site stats
बाह्रखरी :: Baahrakhari
देश
नियुक्तिको चार दिनअघि अवकाशमा जाँदै शर्मा, खापुङ निर्विकल्प ३२औँ आईजीपी

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमान्डर प्रहरी महानिरीक्षक (आईजीपी) बन्न प्रतिस्पर्धीको तीव्र दौडधुप हुन्छ । ३० वर्ष संगठनमा रहेर काम गरेका एउटै ब्याचका अधिकारी अस्वस्थ प्रतिस्पर्धामा उत्रिन्छन् ।

सहब्याचीको सम्बन्ध तिक्ततामा टुंगिन्छ । कतिपय प्रहरी अधिकारी नेतृत्व नै स्वीकार गर्न सक्दैनन् । आईजीपी हुन नपाएको झोकमा उनीहरू अड्डाअदालत धाउँछन् वा पदबाटै राजीनामा दिन्छन् । तर, ३२औँ आईजीपीको दौड रोचक देखिएको छ ।

भावी आईजीपीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुबेर खापुङ ‘भाग्यमानी’ देखिँदै छन् । अर्थात्, प्रतिस्पर्धामा रहेका अर्का एआईजी कृष्णहरि शर्मा छिटै अवकाशमा जाँदै छन्, त्यो पनि वर्तमान आईजीपी दीपक थापाले अवकाश पाउनुभन्दा चार दिनअघि नै । शर्माको अवकाशपछि खापुङ ‘भाग्यमानी’ आईजीपी बन्नेछन् ।

हालका ३१औँ आईजीपी थापाभन्दा शर्मा र खापुङ दुई महिनापछि प्रहरी सेवामा प्रवेश गरेका थिए । शर्मा एआईजीपीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका हुन् । खापुङ यही भदौ १९ गतेपछि निर्विकल्प आईजीपी बन्नेछन् ।

थापा ०५१ भदौ १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका थिए । उनीसँगै एआईजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरीले समेत भदौ १९ गते ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।

उनीहरू एकसाथ अवकाशमा जाने भएपछि ०५१ कात्तिक २६ गते इन्स्पेक्टरमा भर्ना भएका अधिकारी आईजीपी बन्न लागेका हुन् । उक्त कात्तिकमा शर्मा, लालमणि आचार्य र खापुङ भर्ना भएका थिए । आचार्य जेठमै एआईजीपीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा गइसकेका छन् ।

शर्मा समेत भदौ १५ मा सोही व्यवस्थाका कारण अवकाशमा जानेछन् । त्यसपछि खापुङले प्रहरी कमान्ड सम्हाल्नेछन् । खापुङको आईजीपीको कार्यकाल लामो भने हुने छैन ।

उनी पनि दुई महिनापछि अर्थात् कात्तिक २६ मा प्रहरीको ३० वर्षे सेवाहदका कारण अवकाशमा जानेछन् । प्रहरी संगठनमै आईजीपीको सबैभन्दा छोटो कार्यकाल खापुङको रहने सम्भावना छ ।

यता, प्रहरीको विद्यमान ३० वर्षे सेवा अवधि हटाउने गृहकार्य गरिँदै छ । ३० वर्षे सेवाहद हटाउनेबारेको नयाँ प्रस्तावित ऐनको मस्यौदा संसदीय समितिमा छलफलको चरणमा छ ।

‘भाग्यमानी’ ब्याची
प्रहरीको ३० वर्षे सेवा अवधिका कारण एउटा ब्याचबाट सामान्यतः एकजना मात्र आईजीपी बन्छन् । तर, हालका आईजीपी थापाका ब्याचीबाट तीनजना महानिरीक्षक बन्नेछन् । खापुङ आईजीपीमा नियुक्त भएपछि त्यो संख्या तीन पुग्ने हो । हालका थापा, पूर्वआईजीपी वसन्तबहादुर कुँवर र खापुङ एकै ब्याची हुन् । एउटै भर्ना आवेदनमार्फत उनीहरू प्रहरी सेवामा प्रवेश गरेका थिए ।

सँगै भर्ना भए पनि यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । त्यसैले एउटै ब्याचका तीनजना आईजीपी बन्न लागेका हुन् ।

यही ब्याचका पूर्वआईजीपी कुँवरसहित केही अधिकारीले पहिलो चरण अर्थात् ०५१ चैत ५ गते नियुक्ति लिएका थिए । त्यति बेला नियुक्ति लिनेहरूमध्येबाट कुँवर आईजीपी बने । उनी ०८१ चैत ५ गते ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए ।

त्यसपछि दोस्रो चरणमा ०५२ भदौ १९ गते वर्तमान आईजीपी थापा, एआईजीद्वय तामाङ र गिरीले नियुक्ति पाए । तीनजनामध्ये थापाले आईजीपीमा बाजी मारे ।

त्यसपछि तेस्रो चरणमा शर्मा, आचार्य र खापुङले नियुक्ति पाए । तर, शर्मा र आचार्य प्रहरीको ३० बाहेक ५६ वर्षे उमेरहदका कारण अवकाशमा जाने भएपछि खापुङ निर्विकल्प आईजीपी बन्न लागेका हुन् ।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् । खापुङले डीआईजी हुँदा कोसी प्रदेशको कमान्ड, एसएसपी कार्यकालमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए ।

हालसम्म कुनै ठूलो विवादमा नपरेका खापुङ प्रहरी संगठनमा सामान्य ‘स्टाटस’मा बसेर काम गर्न रुचाउने अधिकारीका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्