
काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका निम्ति खुला गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले उक्त जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरी व्यवस्था मिलाइएको बताए ।
साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसनिम्ति विश्वसम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।
साउन महिनामा विशेष पूजाका निम्ति सात हजार ५०० रुपैयाँभन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ ।
साउने सोमबारका अवसरमा विशेष गरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
भक्तजनका निम्ति मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ ।
कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका निम्ति चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चारै सोमबार निरन्तर रहने जनाइएको छ । रासस