
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजरायली सेनाले सोमबार गाजाको देर अल–बलाह सहरस्थित आफ्ना कर्मचारीको घर र मुख्य गोदाममा आक्रमण गरेको आरोप लगाएको छ ।
डब्ल्यूएचओले इजरायली हवाई आक्रमणबाट ती स्थानमा आगलागी हुँदा कर्मचारी र उनीहरूका परिवारले खतराको सामना गरेको जनाएको छ ।
आफ्ना पुरुष कर्मचारीलाई कपडा खोल्न लगाएर बन्दुक ताकेर उनीहरूसँग सोधपुछ गरिएको पनि डब्ल्यूएचओले आरोप लगाएको छ ।
स्वास्थ्य संगठनको यो आरोपप्रति इजरायलका तर्फबाट हालसम्म कुनै वक्तव्य सार्वजनिक नभएको बीबीसी हिन्दीले जनाएको छ ।
सोमबार इजरायली ट्यांकहरू पहिलोपटक देर अल–बलाह सहरको दक्षिणी र पूर्वी जिल्लामा प्रवेश गरेका थिए ।
त्यसअघि, आइतबार इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले देर अल–बलाहमा बसोबास गर्ने मानिसलाई तत्काल त्यहाँबाट बाहिर निस्कन आदेश दिएको थियो ।