काठमाडौं । नेपाल स्रष्टा समाजले बर्सेनि प्रदान गर्दै आएको ‘रमेश–गंगा स्रष्टा सम्मान–२०८०’ साहित्यकार सरस्वती रिजाललाई प्रदान गरेको छ । ‘रमेश–गंगा स्रष्टा सम्मान–२०८१’ कवि विधान आचार्यलाई प्रदान गरेको समाजले बताएको छ ।
मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा रमेशचन्द्र देवकोटा, डा. दिनेशचन्द्र देवकोटा र श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मान प्रदान गरे । नेपाली साहित्यमा लामो समय साधनारत रहेर योगदान पुर्याएबापत रिजाल र आचार्यलाई जनही नगद राशी २१ हजार १११ सहित उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा डा। दिनेशचन्द्र देवकोटाले नेपाल स्रष्टा समाजलाई सरकारी क्षेत्रभन्दा माथि उठेर साहित्यको सेवा गरेकोमा धन्यवाद दिए ।
पूर्वमन्त्री वाचस्पति देवकोटाले लुकेछिपेका स्रष्टालाई उधिनेर बाहिर ल्याएकोमा नेपाल स्रष्टा समाजलाई धन्यवाद दिए ।
प्रा.डा.लक्ष्मणप्रसाद गौतमले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने दुई स्रष्टालाई सम्मानित गर्नु साहित्यप्रतिको सम्मान भएको बताए ।
उक्त सम्मान रमेशचन्द्र देवकोटा, डा. दिनेशचन्द्र देवकोटा, महेशचन्द्र देवकोटा, सुवासचन्द्र देवकोटा र देवेशचन्द्र देवकोटाले स्थापना गरेका हुन् । वि.सं.२०७७ देखि प्रदान गर्न थालिएको यो सम्मान यसअघि जनार्दनशरण त्रिपाठी, डा. वासुदेव त्रिपाठी र नरनाथ लुइँटेललाई सम्मानित गरिसकिएको छ ।