site stats
बाह्रखरी :: Baahrakhari
देश
देवकुमारको सम्पत्ति सस्तोमा सकारेर रास्वपा नेता सम्पर्कविहीन बनेको बचतकर्ताको आरोप

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्यले इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीको सम्पत्ति सस्तोमा सकारेर पीडितलाई विचलनमा पारेको भन्दै ज्ञापनपत्र बुझाएका छन् । पोखरा र बागलुङबाट सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले आइतबार रास्वपा बागलुङका अध्यक्षमार्फत रास्वपा केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

इमेज बचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिलबहादुर कार्कीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा रास्वपा केन्द्रीय सदस्य गोमा केसी क्षेत्री र उनका नातेदार विकास गौतमले बैंकसँग मिलेर देवकुमार नेपालीको बागलुङ नगरपालिका–२, हल्लनचोकमा रहेको कित्ता नं. ४५७, ४५८, ४५९ र ८८७ तथा पोखरा महानगरपालिका–८, सिर्जनाचोकमा रहेको कित्ता नं. ४३ को जग्गा र सोही कित्तामा बनेको नौतले पक्की भवन सस्तोमा खरिद गरेर सम्पर्कविहीन बनेको आरोप बचतकर्ताहरुले लगाएका छन ।

बजारमूल्यअनुसार यी सम्पत्तिको मूल्य ६० देखि ७० करोड पर्नेमा केसी र गौतमले २१ करोड ३० लाखमा मात्रै सकार गरेर आफ्नो बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।

देवकुमारको भौतिक सम्पत्ति खरिद गरिसकेपछि गोमाका पति रामबहादुर केसीले बचतकर्ताको बचत फिर्ता गरेर मात्रै उक्त सम्पत्ति भोगचलन गर्ने अन्यथा बिनाब्याज फिर्ता दिने सम्झौता बचतकर्तासँग गरेका थिए ।

“हामीले नाफा खान, कमाउनको निमित्त होइन । हामी सम्पूर्ण बचतकर्ताहरूलाई बचत फिर्ता गरेर मात्र उक्त सम्पत्ति भोगचलन गर्नेछौँ, अन्यथा बिनाब्याज फिर्ता दिनेछौँ भनि वचनबद्ध गरेको ...,” पत्रमा उल्लेख गरिएको छ ।

केसीका पति रामबहादुरले देवकुमारसँग पीडित बचतकर्ता संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीको रोहबरमा बचतकर्ताको बचत व्यवस्था गरी सम्पत्ति प्रयोग गर्नेछौँ भनि लिखित सम्झौतासमेत गरेका थिए । तर, अहिले उक्त सम्झौताविपरीत केसीले जग्गाधनी प्रमाणपूर्जा लिएको र बचतकर्ताको सम्पर्कमा नै नआएको पत्रमा उल्लेख छ । साथै, बचतकर्ताहरूलाई तथानाम गालीसमेत गरेको जनाइएको छ । बचतकर्ताहरूले नै अहिले देवकुमार नेपालीको सम्पत्ति संरक्षण गरिरहेको जनाएका छन् ।

“मैले कानुनले दिएको अधिकार प्रयोग गरी लिलाम सकार गरेको हुँ भन्ने, बचतकर्ताहरूलाई तथानाम गाली गर्ने, कारागारभित्र रहेको देवकुमार नेपाली को हो, मैले चिन्दिनँ, सम्झौता मैले गरेको हुँ, लिलाम सकार मेरो श्रीमतीलाई गर्न लगाएको हुँ भन्दै अफवाह फैलाउँदै हिँडेपछि र लिलाम सकार गरेका घर जग्गाहरूमा उक्त व्यक्तिले हकभोग जमाउन खोजेपछि हामी पीडित बचतकर्ताहरूले उक्त संरचनाहरूलाई नियन्त्रणमा राखी संरक्षण गरेको अवस्था छ,” पत्रमा भनिएको छ ।

पीडित बचतकर्ताहरूले रास्वपा केन्द्रीय सदस्य जस्तो व्यक्तिले पीडित बचतकर्ताहरूलाई विचलनमा पारी निजी स्वार्थमा आर्थिक लाभ लिन नहुने पत्रमा उल्लेख गरेका छन् । रास्वपा केन्द्रीय कार्यालयलाई उनीहरूले केसीले बचतकर्ताहरूसँग गरेको सम्झौता कार्यान्वयन गराउनको लागि निर्देशन दिन समेत आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्