देशन दिन्छ । समितिको तर्फबाट पत्राचार गर्दछौँ," उनलेभने ।

अहिले त्रिवि मैदानको स्तरोन्नतिको काम भइरहेको छ । जसमा प्यारापिट, फ्लडलाइट जडानको काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीबाट हर्जाना लगाएर काम भइरहेको छ ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्