
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडी (ईभी) नेपालमै बनाउनुपर्ने बताएका छन् । बुधबार (असार ३२) एक कार्यक्रममा उनले पछिल्लो समय ईभीको प्रयोग बढेको उल्लेख गरे ।
नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने उनले बताए । साना गाडी अब प्रतिस्थापन गर्नुपर्ने र सहरमा वातावरणमैत्री ठूला सिटी बस चलाउनुपर्नेमा उनले जोड दिए ।
“काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ । साना गाडीहरू हटाउनुपर्छ,” उनले भने, “नेपालमा ईभी फ्याक्ट्री बनाउन पायौँ भने स्पेयर्स पार्ट्स यहीँ बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ । यसमा लगानी गर्न आह्वान गर्छु ।”
सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको उनले बताए । यसमा निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको उनको भनाइ थियो ।
“विद्युतीय यातायात नेपालको परिप्रेक्ष्यमा महत्त्वपूर्ण छ । किनकि, इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ,” उनले भने ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका निम्ति सरकारले बनाएका कार्यदलका प्रतिवेदन त्यत्तिकै दराजमा थन्काइएको भन्दै असन्तुष्टि जनाए । उनले ती प्रतिवेदन कार्यान्वयनमा लगिए सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने जिकिर गरे ।
सोही कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले पछिल्लो समय ईभी गाडीहरू चीनबाट ल्याइएको तर त्यसको गुणस्तर परीक्षण नगरिएको बताए । भारतबाट ल्याइएका गाडीमा खासै समस्या नभएको भन्दै उनले चीनबाट भित्र्याइएकामा आशंका व्यक्त गरे ।
राइड सेयरिङ व्यापार भएको भन्दै उनले त्यसलाई कडा नियमन गर्नुपर्नेमा जोड दिए । राइड सेयरिङले पुँजी पलायन गरिरहेको उनले बताए । यसतर्फ राज्यको ध्यान जानुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल