
काठमाडौं । भारतीय जाली नोटका कारोबारी युनुस अन्सारी सोमबार पुनः जेल चलान भए । जाली नोट कारोबारको आरोपमा पटक–पटक पक्राउ पर्दै जेल पर्ने गरेका बारा रामपुर टोकनी–९ का ५१ वर्षीय अन्सारी यतिखेर भने फरक कसूरमा जेल पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौंले उनलाई धरौटी बुझाएर जेल मुक्त हुने सुविधा भने दिएको थियो । तर, धरौटी बुझाउन नसक्ने भन्दै उनले जेल बसाइँ रोजे । प्रहरी अधिकारीहरू भने धरौटी बुझाउँदै जेलबाहिर बस्नुभन्दा अन्सारीले कारागारभित्रै सुरक्षित ठानेको बताउँछन् ।
अन्सारीबारे अनुसन्धान गरेका प्रहरी अधिकारीका अनुसार, भारतीय जाली नोट कारोबारीका कारण भारतीय गुप्तचरी निकायबाट सम्भावित सुरक्षा ‘थ्रेट’ महसुस गर्दै उनी जेल नै बस्न रुचाएका हुन् ।
ती अधिकारी भन्छन्, ‘‘यो कुरा हामीले औपचारिक रुपमा बोल्न त मिल्दैन । भारतीय जाली नोटको कारोबारमा संलग्न नेपालीमाथि कुनै न कुनै रुपमा आक्रमण गरेको इतिहास छ । अन्सारीमाथि त कारागारभित्र हुँदासमेत गोली हानी हत्याको प्रयास भएको थियो । यो कुरा त ओपन नै छ त । उनी बाहिर बस्दा सुरक्षित हुन नै सक्दैनन् ।’’
अन्सारीमात्रै होइन, भारतविरोधी गतिविधिमा संलग्न अन्य केही व्यक्तिसमेत भारतीय गुप्तचरी निकायको खोजी सूचीमा रहेको प्रहरीको विशेष ब्युरोका प्रहरी अधिकारीको भनाइ छ ।
जिल्ला अदालत काठमाडौंले सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश गरेको थियो । जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थिए ।
तर, अन्सारीले धरौटी रकम बुझाउन नसक्ने जानकारी गराएपछि उनलाई अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गर्न आदेश दिएको हो । उनी २०७६ सालदेखि सुन्धारा कारागारमा थिए । ०७६ जेठमा अन्सारीसहित ६ जना सात करोड ७६ हजार भारतीय नक्कली नोटसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
त्यही कसूरमा अरु छुटे पनि अन्सारीलाई भने छ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । उनी छ वर्ष कैद भुक्तान गरी गत जेठ ११ गते ललितपुरस्थित नख्खु कारागारबाट छुटे । तर, लगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ गरेको थियो ।
सम्पत्ति शुद्धीकरण कसूरमा धरौटी बुझाउँदै छुट्ने अवसर पाएका थिए । तर, उनले धरौटी नबुझाएपछि पुनः जेल चलान भएका हुन् । अन्सारी २०६६ सालदेखि पटक–पटक गरेर पाँचपटक पक्राउ पर्दैै छुट्दै आएका थिए ।
कहिले र कसरी पक्राउ परे अन्सारी ?
नेपाल प्रहरीको मात्रै होइन भारतीय गुप्तचरी निकाय ‘रअ’ को समेत खोजीको सूचीमा रहेका अन्सारी पहिलोपटक २०६६ साल पुस १७ गेत काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ परेका थिए । पहिलो पटक पक्राउ पर्दा प्रहरीले उनको साथबाट २५ लाख ४४ हजार ५०० भारतीय जाली नोट र खैरो हेरोइन बरामद गरेको थियो ।
उक्त कसूरमा उनी करिब एकवर्ष कैद सजाय भोगेर छुटेका थिए । तर, छुटेको केही समयमै उनी पुनः पक्राउ परे, २०६७ असोज ७ गते । दोस्रोपटक प्रहरीले अन्सारीको साथबाट ३५ लाख भारतीय जाली नोट बरामद गरेको थियो ।
उक्त प्रकरणमा अन्सारीलाई अदालतले चारवर्ष कैद सजाय र ५६ लाख रुपैयाँ जरिवाना तोक्यो । त्यतिबेला उनले जरिवाना र चार वर्ष कैद सजाय भोगेर थुनामुक्त भए ।
तर, अन्सारीको भारतीय जाली नोटको कारोबारको श्रृंखला रोकिएन । उनी छुटेको करिब एक वर्षपछि नै पुनः त्रिभुवन विमानस्थलबाट सात करोड ६७ लाख ९४ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।
पछिल्लो पटक नौ करोड नौ लाख ५३ हजार रुपैयाँ बिगो कायम हुने गरी मुद्दा दर्ता भएको थियो । मुद्दाको अन्तिम किनारा लाग्न भने बाँकी छ ।
कति छ अन्सारीको सम्पत्ति ?
आफ्नो ज्यानै जोखिममा राखेर भारतीय जाली नोटको कारोबारमा लागेका अन्सारीले २०६३ सालमा नेसनल टेलिभिजन सञ्चालनमा ल्याएका थिए । हाल नेसनल टेलिभिजन बन्द छ । उक्त टेलिभिजन सञ्चालनमा ल्याउँदा लगानी भएको सात करोड रुपैयाँसमेत भारतीय जाली नोटको कारोबारबाटै आएको सीआईबीको अनुसन्धानले देखाएको छ ।
त्यसबाहेक अन्सारीका पाँचवटा बैंकका खातामासमेत अवैध रकमको कारोबार भएको दाबी गरेको छ । तर, हाल अन्सारीको बैंक खातामा १५ लाख ५० हजार रुपैयाँ छ । अन्सारीकी श्रीमतीको तीनवटा बैंक खातामा झन्डै तीन करोड रुपैयाँ देखिएको छ । यसबाहेक अन्सारीको नाममा पर्सामा चार रोपनी जग्गा रहेको खुलेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा अन्सारीको विदेश यात्रा सन् २००५ बाट सुरु भएको देखाएको छ । उनी पहिलो पटक थाइल्यान्ड, दोस्रो पटक मलेसिया तथा क्रमशः पाकिस्तान र दुबई यात्रामा गएको खुलेको छ । प्रहरीको अनुसन्धानमा अन्सारी हालसम्म दुईपटक पाकिस्तान गएको खुलाएको छ ।