
(नेपाली साहित्यमा विशिष्ट उचाइ बनाएका सर्जक हुन्, प्रा. डा. गोविन्दराज भट्टराई । अंग्रेजी साहित्यका ज्ञाता उनले नेपाली साहित्यिक भण्डारमा दर्जनौँ कृति दिएका छन् । ५० वर्षअघि उनले ‘मुगलान’ उपन्यास पाठकलाई सुम्पिए । ५० वर्षपछि फेरि ‘नयाँ मुगलान’ ल्याएका छन् । विभिन्न विधाका गरेर उनका ७५ भन्दा बढी पुस्तक छापिइसके । उनको नवीन उपन्यास केही महिनाअघि सार्वजनिक गरिएको थियो । सोही उपन्यासकेन्द्रित प्रा. डा. भट्टराईसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश ।)
चर्चित उपन्यास ‘मुगलान’को ५० वर्षपछि ‘नयाँ मुगलान’ लेख्ने हुटहुटी कहाँबाट जाग्यो ?
पुरानो ‘मुगलान’ स्वाभाविक रूपमा एक किसिमको भावुकताले, के गरूँ कसो गरूँ भन्ने चिन्ता र नेपालीले विदेशी मुलुकमा पाएको दुःख देखेर लेखेको थिएँ । त्यो मभित्रको लेखकको छटपटी थियो । ‘नयाँ मुगलान’ गत वर्ष लेखेँ । यो उपन्यास समग्र देश र नेपालीको स्थिति देखेर म आतंकित भएरै लेखेको हुँ । के गर्ने, हाम्रो परिस्थिति साह्रै नै बिग्रेर गएको छ । कोही कसैले कुनै जिम्मा नलिने अनि देश रित्तिनेजस्तो भयावह दृश्य यसपटक देखेँ, पहाडतिर घुम्न जाँदा । आफन्तहरू बसेका, आफ्ना बाउबाजेका गाउँहरू, आफ्ना मावली गाउँहरू, त्यहाँका छिमेक र विद्यालयहरू देख्दा सबैसबै उजाड भइसकेछ भन्ने मनमा लाग्यो । अनि मैले ‘नयाँ मुगलान’ लेखेँ ।
त्यो बेला र अहिले मुगलान जाने प्रवृत्तिमा आकाश जमिनको अन्तर होला नि !
धेरै अन्तर छ । ऊ बेला आफ्ना पितापुर्खा गएकै ठाउँमा नेपालीहरू अनुयायी भएर जान्थे । कतिपय नेपालीहरू तीनचार सय वर्षअगाडिदेखि भारतमा बस्दै आएका हुन् । पछि राजनीति र भूगोलले तिनलाई छुट्ट्याएको मात्रै हो । असम, मणिपुर, भुटान र बर्मासम्म काम गर्न जाने बितेको तीन सय वर्षदेखिको अभ्यास थियो ।
र, मेरा पालामा मान्छे जाँदा पनि ‘म भोटाङ जाने, म मणिपुर जाने, म आसाम जाने, म सिलाङ जाने’ भन्दै मुगलान जान्थे । कोही गाईवस्तु पाल्न, कोही खानीमा काम गर्न, कोही आरा काट्न र बाटो खन्न भनेर मुगलान जाने गरेका थिए । अर्थात्, श्रम गर्न नै मुगलान जान्थे ।
यसरी हाम्रो पहाडतिरबाट मानिसहरू निस्कन्थे । पहाडबाट निस्किएका कोही फर्केर पनि आउँथे भने कोही उतै जागिर खाएर बस्थे । यसरी जाने ठाउँ खासै टाढा त थिएन, तर ‘मुगलान गयो’ भन्थ्यौँ हामी । अहिले आएर देश सबै खनिएर घरैपिच्छे बाहिर जान थाले । अब त संसारै मुगलान भयो ! यसरी घरैपिच्छे मानिस मुलुकबाहिर गएको देख्दा चिन्ता लाग्छ । पहिले त नजिकै छन् भन्ने हुन्थ्यो नि, तर आज त्यो अवस्था रहेन ।
त्यसैले हिजो र आजमा धेरै फरक छ । पहिले चिनेजानेको ठाउँमा, भाषा र संस्कृतिको नजिकनजिक, धर्मकर्म मिल्ने मिल्ने ठाउँमा गएको महसुस हुन्थ्यो । अहिले भयावह र दिशाहीन भएर त्यसैत्यसै उक्किएर गएको देख्दा मलाई पीडा भयो । मैले मुलुकको चित्र अर्कै देखेँ । जाने त्यत्तिकै प्रवाह छ, आउँछन् कि आउँदैनन् टुंगो छैन ।
अहिले हेर्नुस् त, डिपोर्टेसन भइरहेको छ । पहिलेको ‘मुगलान’मा मेरो एउटा पात्रले ‘डिपाइटे’ भनेको छ । मैले त्यही सुनेको थिएँ त्यस बेला । ‘ऊ डिपाइटे आयो, यसलाई पक्रिन्छ अब’ भन्थे । काम गर्न नसकेर भागेका, पैसा नपाएर हिँडेका कुल्लीहरू नै गाउँ फर्किन्थे । तिनलाई ‘यो डिपाइटे हो’ भन्ने चलन थियो । त्यो डिपोर्टेड भनिएको रहेछ ! आज अमेरिकाबाट डिपोर्टेड भएर मानिस फर्किएका छन् । डिपोर्टेसनले सर्वत्र दिनदिनै हलचल ल्याइरहेको छ ।
यिनै डरलाग्दा परिस्थितिहरूले गर्दा, पहाड र घरगाउँ शून्य भएको देखेर मैले ‘नयाँ मुगलान’ लेखेको हुँ ।
कुन विन्दुले समायो र सातै दिनमा ‘नयाँ मुगलान’को सिर्जना गर्नुभयो ?
हो, उपन्यास मैले सातै दिनमा लेखेको हुँ । दमक आएर सन्चो नहुँदा नहुँदै मैले यो उपन्यास लेख्न सुरु गरेँ । हामी तमोरको बाटो ताप्लेजुङसम्म गयौँ । त्यसपछि विभिन्न ठाउँ हुँदै फिदिम आयौँ । फिदिमबाट हाम्रो पुरानो गाउँठाउँ पुग्यौँ । त्यहाँ पुगेर ‘खोइ त फलाना ?’ भनेर सोध्दा ‘यो पनि गयो, त्यो पनि गयो’ भन्ने कुरा गरे । कसैले गाउँ छोडेर काठमाडौं, बिर्तामोड र विराटनगरमा गएर घर बनाएको कुरा गरे । कोही विदेश गए । पहाडको घर त रित्तै ! मधेसकै घर पनि रित्तै ! जबकि, गाउँमा बिजुली पुगेको छ, सडक पुगेको छ । तर पनि गाउँ रित्तो छ ।
यस्तो स्थितिले मलाई अत्यन्तै पोल्यो । देश रहँदैन कि ! रहे पनि ढुंगोमाटो मात्रै रहन्छ कि ! यसैले मलाई छोयो र दमक फर्किनासाथ मैले ‘नयाँ मुगलान’ लेख्न थालेँ ।
मान्छे त हिँडेका हिँडेकै छन् !
हो, हिँडेका हिँडेकै छन् । जो पनि बाहिर जान बल गर्दै छन् । प्लस टु वा दश पास गरेर बाहिर जाने प्रयासमा सबै लागेका छन् । कोही जापानीज् भाषा पढ्दै छन्, कोही कोरियन भाषा पढ्दै छन् । कोही रसियन पढ्दै छन् त कोही अंग्रेजी भाषा पढ्दै छन् । युक्रेन जानेको मारामार थियो । धेरैजना भुटिएको खबर सुन्यौँ पनि । यो दिशाहीनता राष्ट्रले नदेखेको हो कि ? अथवा, नसुनेको हो कि, चिन्ता नगरेको हो कि !
किन रोक्न नसकेको ? जहाँ पायो त्यहीँ, जति पायो त्यतिलाई त्यसै उड्न दिएर मुलुक रित्तो पार्न दिने ? यो जिम्मेदारी त राज्यको हो नि । देशले त मानिसलाई रोक्नुपर्छ नि ! मानिसमा देशप्रेम जगाउनुपर्छ देशले । त्यत्तिकै नासिन, बिग्रिन, बेचिन, हराउन नदिने त देशको जिम्मा पो हो !
‘नयाँ मुगलान’का पात्रले धेरैअघिदेखि लखेटिरहेका थिए कि ?
सही भन्नुभयो । निकैअघिदेखि मलाई पात्रहरूले लखेटिरहेका थिए । फिदिम पुग्नु त एउटा सञ्जोग मात्रै थियो । निकैअगाडि मैले ‘सुकरातका पाइला’ लेखेँ । सुकरातका पाइलामा मेरा पात्रहरू माओवादीबाट लुटिएर, खेदिएर गाउँबाट आउँछन् । र, गाउँ जान नसक्ने भएर पिपलको बोटमा आत्महत्या गरेर मर्छन् । त्यसैगरी, अनन्त भन्ने पात्रले चार दोबाटोमा उभिएर सोच्छन्, बिहा गरौँ कि गाउँ फर्कौँ कि, माओवादीमा लागौँ कि विदेश जाऊँ ?
यस्तो द्वन्द्वले नेपालीलाई खेदेको त ५० सालदेखि नै हो । त्यस बेलै देश त संकटतिर मात्रै गइरहेको छ भन्ने लागेर मैले त्यो उपन्यास लेखेँ । अहिले गाउँगाउँको अवस्था देखेर, देश छाड्ने प्रवृत्तिलाई रोक्न, बाँध्न नसकेको देखेर पिरिएरै मैले यो उपन्यास लेखेको हुँ ।
‘मुगलान’को एक पात्र सुतार कान्छालाई ‘नयाँ मुगलान’मा पनि स्थापित गर्नुभयो नि ?
एक किसिमको सिक्वेलजस्तो देखिएको मात्र हो । सुतार कान्छाको छोरो विदेशमा मर्यो र काठको बाकसमा गाउँ आइपुग्यो । त्यही बाकसमा सुतार बुढो मर्यो । यो प्रतीकात्मक चित्रण हो, फर्केर आएका पनि अन्त्यमा कुनै आशा नभएर मर्नुपर्यो ।
पहाडमा खेती हुँदैन, किनभने जनशक्ति छैन । दलालहरूले सिधै विदेशमा पठाउने कुरा गरेर गाउँका मानिसलाई फकाइरहेका छन् र विदेश लगिरहेका छन् । केटाकेटीहरू पनि विदेश जान हामफालेका छन् ! यसको जिम्मेवारी देशले लिनुपर्ने हो । तर, देशले केही गरेको छैन । न त नीति–नियम नै केही छ । जति पनि जहाँ पनि जान दिइएको छ । यसो गर्नु त भएन नि !
देशमै आठवटा विश्वविद्यालय खुलिसके । अझै खोल्ने कुरा गर्दै छन् । ती सब आफ्ना मानिसलाई जागिर खुवाउन मात्रै हो भनेर थाहा हुन्छ । यत्तिका कलेज र विश्वविद्यालय हुँदा पनि किन विदेशमा पढ्न पठाउँदै छन् मानिस ? मास्टर्ससम्म यहीँ गराउनु नि ! जुन विषय छैन त्यो विषय यहीँ थपे हुन्छ नि । युवाहरूले जागिर नपाए गाउँघर गएर खनजोत गरेर खेती गर्न बाध्य पार्नु नि !
वास्तवमा त्यस किसिमको राष्ट्रिय चिन्तन र नीति नभएरै यो अवस्था आएको हो । त्यसमाथि जागिर पाएकाहरू पनि जागिर छोड्दै बाहिर जाँदै गरेका छन् । यहाँ देशमा बस्नेलाई हिनताबोध गराउने काम हुँदै आएको छ । ठूलो विकृति फैलिँदै गइरहेको छ । त्यसैले देश रित्तो भएर गइरहेको छ । डरलाग्दो अवस्था छ ।
साहित्यमा समाजको यथार्थ चित्रण प्रस्तुत भएको छ, तर सरोकारवालाको नजरमा किन नपरेको होला ?
सरोकारवालाहरूको नजरमा कहिल्यै केही पनि परेको देखिँदैन । धेरैअगाडि ‘बसाइँ’ लेख्नुभयो लीलबहादुर क्षेत्रीले । त्यसमा अनेक आतंक र जातीय विभेदले गाउँघर छोडेको कथा छ । अरू कृतिहरूमा पनि गाउँ छोड्नुपरेका विषय आएका छन् । लैनसिंह बाङदेलको उपन्यास ‘मुलुक बाहिर’मा पनि त्यस्ता कतिपय घटनाहरू प्रस्तुत छ । कतिपय सिनेमामा पनि त्यस्ता घटनाहरू समेटिएका छन् । यसरी मुलुकमा विद्यमान अन्याय, असमानता र अत्याचारले गर्दा मानिस बाहिर जान थाले । राणाकालभन्दा अघिदेखि नै अन्याय, अत्याचारका कारण मान्छे बाहिर गएका थिए ।
अहिले त्यस्तो अन्याय र अत्याचार त छैन । भए पनि कम छ । तर, सरकारले यतातिर गर्नुपर्ने काम भने गरिरहेको छैन । न त कुनै शासक, प्रशासकले न त कुनै योजनाकारले यसतर्फ ध्यान दिएको देखिन्छ । तिनले ‘यी कपोलकल्पित कुरा हुन् अथवा यी त अक्षरका कुरा मात्रै हुन्’ भनेर टारिदिँदै आएका छन् ।
अहिले त विश्वका अरू मुलुकमा जानेहरूले पनि लेखेका दुःखका कथा, संस्कृति ध्वुं भएका कथा, मानिस उपायहीन भएका विषय कथा, उपन्यास वा निबन्धमा आइरहेका छन् । परन्तु, त्यसतर्फ कसैको पनि ध्यान गएको छैन । न त चिन्ता नै गरिएको देखिन्छ । चिन्तन त छँदै छैन !
आज देशमा विदेश जाने डरलाग्दो रोग फैलिएको छ । यो डरलाग्दो रोग दलालहरूले गाउँगाउँ फैलाएका छन् । यसतर्फ सरकारको दृष्टि पुगेको छैन । सरकारले त मान्छे बाहिर पठाउनेलाई नै प्रेरणा दिइरहेको छ ! उता तिनले (दलालले) पनि मान्छे खोजिरहेका छन् र सहजै पठाइरहेका छन् । पहिले रिकुटे खोज्ने मान्छे हुन्थे । अहिले त्यस्ता मानिस गाउँगाउँमा छन् ।
उपन्यासकी एक पात्र कोपिलाका पति विदेशमा बित्छन् । मुगलान गएर आएका ससुराको मृत्यु हुन्छ । मुगलान जाँदाको पीडा उनलाई थाहा छ । र पनि उनी विदेश भासिन तयार हुन्छिन् !
यो आजका युवापुस्ताले आफ्नो विवेक प्रयोग गर्न सक्ने स्थिति छैन भन्ने नै हो । राष्ट्रप्रतिको प्रेम कसैमा पनि छैन । राष्ट्रप्रेम देशले जोगाएको पनि छैन । यहाँ बस्ने र गर्नेलाई सरकारले सान्त्वना, प्रेरणा केही दिएको छैन । अनि त सबै बाहिर, सबै बाहिर । युवावर्गको मानसिकता नै बाहिर भन्ने भएकाले गर्दा पनि कोपिला पात्रको त्यो अवस्था देखाइएको हो । आजको युवावर्गको मानसिकता हो त्यो । तर, कुरो उही आउँछ, त्यसतर्फ राज्यको ध्यान अलिकति पनि छैन । ती त विकासका नाममा भ्रान्ति फैलाएर मात्र बसेका छन् ।