site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनलाई प्याट्रियट मिसाइलसहित अमेरिकी हतियार पठाउने तयारी

काठमाडौं । युक्रेनलाई प्याट्रियट मिसाइलसहित अमेरिकी हतियार पठाइने भएको छ । स्वीडेन, नर्वे र डेनमार्कले युक्रेनलाई प्याट्रियट मिसाइलहरूसहित अमेरिकी हतियार आपूर्ति गर्न नेटो नेतृत्वको पहलमा ५०० मिलियन डलर योगदान गर्ने घोषणा गरेका छन् । यसले युक्रेनलाई रूसविरुद्ध आफ्नो रक्षा गर्न मद्दत गर्नेछ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना युक्रेनलाई युरोपेली सहयोगीहरूले भुक्तानी गरेको हतियार आपूर्ति गरिने बताएका थिए । तर, त्यसको कार्यान्वयन कसरी हुने भन्ने स्पष्ट पारेका थिएनन् । 

“हामी युक्रेनले आवश्यक उपकरणहरू छिटो प्राप्त गरोस्, नेटोको सहकार्य युक्रेनको रक्षा प्रणाली बलियो बनोस् । र युक्रेनी सर्तअनुसार शान्ति सुनिश्चित होस् भन्ने चाहन्छौँ,” नर्वेका रक्षा मन्त्री टोरे ओ. स्यान्डभिकले वक्तव्यमा भनेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमले युरोपभर दीर्घकालीन सुरक्षाको नयाँ आधार तयार गरेको बताए । “यसको प्रभाव महसुस हुनेछ । यो अमेरिका र युरोपबीचको सुरक्षा सम्बन्ध बलियो बनाउने तथा रूसी हमलाबाट सुरक्षा सुनिश्चित गर्ने दिशामा अन्य नेटो देशहरूका लागि एउटा शक्तिशाली उदाहरण बन्नेछ,” उनले एक्समा लेखेका छन् । 

रूसले युरोपलाई युद्धको महादेश बनाउने छैन भन्दै उनले  संयुक्त प्रयासमार्फत शान्ति कायम राख्ने बताएका छन् । 

डेनमार्कका रक्षा मन्त्री ट्रोएल्स लुन्ड पोल्सेनले यो रकम तत्काल उपलब्ध हुने र डेनमार्कले भविष्यमा थप योगदानको सम्भावना पनि खुला राखेको बताए । 

यो ५०० मिलियन डलरको योगदानमा डेनमार्कको हिस्सा करिब ९० मिलियन डलर छ । नर्वेले करिब १.५ बिलियन नर्वेजियन क्रोन (१४६ मिलियन डलर) दिने बताइएको छ । 

स्वीडेनले २७५ मिलियन डलर योगदान गर्नेछ, जसमा प्याट्रियट मिसाइल प्रणाली, अन्य हवाई रक्षा उपकरणहरू र ट्यांक, गोला–बारुद समावेश छन् ।

युरोप आफैँले पर्याप्त मात्रामा दिन नसक्ने हतियार अमेरिकाबाट आपूर्ति हुने भन्दै यो युक्रेनको रक्षा क्षमताका लागि निर्णायक हुने स्वीडेनकी उपप्रधानमन्त्री एब्बा बुशले बताएकी छन् । 

नेटो महासचिव मार्क रुट्टेले तीन देशहरूहरूले तत्काल प्रतिबताअनुसार कार्यान्वयन गरेको भन्दै आभार व्यक्त गरे । नेदरल्यान्ड्स ५०० मिलियन युरो सहयोगको घोषणा गर्ने पहिलो देश बनेको थियो । रोयटर्स
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्