site stats
बाह्रखरी :: Baahrakhari
देश
किशोरीहरूलाई बेहोस बनाएर निकालिन्थ्यो ‘अवैध डिम्ब’ !

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)  सेन्टरमा छापा मार्‍यो ।  बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमा सीआईबीको टोलीले छापा मारेको थियो ।

सीआईबीले दुवै आईभीएफ सेन्टरका सञ्चालकसहित आठजना अरोपिहरुलाई पक्राउसमेत गर्‍यो ।  तर, पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले सोमबार थुनामा राखेर अनुसन्धान गर्ने म्याद नदिइ थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु थुनामुक्त भएका छन् ।

पक्राउ पर्नेहरुमा डा. स्वस्ती शर्मा, डा. मलिनी चौधरी, डा. असिम अधिकारी र प्रत्यूषा बराल थिए ।  यसरी नै घटनासित जोडिएका १९ वर्षीय सबिना गुरुङ, २८ वर्षीय सकिल भण्डारी, २४ वर्षीय अलिसा वली, २० वर्षीय जस्टिना प्रधान थिए ।

उनीहरु सबैलाई थुनाबाहिर राखेर सीआईबीले अनुसन्धान अघि बढाएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । जस्टिना र सबिना किशोरी उपलब्ध गराइदिने बिचौलिया हुन् ।

सीआईबीले उनीहरुलाई निःसन्तान दम्पतीलाई सन्तान प्राप्तिमा सहयोग गर्ने भन्दै प्रलोभन देखाइ किशोरीहरूबाट अवैध डिम्ब संकलन गरी आईभीएफमार्फत सन्तान प्राप्ति गराउने गरेको खुलेको छ । 

सीआईबीको अनुसन्धानका क्रममा आईभीइएफ सञ्चालकहरुले किशोरीहरुलाई प्रलोभनमा पारेर डिम्बहरु झिक्ने गरेको खुलाएको छ ।

एसएसपी बोगटी भन्छन्,‘‘होप फर्टिलिटी र एन्जल फर्टिलिटी सेन्टरले कमजोर कानुनको फाइदा उठाउँदै किशोरीहरुलाई प्रलोभनमा पारेर डिम्बहरु झिकेको देखिन्छ । त्यो पक्राउ परेकाहरुले स्वीकारसमेत गरिसकेका छन् । हामी उनीहरु थुनाबाहिर भए पनि अनुसन्धान गरिनै राखेका छौँ । बयानका लागि बोलाउँछौँ ।’’

लामो समयदेखि निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्ति गर्ने नाममा गम्भीर अपराध गरेको देखिएको उनको भनाइ छ ।

सीआईबीको अनुसन्धानका क्रममा होप फर्टिलिटी र एन्जल फर्टिलिटी सेन्टरहरुले सुरुमा निःसन्तान दम्पतीहरुमध्ये श्रीमानको विर्य वा श्रीमतीको डिम्बबारे जाँच गर्थे । जाँचका क्रममा श्रीमतीको डिम्ब उत्पादनमा समस्या भएर निःसन्तान हुन पुगेका जोडी दुवैलाई राखेर अर्को महिलाको डिम्ब राख्नेबारे काउन्सिलिङ् गर्थे ।

महिलाको महिनावारी पछि गर्भाधान हुने समयमा डिम्ब उत्पादन गर्न नसकेका महिलाको पाठेघरभित्र अवैध रुपमा किशोरीबाट संकलन गरिएको डिम्ब र श्रीमानको विर्य राखेर सन्तान उत्पादनको प्रक्रिया थाल्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको उनले बताए ।

कतिपय दम्पतीलाई भने यसबारेमा समेत राम्रो जानकारी नदिइ श्रीमान् श्रीमतीकै डिम्ब र विर्य पाठेघरमा राखेर सन्तान जन्माएको भ्रममा समेत राखेको दाबी प्रहरीले गरेको छ ।  यसरी निःसन्तान दम्पती आईभीएफ गर्न तयार भएपछि भने उनीहरुले त्यसका लागि बिचौलियामार्फत् १९ वर्षमुनिका किशोरीहरुको खोजी गर्थे ।

विशेष गरी आर्थिक अवस्था कमजोर भएका किशोरीहरुलाई उनीहरुले प्रभावमा पारेको देखिएको सीआईबीको अनुसन्धानले देखाएको छ । यसरी विचौलियामार्फत छनोट भएका किशोरीलाई डिम्ब दानका लागि उनीहरुले प्रेरित गरेपछि भने महिनावारी गणना हुन्छ । महिनावारी सकिएको तीनदिन पछि डिम्ब दान गर्न तयारी किशोरीलाई क्लिनिकमै बोलाइन्छ । र, निरन्तर १० दिनसम्म किशोरीहरुलाई इन्जेक्सन दिइन्छ ।

१० वटा इन्जेक्सनको डोज पछि भने किशोरीलाई बेहोस बनाएर डिम्ब झिक्ने गरेको खुलेको हो । यही डिम्ब निःसन्तान महिलाको पाठेघरमा प्रत्यारोपण गर्ने गरेको खुलेको हो । यसरी बेहोस बनाएर किशोरीबाट डिम्ब निकालेपछि भने किशोरीलाई १० देखि १५ हजार रुपैयाँ मात्रै दिने गरेको खुलेको छ ।

ग्राहकबाट भने उनीहरुले १८ देखि २० लाख रुपैयाँसम्म असुलेको पाइएको छ ।  डिम्ब निकाल्ने प्रक्रिया जोखिम र जटिल देखिएको सीआईबीका एसएसपी बोगटीको भनाइ छ । पक्राउ परेकाहरुमाथि सीआईबीले बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

महिनाबारीमा समस्या देखिएपछि प्रहरीको शरणमा

डिम्बहरु आईभीएफ सेन्टरमा दिने किशोरीहरुको अत्यधिक पेट दुख्ने र महिनाबारीमा समस्या देखिएपछि किशोरीका आफन्तहरु सीआईबीमा पुगेका थिए ।  सीआईबीको अनुसन्धानका क्रममा १६ र १७ वर्षीया दुई जना किशोरीहरुले गएको वैशाख र असारको पहिलो साता बबरमहलस्थित होप फर्टिलिटी सेन्टरमा डिम्ब बिक्री गरे ।

दुवै किशोरीलाई होपसम्म पुर्‍याइदिने काम पक्राउ परेकी जस्टिनाले गरेकी थिइन् । यसबापत उनले होपबाट ५० हजार कमिसन बुझेको स्रोत बताउँछ । तर, दुवै किशोरीका हातमा भने १०/१० हजार रुपैयाँ दिए ।

प्रहरीको अनुसन्धानले जस्टिनले समेत होपमै डिम्ब बिक्री गरेको पाइएको छ ।  तर, दुवै किशोरीको महिनाबारीमा समस्या र पेटसमेत अत्यधिक दुख्ने समस्या देखियो । आफन्तले त्यसको कारणको खोजी गर्न किशोरीलाई सोधपुछ गरे ।

तर, किशोरीले डिम्ब बिक्री गरेको जानकारी आफन्तलाई गराएपछि भने उनीहरु प्रहरीको शरणमा पुगेका हुन् । परिवारकै उजुरीका आधारमा प्रहरीले दुईवटा आईभीएफ सेन्टरमा छापा मारेको हो । किशोरीको अवैध डिम्ब कारोबारमा उपत्यकाका अन्य आईभीएफ क्लिनिक पनि संलग्न रहेको प्रहरीको आशंका छ । नेपालमा डिम्ब दान गर्ने हालसम्म कुनै कानुनी प्रावधान छैन ।
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्