site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए अस्ट्रेलियामा चुनावी माहोल : को को छन् प्रतिस्पर्धामा ?

सिड्नी । अस्ट्रेलियाको चिसो मौसम यतिबेला गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए)को चुनावले ह्वात्तै तातेको छ । यसपटक एनआरएनए अस्ट्रेलियाको आगामी  नेतृत्वका लागि तीनजनाले उमेदवारी दिएका छन् ।

यही जुलाई २६ मा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि ब्रिसबेनका सन्तोष कुँवर, पर्थका भैरवप्रसाद ढकाल र डार्बिनका सञ्जीव ढकाल गोर्खालीले उमेदवारी दिएका छन् । लगातार दुई कार्यकाल सिड्नीबाट अध्यक्ष भएकोले विधानबमोजिम यसपटक न्यु साउथवेल्सबाहेक अन्य राज्यका व्यक्तिले मात्र अध्यक्ष लड्न पाउने भएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले दिएको जानकारीअनुसार, यसपटक सबै राज्यमा गरी ३८८ उमेदवार एनआरएनएको विभिन्न पदका लागि दावेदार छन् ।

१५ हजार ५५१ मतदाता रहेको अस्ट्रेलियामा विभिन्न २२५ पदहरूमा निर्वाचन हुन लागेको हो । एक दशकभन्दा लामो समयसम्म एनआरएनए अस्ट्रेलियामा सक्रिय रहेका कुँवर वर्तमान कार्यसमितिका महासचिव हुन् । कुँवरको एनआरएनए यात्रा राज्य समन्वय परिषद्को सचिव पदबाट सुरू भएको थियो । त्यसपछि उनी क्रमशः राज्य संयोजक (२०१७–१९), आईसीसी सदस्य (२०१९–२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२३) हुँदै हालका महासचिव हुन् ।

कुँवरले संस्थाको दिगो विकास, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि नेतृत्व लिन चाहेको बताए । “एनआरएनएको यो यात्राका क्रममा विभिन्न तहमा बसेर मैले संस्थालाई प्रविधिमैत्री, आर्थिक पारदर्शिता र सरकारी समन्वययुक्त बनाउनेतर्फ निरन्तर काम गरेँ,” कुँवरले भने, “अब अध्यक्षका रूपमा संस्थालाई नेतृत्व गर्न पाए दुई वर्षमा संस्थालाई सबै प्रवासी नेपालीको बनाउनेतर्फ अग्रसर हुनेछु ।” 

विद्यार्थी भिसामा सन् २००९ मा अस्ट्रेलिया आएका उनले २०१० मा मास्टर्स गरेपछि शैक्षिक परामर्श व्यवसायमा हात हालेका थिए ।

यस्तै, अस्ट्रेलियाको पर्थमा लामो समयदेखि बसोबास गर्दै आएका अध्यक्षका प्रत्यासी ढकाल एनआरएनका केन्द्रीय सल्लाहकार समेत हुन् । एनआरएनए अभियानमा विश्वास र एकता पुनर्स्थापित गर्न आफ्नो उमेदवारी रहेको ढकालले सुनाए । एनआरएनए अस्ट्रेलियाको पूर्वसल्लाहकार, पूर्वउपाध्यक्ष समेत रहेका ढकाल पुराना व्यवसायी र सामाजिक अभियन्ता हुन् । 

युवा, महिला र कम प्रतिनिधित्व भएका आवाजहरूको सक्रिय सहभागिता बढाउने आफ्नो प्रमुख लक्ष्य रहेको ढकालले बताए ।

नर्दन टेरिटोरी (डार्बिन) एनआरएनएका संयोजक तथा उपाध्यक्ष सन्जीव ढकाल (गोर्खाली) लामो समयदेखि एनआरएनएमा सक्रिय युवा हुन् । पछिल्लो चुनावमा सन्तोषकै टिमका रूपमा रहेका ढकाल यसपटक भने स्वतन्त्र टिम लिएर मैदानमा आएका हुन् । समाज सेवामा रूचि राख्ने ढकालले अस्ट्रेलिया आएपछि आफ्नो सामाजिक सक्रियतालाई निरन्तरता दिन पनि आफ्नो उमेदवारी रहेको बताउँछन् ।

ढकालले आफनो उमेदवारी केवल नेतृत्वका लागि नभई, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणका लागि भएको बताएका छन् ।

तीन उमेदवारमध्ये सन्तोष डेमोक्र्याट पक्षका आधिकारिक उमेदवारका रूपमा देखिएका छन् भने भैरव एमालेनिकट मानिन्छन् ।
एक उपाध्यक्षका लागि मेलवर्नका बबीन मिश्र र ब्रिसबेनका रमेश पौडेलको उमेदवारी परेको छ । महासचिवका लागि राजधानी क्यानबेराका चुडामणि सापकोटा र सिड्नीका भरतमणि देवकोटा मैदानमा उत्रिएका छन् ।

यस्तै, सचिव पदमा युवा कानुन व्यवसायी कल्याण खड्का र गणेशराज गौतमको उमेदवारी परेको छ । यसअघि एनएसडब्बू राज्यका सचिव समेत रहेका अस्ट्रेलियामा कानुनी अभ्यास गरिरहेका कल्याण काम र नामले लोकप्रिय उमेदवार समेत हुन् ।  

एक कोषाध्यक्षका लागि सिड्नीका युवा अभियन्ता निजान चौलागाईं र लुना सिवाकोटीको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

राज्य समितिमध्ये क्वीन्सल्यान्ड राज्यमा अतुल खड्काको नेतृत्वको टिम निर्विरोध भएको छ भने तास्मानिया राज्यमा सुजन वाग्ले नेतृत्वको टिम निर्विरोध भएका छन् ।

यस्तै एनआरएनएको महिला विभाग नारी निकुञ्जमा संयोजकका लागि एडिलेडकी रिज्जु अधिकारी र रत्ना गौतमले उमेदवारी दिएका छन् । 

यस्तै, नेशनल युथ फोरमको संयोजकमा पुकार घिमिरे, सहसंयोजकमा मनीष सिग्देल, सचिवमा सचिन थापा र सन्तोस पाठक, कोषाध्यक्षमा आयुष अधिकारी र सदस्यमा सोनाम शेर्पा, विमल बस्नेत, अशोकबहादुर ढुंगेल र मनीष खनालको उमेदवारी परेको छ । यहाँ सचिवको मात्र निर्वाचन हुनेछ ।

यस्तै, आठजना आईसीसी सदस्यका लागि १५ जनाको उमेदवारी परेको छ । जसमा राजेश केसी, विष्णुप्रसाद तिवारी, शुशील पोखरेल, साइवाल न्यौपाने, भुवनहरी पाण्डे, सन्तोष दाहाल, गोविन्द राना, निराजन पोखरेल, हरिकृष्ण अधिकारी, दिपक बस्नेत, दिपक अधिकारी, महेन्द्र केसी, वीरेन्द्रकुमार श्रेष्ठ, प्रकाश सेढाइँ र सुमनकुमार श्रेष्ठ रहेका छन् ।

यस्तै, राज्य संयोजकहरूमा सिड्नीबाट एनएसडब्लू राज्यमा युवा अभियन्ता राज गुरुङ र उषाकिरण बारिया पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै, यसै पदका लागि अर्का उमेदवार रोशन भट्टराई पनि प्रतिस्पर्धामा होमिएका छन् । यसपटक निर्वाचनको लागि अनलाइन भोटिङ हुने र त्यसको सबै तयारी पुरा भैसकेको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले बताए । 

यसपटक पनि 'फेस भेरिफिकेसन' माध्यमबाट भेरो भोटिङमार्फत निर्वाचन हुने ढकालले जानकारी गराए ।

 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्